कोठाभित्र श्रीमती र छोराछोरीको शव, घरमै भएका श्रीमानले २ सातासम्म थाहा पाएनन् !
काठमाडौं । ४९ वर्षीय कान्छा नगरकोटी आफ्ना श्रीमती र छोराछोरी दुई सातादेखि हराइरहेको भन्दै बिहीबार प्रहरीमा निवेदन दिन पुगे । घरको एउटा कोठाबाट नराम्रो गन्ध आइरहेको उनको भनाइ थियो ।
प्रहरी काठमाडौंको गोकर्णेश्वर- ३ कुमारी गाम्छास्थित उनको घरमा पुग्यो । गन्ध आएको कोठाको ढोका खोलेर हेर्दा तीन जनाको शव भेटियो । ३३ वर्षीया सीता दंगाल नगरकोटी, १५ वर्षीया छोरी अंशु मोक्तान र २ महिने बालक कोठाभित्र मृत भेटिएका थिए ।
उनीहरुको मृत्यु कसरी भयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । कोठा भित्रैबाट बन्द भएको र हत्याको शंका गर्नुपर्ने अवस्था नदेखिएको प्रहरीको दाबी छ, तर श्रीमती र छोराछोरी दुई सातादेखि कोठाभित्र थुनिएको कान्छा नगरकोटीले थाहा नपाउनु आश्चर्यजनक देखिन्छ ।
प्रहरीमा कान्छाले दिएको निवेदनअनुसार श्रीमती, छोरा र छोरी कात्तिक १६ देखि सम्पर्कविहीन भएका थिए । प्रारम्भिक अनुसन्धानमा उनले आफूसँग झगडा भएपछि श्रीमती छोराछोरी लिएर हिँड्छु भन्दै निस्किएको दाबी गरेका छन् ।
‘कतै गइन् होला भन्न सोचेको थिएँ । कोठा पनि बाहिरबाट बन्द भए जस्तो थियो । उनीहरु कोठामै छन् भन्ने मलाई शंका नै भएन’, कान्छाको भनाइ उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
मृतक सीता, कान्छाकी कान्छी श्रीमती थिइन् । कान्छा पनि सीताका दोस्रो श्रीमान हुन् । यसअघि उनीहरुबीच पटकपटक झगडा हुने गरेको र प्रहरीसमेत आउनु परेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
‘विगतमा पनि झगडापछि दुवै जना घर छोडेर हिँड्ने गरेका रहेछन् । कान्छा आफैं लफंगा पाराका देखिन्छन् । प्रायः घरमा कमै आउँदा रहेछन्’, अनुसन्धानमा खटिएका ती अधिकारी भन्छन् ।
घटनास्थल र मृतकहरुको अवस्थाले घटना कर्तव्य गरेर मारेको नदेखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
‘आत्महत्या जस्तो पनि देखिँदैन । अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने अहिलेको अनुमान हो, तर हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं’, ती अधिकारीले भने ।