थारु कल्याणकारिणी सभाको २३ औं राष्ट्रिय महाधिवेशन भोलिदेखि रुपन्देहीमा
रुपन्देही । थारु कल्याणकारिणी सभाको २३ औं राष्ट्रिय महाधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ । महाधिवेशन मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा हुने सभाले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनको शनिबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने थारु कल्याणकारिणी सभाका सह–महामन्त्री मिनराज चौधरीले बताए । ‘प्रतिष्ठित थारु नेता अगुवाहरुको आतिथ्यता तथा हजारौं थारुको उपस्थितिमा भव्य उद्घाटन समारोह हुनेछ’, उनले भने ।
सह–महामन्त्रीका अनुसार सभाका केन्द्रीय अध्यक्ष ई. धनिराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति र कार्यवाहक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरीको नेतृत्वमा रहेको मूल आयोजक समिति मातहत गठन भएका विभिन्न तयारी उपसमितिले तोकिएको जिम्मेवारी अनुरुप महाधिवेशनको सम्पूर्ण तयारी गरिसकेको छ ।
‘बन्द सत्रमा राष्ट्रिय महाधिवेशनमा सभाको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु एवं थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्टे«लिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया ९६ शाखा०, सभाको भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधिरपार्षद्हरुको सहभागिता रहनेछ’, चौधरीले भने ।
उद्घाटन समारोह र बन्द सत्र गरी दुई चरणमा सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विद्यान संशोधन, कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित आगामी भावी नीति तथा कार्यक्रमहरु तय गरी पारित गर्ने उनको भनाइ छ ।
‘अहिलेको संविधानमा हाम्रा केही विमत्ति छन्, सरकारले थारुहरुको माग पूरा गरेको छैन । माग पूरा गराउन सरकारलाई दबाब दिन्छौं’, उनले भने । थारुको गौरवशाली राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न करिब ४४ लाख रुपैयाँ खर्च हुने कार्यवाहक अध्यक्ष देवी प्रसाद चौधरीले बताए ।
महाधिवेशनको कार्यक्रम अन्तर्गत मंसिर १ गते शनिबार बिहान ९ बजे बुद्धचोकबाट पटवा बैंक्वेटसम्म झाँकी र्याली प्रदर्शन गरिने उनले बताए । त्यस्तै, महाधिवेशनको दिउँसो १ बजे उद्घाटन हुने चौधरीले जानकारी दिए ।
२३ औं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका अनुसार महाधिवेशनले मंसिर ३ गते सिद्धार्थनगर रुपन्देही घोषणा पत्र जारी गर्नेछ । सभाका केन्द्रीय उपाध्यक्ष विष्णु चौधरीले थारुको हकअधिकारका लागि आवाज उठाउँदै आएको बताइन् ।