७८ हजार घुस लिएको आरोपमा बाराको सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार घुस लिएको आरोपमा अख्तियारको फन्दामा परेका छन् ।
आयोगले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा साह विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को ग बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता एवम सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम आयोगमा उजुरी निवदेनका आधारमा आयोगको हेटौंडा कार्यालयलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।