विश्वप्रकाशले प्रश्न उठाएपछि ऊर्जाराज्यमन्त्री कान्छारामको जवाफ- दोषी ठहरिए राजनीति नै छाड्छु (भिडिओ) – Nepal Press

विश्वप्रकाशले प्रश्न उठाएपछि ऊर्जाराज्यमन्त्री कान्छारामको जवाफ- दोषी ठहरिए राजनीति नै छाड्छु (भिडिओ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पुर्णबहादुर तामाङ (कान्छाराम)ले आफू कानूनी रुपमा दोषी ठहरिएको अवस्थामा एक मिनेट पनी आफ्नो पद छोडेर राजनीतिबाटै बाहिरिने बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले तामाङको निर्माण कम्पनी कालो सूचीमा रहेकोबारे प्रश्न उठाएपछि जवाफ दिने क्रममा यस्ता बताएका हुन् ।

उनले आफूले पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकट पाउनु अघि नै छोडिसकेको स्पष्ट पार्दै यदि आफू कानूनी रुपमा कहीँ कतै दोषी ठहरिए राजनीति क्षेत्र नै छोडेर आफ्नो पेशा व्यवसायमा फर्किने बताएका छन् ।

उनले भने, ‘समितिको आजको छलफलमा निर्माण कम्पनी कालो सूचीमा परेको विषय पनि उठ्यो । यो मैले सांसद हुनु अगाडी मात्रै होइन, प्रतिनिधि सभाको टिकट पाउनु अघि नै कम्पनीबाट हात झिकेर बसिसकेको छु । तर, त्यति गर्दा पनि कानून नियमले नेपाल सरकारले पार्टीले पठाएको राज्यमन्त्री छु । तर कानूनभन्दा ठूलो केही छैन । कानूनले भन्यो भने अहिले एक मिनेट पनि यो मन्त्री पद छोडेर म आफ्नो पेशामा, आफ्नो व्यापारमा, आफ्नो परिवारसँग बसेर काम गर्न तयार छु ।’

तामाङले आफूमाथि प्रश्न उठाउने आफ्नै पार्टीका नेता शर्मालाई जवाफ दिने क्रममा भने, ‘यस्तो प्रश्न उठाउनुभयो हाम्रो पार्टीको नेता हुनुहुन्छ, महामन्त्री पनि हुनुहुन्छ, सांसद पनि हुनुहुन्छ । मेरो कम्पनी २०४४ साल माघ १९ गते दर्ता गरेको हो । त्यो कम्पनी मैले जिम्मा लगाएर त्यो पेशा बाहिर छु । साढे २ वर्ष भइसक्यो । २०७९ को टिकट पाउन भनेर म बाहिरिएको हो । तर अहिले पनि कुनै कानून, नीति र संविधानले मलाई गलत वा दोषी ठहर्यायो भने म माननीयबाट होइन कि, यो राजनीतिबाट बाहिरिदिन्छु ।’

सांसद शर्माले संशोधनकर्ताको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा बैठकमा उर्जा राज्यमन्त्री तामाङ सहभागि भएको देखेपछि उनको निर्माण कम्पनी कालो सूचीमा परेको विषमया प्रश्न राखेका हुन् ।

उनले भने, ‘यस बैठकमा दुई जना मन्त्रीज्यू उपस्थित हनुभएको छ । एक जना मन्त्री ज्यूको एउटा कम्पनी कालो सूचीमा परेको सञ्चारमाध्यममा समचार आइरहेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको यसमा ध्यानाकर्षण हुनुपर्छ । मन्त्री ज्यूलदाई स्पष्ट पार्ने मौका पनि हो यो ।’

काँग्रेस सांसद शर्माले बैठकमा सहभागि भएर पनि बाहिरएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथी पनि प्रश्न गरेका थिए । उनले उपनिर्वाचनको मुखैमा उपनिर्वाचन हुने स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत नै सरुवा गरेको भन्दै आपत्ती जनाए ।

 

उनले भने, ‘अर्को मन्त्री ज्यू बाहिरिनुभयो । उपनिर्वाचन घोषणा भएको छ र उहाँले उपनिर्वाचनको मुखैमा उपनिर्वाचन हुने स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिरहनुभएको छ । संकेत गरेर मात्रै भएन, यति भनेपछि स्पष्ट रुपमा नै भन्नुपर्छ । दैलेखको महावु गाउँपालिकाका उपनिर्वाचन हुदैँछ, तर त्याहको प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्नुभएको छ । सरकार भित्र र बाहिर रहेका दलले निर्वाचनमा जादैँ गर्दा निर्वाचन आचारसंहितमा ख्याल गर्नुपर्छ । राज्य व्यवस्था समितिको यसमा पनि ध्यानाकर्षण होस् ।’

राज्यमन्त्री तामाङले जवाफ दिए लगत्तै नेकपा (एमाले)का सांसद एवम समितिका सदस्य रघुजी पन्तले राज्यमन्त्री तामाङलाई कान्छाराम निर्माण कम्पनीले २ वर्ष अघिका पनि काम समयमै गर्न नसकेको सञ्चारमाध्यममा आइरहेको भन्दै समयमै काम गर्न र अहिलेको सरकारलाई असर नपुर्याउन आग्रह गरेका थिए ।

सांसद पन्तले भने, ‘२ वर्ष यता त तपाईले कम्पनी छोड्नुभयो । तर, त्यो भन्दा अघिकै तपाइ त्यसमा रहेकै बेला पनि भएका काम पुरा भएका छैनन् भनेर सञ्चारमाध्यममा समाचार आइरहेका छन् । आफ्नो प्रभाव देखाएर समयमा नै सक्नुस यसले वर्तमान सरकारलाई असर पुर्याउनुभएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *