पार्टीमै आन्तरिक प्रतिस्पर्धा गर्न जरुरी छ : अनेमसंघ अध्यक्ष हमाल
काठमाडौं । अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमालले अनेमसंघले पार्टीमै आन्तरिक प्रतिस्पर्धा गर्न जरुरी रहेको बताएकी छन् । पार्टीमा महिलाको उपस्थिति उल्लेख्य बढाएर आफ्नो काम देखाउनुपर्ने बेला आएको बताएकी छन् ।
अखिल नेपाल महिला संघले शुक्रवार आफ्नै कार्यालयमा आयोजना गरेको विभाग प्रमुख, प्रदेश र क्षेत्रिय महिला नेताहरुसंगको बैठकमा हमालले यस्तो बताएकी हुन् । नेकपा एमालेलाई वाह्य र देश भित्रैको विभिन्न तत्वहरुवाट आक्रमण भइरहेको भन्दै एमालेले मंसिर ७ गते वृहत जागरण सभाको आयोजना गर्दैछ ।
सो जागरण सभामा महिलाको उल्लेख्य उपस्थिति देखाएर आन्तरिक प्रतिस्पर्धामा खरो उत्रन अध्यक्ष हमालले बैठकमा सहभागीलाई निर्देशन दिएकी हुन् । उनले जिल्ला, प्रदेश, नगर हुदै टोल टोलवाट महिलालाई सभामा सहभागी गराउन निर्देशन दिइन् । अनेमसंघको केन्द्रीय कमिटीको बैठकले काठमाडौ उपत्यकावाट मात्र कम्तिमा १३ हजार महिलालाई सडकमा उतार्ने निर्णय गरेको छ ।
उनले यसलाई आन्दोलनको रुपमा प्रस्तुत गर्ने नभएर आफ्नो क्षमता र तागत देखाउने राम्रो अवसर भएको उल्लेख गरिन् । अनेमसंघले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्ध दिवसलाई समेत भव्य बनाउन तयारी गरेको छ । महिला हिंसा विरुद्ध संगसंगै भन्ने नारा सहित यो वर्षको महिला हिंसा विरुद्धको दिवस मनाउन लागिएको हो । सो अभियानलाई अनेमसंघले विभिन्न कार्यक्रम गर्दै मार्च ८ (अन्तराष्ट्रिय महिला दिवस) सम्म लैजाने भएको छ ।
यही बीचमा अनेमसंघले संविधान संसोधनका लागि पनि महिलाहरुवाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि अनेमसंघ केन्द्रीय कमिटीले मातहतका निकायलाइ सुझाव संकलनको लागि निर्देशन समेत दिएको छ ।
अनेमसंघका अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारीहरु विमला राइ पौडेल, शर्मिला कार्की, पेम्बा लामा लगायत विभागका प्रमुख, उपप्रमुख तथा नगर र प्रदेश प्रमुखहरुको उपस्थिती थियो ।