प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण – Nepal Press

प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । आज बिहान ७ः३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो ।

मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्। उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य  थिइन् ।

गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय  थिइन् । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *