चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव- एक भ्रमण, एक राष्ट्रिय एजेन्डा (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर विज्ञहरुले एक पटकको भ्रमणमा एउटामात्रै नेशनल गोल ‘राष्ट्रिय एजेन्डा) बनाउनुपर्ने बताएका छन् ।
फ्रेन्डस् अफ चाइनाद्वारा शनिबार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुईपक्षीय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरुले एक भ्रमण, एक राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताएका हुन् ।
उनीहरुले नेपालले विगतका प्रधानमन्त्रीहरुको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेन्डाहरुमा अल्मलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए ।
चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिँदै उनीहरुले चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए ।
उनले नवप्रवर्तनकारी कामहरु गर्न चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्नसके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरु विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताए ।
उनले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठूलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीको भ्रमणमा जनस्तरीय सम्पर्क बढाउने कुरा एजेन्डामा पर्नुपर्ने उनको भनाइ छ ।
‘म प्रधानमन्त्रीको भ्रमणलाई जोडेर के भन्न चाहन्छु भने हामी आयात त ठूलो मात्रामा गरी नै रहेका छौं । हाम्रो इकोनोमीको ठूलो हिस्सा इम्पोर्टमै जान्छ, तर चीनसँग हामीले कस्तो किसिमको आर्थिक रुपमा सहयोग लिन सकिएला ? सामान्य नागरिक भएको कारणले मलाई के लाग्छ भने के आग्रह गर्नसक्छौं भने तपाईंहरुले नवप्रवर्तनमा काम गर्दै हुनुहुन्छ । इ-भेइकलमा संसारको लार्जेस्ट प्रोड्युसर्स चाइना छ । इ-भेइकलको प्लान्टको एउटा सानो हिस्सा नेपालमा राखिदिनुस् भन्नुपर्छ’, उनले भने, ‘उहाँहरुकै प्रोडक्शन यहाँ हुन्छ र हाम्रो ठूलो जनसंख्या रोजगारीको लागि बाहिरिएका युवाहरुले रोजगारी यहाँ नै पाउँछन् । उहाँहरुको लागि लेभर कस्ट पनि सस्तो पर्छ । सरकारले यसमा होमवर्क गर्नुपर्ने देखिन्छ । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्ध एउटा आयाममा काम गरिरहेको छ । सधैं स्मुथ बनाउन सकेका छैनौं । त्यो हुन नसक्नुमा कल्चरल कन्सेप्ट पनि कारण छ । सांस्कृतिक आदानप्रदानहरु कति आदानप्रदान भएको छ, त्यसले पनि फरक पार्दछ । कल्चरल इन्भेष्टमेण्टका लागि पनि कुरा अघि बढाउनुपर्छ । जनतास्तरीय सम्पर्क बढाउने कुरा एजेन्डामा राख्नुपर्छ ।’
कार्यक्रममा बोल्दै अध्येता डा.विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताए ।
उनले विश्वास र सद्भावबाट नै दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गरे । उनले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्ने कुरा चीनबाट सिक्नुपर्ने औंल्याए ।
सञ्चारमाध्यमहरुमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्रका आधारमा भ्रमण गर्ने कुरा सुखद् नरहने जिकिर गर्दै उनले नेपाल कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था नभएकाले सरकारी निकायहरुलाई नै बलियो बनाएर जानुपर्नेमा जोड दिए ।
‘प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा विश्वास गर्ने कुरा राम्रो होइन । हाम्रो प्रधानमन्त्री के लिएर जाने र के लिएर फर्किने ? सद्भाव र विश्वास प्रधानमन्त्रीले लिएर जाने हो । सद्भाव र विश्वास नै बोकेर आउने हो । त्यो सधैं रहिरहने खालको सद्भाव र विश्वास आर्जन गर्न सकियो भने दुई देशबीचको सम्बन्ध पनि मजबुत हुन्छ र फाइदा पनि लिनसक्छौं’, उनले भने, ‘कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्ने कुरा चीनबाट सिक्नुपर्छ । नेपाल र चीन सम्बन्धको विषयलाई हामीले प्रधानमन्त्रीको चीन भ्रमणसँग जोडिरहेका छौं । परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्र हामी बनाइएको छ रे ! कोको भ्रमणमा जाने, कोको नजाने, केके एजेन्डा उठाउने र केके नउठाउने भन्नेबारे मैले त्यस्तो सुनिरहेको थिएँ । त्यो सुखद पक्ष होइन । नेपाल भनेको कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था होइन । हामीसँग भएका निकायहरुलाई बलियो बनाउनुपर्छ । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा हामीलाई विश्वास छ ।’
त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विपीन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताए । उनले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेन्डा बन्नसक्ने प्रस्ताव राखे ।
‘प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्छ । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउने कुरा प्राथमिकतामा पर्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले अहिले चीन भ्रमण गर्दा एउटा नेशनल गोल चाहिँ लिनुपर्छ । चाइनिज अनुभव र मोडलबाट नेपालमा एजुकेशन हब बनाउने, एक भिजिटमा एउटै प्लान बनाउनुपर्छ । रिटेल बिजनेस गरेर काम छैन । होलसेल बिजनेस गर्नुपर्छ । त्यो बनाइसकेपछि त्यो वर्ल्ड लेभलको, जसले गर्दा हाम्रो इकोनोमीलाई टेवा दिनसक्छ । त्यस्तो गृहकार्य गरेर प्रधानमन्त्री जानुपर्छ । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनुपर्छ ।’
कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरुको आश बढ्नु स्वाभाविक रहेको बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाहा प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरुमा आए पनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राखे ।
सभामुख पाठकले भ्रमण गर्दा एजेन्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताए ।
‘हामी र हाम्रो डिप्लोमेसी र परराष्ट्र मन्त्रालय र हाम्रो के ल्याकिङ छ, अर्को प्रायोरिटीमा हामी कन्फ्युज छौं । हाम्रो प्रायोरिटी जहिले पनि कन्फ्युज हुन्छ । यो दुई कुरामा तालमेल मिल्नुपर्ने हो, त्यो मिलिरहेको छैन । हामी जुन किसिमको फोकस र होमवर्क हुनुपर्ने हो, त्यो भइरहेको छैन जस्तो देखिन्छ’, उनले भने, ‘आसन्न चीन भ्रमणका लागि पनि आवश्यक गृहकार्य हुन नसकेको अनुभूति मैले गरेको छु ।’