आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, उल्लंघन गरे कारबाही गर्ने आयोगको चेतावनी
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेको कार्य गराउनुपरे आयोगलाई जानकारी गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय रुपमा सम्पन्न गराउन सबैको सहयोग हुने आयोगको विश्वास छ ।
निर्वाचन आचारसंहिताविपरीत कार्य भए गरेको पाइए वा हुनसक्ने आधार देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोगलाई जानकारी गराउन आग्रह गरेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।