रूपन्देही सुपर लिग: शंकरनगरमाथि बुटवल राइनोजको जीत – Nepal Press

रूपन्देही सुपर लिग: शंकरनगरमाथि बुटवल राइनोजको जीत

रुपन्देही । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को शनिबारको खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगितामा जीतका लागि पाएको १०८ रनको लक्ष्य बुटवल राइनोजले ७ विकेट गुमाएर भेट्टायो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा ३५ ओभर २ बल खेल्दै लक्ष्य पूरा गरेको हो ।

बुटवल राइनोजका लागि नितिन त्रिपाठीले अविजित ४६, शिव कुँवरले २० र विपीनविक्रम शाहीले १९ रनको योगदान दिए । बलिङमा शंकरनगरका रुपेश बस्यालले २ तथा नवीन भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको शंकरनगरले ४० ओभरमा ९ विकेटको नोक्सानीमा १०७ रन बनाएको थियो । उसका लागि रुपेश बस्यालले २०, अभय विश्वकर्माले १७, अभिनव अधिकारीले १४ र जय गोदारले १२ रन जोडे पनि जीतका लागि पर्याप्त भएन ।

बलिङमा बुटवल राइनोजका शिव कुँवर र विपीनविक्रम शाहीले २-२ तथा सुप्रिम कँडेल, विकास साहु र शुभम घमालले १-१ विकेट हात पारे । खेलमा शिव कुँवर प्लेयर अफ द म्याच भई एक हजार २०० रुपैयाँ हात पारे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ र उपविजेताले ५० हजार १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै हरेक खेलका म्यान अफ द म्याचले १ हजार २००, म्यान अफ द सिरिजले १५ हजार, बेस्ट ब्याटर, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाणले जानकारी दिए ।

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । यसपटक नेपाल सुपर लिगका कारण दुई चरणमा लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेल र ‘ए’ डिभिजनका खेल नेपाल सुपर लिगपछि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *