काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
उनीहरुले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति गरेका हुन् ।
सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।
सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।
कीर्तिपुरमा मेयरसँगै वडा नं १ र ४ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ । जसमा माओवादीले दुइटै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा मात्रै उम्मेदवारी टुंग्याएको छ ।
माओवादीले वडा नम्बर १ अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ अध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले वडा नम्बर ४ मा रीता खड्कालाई उम्मेदवार घोषणा गरेको छ ।