आमाको छत्रछायाँमा फक्रिएका निकेश – Nepal Press

आमाको छत्रछायाँमा फक्रिएका निकेश

कम्प्युटर इञ्जिनियर निकेश कान सुन्दैनन् तर, अरबिका कफी सप चलाउँछन्

काठमाडौं । ‘निकेशको मुटुमा प्वाल छ, दुई वर्षभित्र ओपन हर्ट सर्जरी नगरे बाँच्ने सम्भावना कम छ’, डाक्टरको आवाज अहिले पनि सरुना श्रेष्ठको कानमा बज्छ । डाक्टरको कुराले सरुनाको मुटु यति जोडले उफ्रियो कि के भन्ने ! मात्र बेहोस भइनन् ।

समय बित्दै गयो । निकेशको स्वास्थ्य झन् झन् गम्भीर हुँदै गयो । १८ महिनाको भएपछि निकेशलाई कोरिया लगियो । कोरियामा निकेश पाँच वर्षमुनिको पहिलो व्यक्ति थिए, जसको ओपन हर्ट सर्जरी हुँदै थियो । त्यहीवेला सरुनाले थाहा पाई, ‘निकेशले कान पनि सुन्दैन ।’

यो २०५७ सालको कुरा हो ।

मुटुमा प्वाल छ भन्ने थाहा पाएपछि सरुनाले निकेशका लागि केके गरिनन् ! छँदाखाँदाको मावि शिक्षकको जागिर छाडिन् । शिक्षक पनि अंग्रेजी र विज्ञानको थिइन् । दोलखा चरिकोटको घर छाडिन् । निकेशलाई नक्सालको बहिरा स्कुलमा भर्ना गरिन्, तर निकेश एक्लै स्कुल जान मानेन । बच्चाका लागि आफू पनि बहिरा स्कुल गइन् । निकेशलाई काखमा राखेर सांकेतिक भाषा सिकाइन् । निकेशसँगै आफूले पनि सिकिन् ।

सरुना सुनाउँछिन्, ‘बाबुसँगै क्लासमा सँगै पलेंटी कसेर पढें । त्यसवेला बाबु पाँच वर्षको मात्रै थियो ।’

निकेशले १७-१८ महिनाको हुँदा कान सुन्न छाडेको थियो । यसवेलासम्म केही शब्द भने सिकिसकेको थियो । जस्तैः ‘आमा’, तर जसलाई पनि ‘आमा’ भन्थ्यो ऊ । ‘आमा’को अर्थ बुझेको थिएन । सांकेतिक भाषा सिकेपछि निकेशले थाहा पायो, ‘आमा भनेको त मसँगै पलेंटी कसेर पढ्ने महिला रहिछिन्, जसले मलाई जन्म दिइन् । जसले मलाई स्तनपान गराइन् ।’

अनि निकेशले पहिलो पटक सरुनालाई सांकेतिक भाषामा ‘आमा’ भन्यो । बानेश्वरको अरबिका कफी सपमा निकेशलाई हेर्दै सरुना भन्छिन्, ‘बाबुले त्यसो भन्दा म रोएको ! बाबुले आमा भनेको त्यो पल म कहिल्यै बिर्सन्नँ ।’

सरुनाले निकेशलाई हेर्दै त्यसो भन्दा निकेश भने ग्राहकहरुलाई कफी सर्भ गरिरहेका थिए । नयाँ बानेश्वर चोकमा सरुना र राजेन्द्र मानन्धरले निकेशका लागि अरबिका कफीको ब्रान्च खोलिदिएका छन् । कफीसपको म्यानेजमेन्टदेखि ग्राहकको सेवासम्ममा निकेश सक्रिय छन् ।

निकेश कम्प्युटर इन्जिनियर पनि हुन् । उनले बाग्लुङको धौलागिरी बहिरा स्कुलबाट कम्प्युटर इन्जिनियरिङ सकेका छन् ।

मैले सोधें, ‘अहिले निकेशलाई हेर्दा कस्तो लाग्छ ?’

‘प्राउड फिल हुन्छ’, सरुना यतिमात्रै भन्छिन् ।

छोरोसँगै बाउ सम्हाल्नु परेपछि

सरुना र राजेन्द्र एकै टोलमा हुर्किए । केटाकेटीदेखि नै साथी बने । साथीको सम्बन्ध हुर्कंदै गएपछि प्रेममा बदलियो, विवाह गरे । विवाहपछि पहिलो सन्तानको रुपमा जन्मिए निकेश ।

मुटुमा प्वाल थियो निकेशको । डाक्टरले दुई वर्षको डेट दिएका थिए । अहिले त निकेश २६ वर्षका भइसकेका छन् । डाक्टरको अनुमानलाई फेल खुवाइदिएका छन् । सरुना भन्छिन्, ‘मलाई जसरी पनि बचाउँछु भन्ने लागेको थियो । बाबुलाई बाँच्न लेखेको थियो ।’

राजेन्द्र पत्रकार थिए । जनसम्पर्क राम्रो हुने भइहाल्यो । निकेशको विषयमा बुझ्दै जाँदा कोरियन डाक्टरहरुले चलाएको क्याम्पमा पुगे राजेन्द्र । कोरियामा निकेशको ओपन हर्ट सर्जरी हुने भयो । सरुना र निकेशको उपचार निःशुल्क हुने भयो । राजेन्द्र भने आफ्नै पैसाले गए । सरुना स्कुलको शिक्षकबाट राजीनामा दिएर गइन् ।

‘बाबु त कस्तो थियो कस्तो ! मुटु राम्रो नभएपछि मान्छेमा अरु विकास केही नहुँदो रहेछ’, सरुना सम्झिन्छिन् ।

२०५७ बैसाख-जेठको कुरा हो । कोरियामा निकेशलाई अप्रेसन थिएटरभित्र लगियो । सरुना र राजेन्द्रलाई वेटिङ रुममा राखियो । डाक्टरले भने, ‘स्क्रिनमा हेरेर बस्नुहोला ।’

डाक्टरले भनेबमोजिम गरे सरुना र राजेन्द्रले । एक घण्टा भयो, दुई घण्टा भयो, निकेशको अप्रेसन भएन । निकेशलाई अप्रेसन नगरिकनै फिर्ता बोलाइयो । दोभाषेले भने, ‘एनेस्थेसिया लिनेवेला निकेशले केही रेस्पोन्स गरेन । डाक्टरलाई कान सुन्दैन कि भन्ने शंका लाग्यो । त्यसको टेस्ट नगरिकन अप्रेसन हुँदैन ।’

तीन दिनपछि निकेशको कानको टेस्ट भयो । अनि पो सरिना र राजेन्द्रले थाहा पाए, निकेशले कान नसुन्ने रहेछ ।’

सरुनाले यस्तो हुन्छ भनेर कल्पेकी पनि थिइनन् । अलिअलि शंका चाहिँ गरेकी थिइन् । कोरिया जानुभन्दा दुई महिनाअघि निकेश एकदमै बिरामी भएको थियो । बेहोस नै भएको थियो । कान्ति बाल अस्पतालमा १९ दिन राख्नुपरेको थियो । सरुना सुनाउँछिन्, ‘त्यसवेला पनि कसैले बाँच्छ भनेर सोचेको थिएन, तर बाँच्यो ।’

त्यसअघि ढोका खोल्दा, यताउता गर्दा निकेशले रेस्पोन्स गर्थ्यो । रेस्पोन्स गर्न छाडेपछि फलोअपमा जाँदा डाक्टरले भने, ‘धेरै दिन अस्पतालमा राख्नुभयो । बिरामीका कारण पनि होला ।’

सरुनाले पनि त्यही सोचिन्, तर कोरिया पुगेपछि पो थाहा पाइन्, निकेशले जिन्दगीभर कान सुन्दैन !

‘मुटुमा प्वाल छ भन्दा त्यति पीडा भएको थिएन, कान नै सुन्दैन भन्दा अब सबै सकियो भन्ने भयो । एकदमै पीडा भयो’, सरुना ती दर्दनाक क्षण सम्झिन्छिन्, ‘यसपछि बाबुको झनै माया लाग्यो । ठीकै छ नि, एउटा न एउटा क्षमता त भगवानले देला नि भन्ने लाग्यो ।’

त्यही थाहा भयो, निकेशको त किलकिले पनि रहेनछ । जन्मिएदेखि नै उसलाई निमोनिया भइरहन्थ्यो । त्यसको कारण त खानेकुरा सीधै फोक्सोमा जाने रहेछ । खाना खायो कि सर्किहाल्ने !

यसपछि त सरुनाको काखमा अर्को बिरामी पनि थपियो, श्रीमान् ।

उक्त अस्पतालको २१ तलामाथि थिए सरुना र राजेन्द्र । तत्कालीन नेपाली समाजमा जनचेतना थिएन । फरक क्षमता भएकाहरुलाई ‘अघिल्लो जन्मको पाप’ भनेर भनिन्थ्यो । सरुना र राजेन्द्र पनि बच्चाबच्ची जस्तै नै थिए, जम्मा २२-२३ वर्षका त थिए ।

निकेशको स्वास्थ्यमा थप जटिलता थपिँदै गएपछि राजेन्द्रले सरुनालाई कालोनिलो हुँदै भने, ‘बेकारमा ल्याइएछ । अब यहीबाट हामफालेर मरौं ।’

‘त्यस्तो भन्दा त एकछिन अन्धकार जस्तो लाग्यो । के भनेको हो बुढाले ? त्यो पनि ठ्याक्कै झ्यालमा बसेर’, सरुना सम्झिन्छिन्, ‘हत्तपत्त झ्यालबाट तानें । २१ तला भनेको त कहाँ के कहाँ !’

सरुनाले राजेन्द्रलाई भनिन्, ‘केटा मान्छे भएर पनि यस्तो भन्छन् त ?

अनि सरुना सुनाउँछिन्, ‘मेरो बाबु धेरैपटक मरेर बाँचिसकेको कारण मलाई के लागेको थियो भने यसले जति दुःख पाए पनि बाँच्न पाउनुपर्छ । भगवानले जन्माएपछि केही उपाय त लगाउँछ । अनि बुढोलाई तानेर भनें, ‘नबाँच्ने मान्छेलाई यहाँसम्म ल्याएको छ, यसले केही न केही त गरेर खान्छ भनेर भनें ।’

‘कानको अप्रेसन गर्न अस्ट्रेलियामा ३५ लाख लाग्छ भनेपछि उहाँ आत्तिनुभएछ । त्यत्रो पैसा कहाँबाट ल्याउने ?’, सरुना सुनाउँछिन्, ‘एकछिन ट्वाइलेटमा ढिला गर्‍यो भने एकदमै डर लाग्थ्यो । तीन महिनामा छोरो बचाउनेभन्दा पनि बाउ के हुने हो भन्ने भयो ।’

पढ्यो भने त गरिखाँदो रहेछ

निकेशको ओपन हर्ट सर्जरी सफल भयो । किलकिलेको पनि उपचार गरियो । तीन महिनापछि सरुना, राजेन्द्र र निकेश नेपाल फर्किए ।

काठमाडौं आएपछि सरुना र राजेन्द्र एउटा मिसनमा लागे ।

कहाँ कहाँ, कस्ता कस्ता अवस्थामा छन् त बहिराहरु ! नयाँ बानेश्वर चोकको नाङ्लो बेकरीमा गए । त्यहाँ सबै वेटरहरु नै सांकेतिक भाषा बोल्नेहरु थिए । सरुना र राजेन्द्रलाई लाग्यो, ‘पढ्यो भने त गरिखाँदो रहेछ ।’

यसपछि नक्साल बहिरा स्कुल गए ।

स्कुल भर्ना हुनुअघि कानको उपचार गर्न निकेशलाई भारत लगियो । ककलेटिङ इमप्लान्ट भनिने उक्त उपचारमा टाउको चिरेर माकुराको जालो जस्तो चिज (जो दिमागमै हुन्छ) राखिन्थ्यो । यसले चाहिँ कानबाट गएको आवाज उक्त जालोमा ठोक्किएर कानमा फर्किएपछि सुनिने गर्छ ।

यसको उपचारका लागि न्यूनतम १२ घण्टा लाग्थ्यो । ओपन हर्ट सर्जरी गरेका कारण आठ घण्टाभन्दा बढी बेहोस गराउनु हुँदैन थियो । यही जटिलताले उसको उपचार सम्भव भएन । उपचार नगरी नेपाल फिरे । नक्सालको स्कुलमा निकेश र सरुनाले सँगै पढ्न सुरु गरे ।

२०६२/६३ मा निकेश गम्भीर बिरामी परे । काठमाडौंमा बस्नै मानेन । परिवारले दोलखा लगे । दोलखाबाट निकेश काठमाडौं आउनै मानेन । दुईतीन वर्ष यसै सकियो । यसपछि बाग्लुङको धौलागिरी बहिरा विद्यालय बांगेचौरमा पाँच कक्षाबाट पढ्न सुरु गरे । त्यहीबाट प्लस टु सकाए ।

अनि सात जना त कम्प्युटर इन्जिनियर बने

निकेशकै कारणले सरुनाले थाहा पाइन्, भाषा भन्ने कुरा कति महत्वपूर्ण रहेछ ! भाषा नभएपछि सञ्चार नहुँदो रहेछ । सञ्चार नभएपछि बाँच्नै गाह्रो हुँदोरहेछ । सरुनाले महसुस गरिन्, निकेश जस्ता धेरै मान्छे छन् । जसलाई शिक्षाको खाँचो छ ।

सरुना र राजेन्द्र मिलेर बहिराहरुका लागि दोलखामा स्रोत कक्षा खोले । यो भनेको सामान्य स्कुलमै सीमित कोटामा राखेर होस्टेलकै व्यवस्था गरेर चलाइनु । सरुना सुनाउँछिन्, ‘जब आफूले थाहा पाइँदो रहेछ, अनि काम गरिने रहेछ ।’

स्रोत कक्षाको कोटा १० जनाको मात्रै थियो, तर सरुना र राजेन्द्रले १० जना भेला गर्न पनि कम दुःख गर्नु परेन । बच्चाबच्चीका बावुआमाले कुरै बुझ्दैन थिए । बहिरा बच्चाहरुलाई ‘लाटो’ भन्थे । उनीहरुलाई गोठालो बनाएर राख्थे । सरुना र राजेन्द्रले बावुआमालाई कन्भिन्स गर्न खोज्दा भन्थे, ‘कान नसुन्ने लाटाले पनि कहाँ पढ्छ ?’

जसोतसो १० जना जम्मा भए ।

स्रोत कक्षापछि थप अध्ययनका लागि दोलखामा स्कुल थिएन । दोलखाबाट बाग्लुङ लाने भनेपछि बावुआमाले झनै झिँजो गर्थे ।

‘बच्चाहरुले जब भाषा जान्थ्यो, उनीहरु घर नै जान मान्दैन थिए । दशैंतिहारमा पनि जान मान्दैन थिए । दशैंतिहारमा जान नमानेपछि बच्चालाई कहाँ राख्ने भनेर तनाव हुन्थ्यो’, सरुना भन्छिन्, ‘अनि मैले शिक्षकहरुकै कोठामा दाल, चामल किनिदिएर उनीहरुलाई राखें । घरमा हाम्रो कुरा पनि बुझ्दैनन्, साथी पनि हुँदैनन् भनेर जानै मान्दैन थिए । घरका मान्छे लिन आउँदा पनि जान मान्दैन थिए ।’

अलि पछि अभिभावकलाई समेत सम्झाएपछि बच्चाहरु घर जान तयार भए ।

२०६६ सालदेखि सरुना र राजेन्द्र दोलखामै प्राथमिक स्कुलको तयारीमा लागे । स्कुल चलाउने अनुमति पाउन भवन चाहिन्थ्यो । सरुनाले घर बनाउँदै थिइन् । उक्त घरबाट केही इँटा लिएर गइन् । सिमेन्टी, बालुवाको व्यवस्था गरिन् । बच्चाहरुले काठ, बाँस बोकेर ल्याए । जसोतसो टहरा बन्यो । टहराको फोटो लिएर गएपछि स्कुलले अनुमति पायो । यसमा प्लान नेपाल इन्टरनेशनलले पनि सहयोग गर्‍यो ।

अहिले ६७-७० जना बच्चाले उक्त स्कुलमा पढिरहेका छन् । ओखलढुंगा, सिन्धुलीतिरबाट पनि विद्यार्थी आएका छन् । सरुना र राजेन्द्रले पढाउन सुरु गरेको विद्यार्थीमध्ये ७ जना त कम्प्युटर इन्जिनियर नै बनेका छन् । त्यसमध्ये तीनजना चाहिँ शिक्षक बनेका छन् ।

०००

अहिले निकेशलाई हेर्दा गर्व महसुस गर्छिन् सरुना । सोच्छिन्, ‘हामीले हरेस खाएको भए यस्तो हुँदैन थियो होला । हामीले लड्दै संघर्ष गर्‍यौं । अहिले त हामीलाई माया गर्छ । रेस्पेक्ट पनि गर्छ । व्यवहारिक पनि छ ।’

निकेश सेटल्ड पनि भइसक्यो ।

सरुनाको सुझाव छ, ‘सुरुमा त मेरो छोरा बहिरा छ भन्दा म आफैं हर्ट भएँ । विस्तारै बुझ्दै गएँ । अभिभावक आफ्नो बच्चाको बारेमा आफैं गम्भीर हुनुपर्ने रहेछ । मेरो बच्चा यस्तो छ भनेर पीर मानेर, लाज मानेर, लुकाएर कामै छैन । यो कुनै पनि पूर्वजन्मको पाप होइन । यस्तो हुनु भनेको दुर्घटना हो । सानोमा मेरो बाबुलाई मान्छेले बोलाउँथे । बाबुले कान सुन्दैनथ्यो । अनि यो बच्चा लाटा हो भनेर सोध्थे । त्यस्तो सुनेर म रुन्थें । लाटा हो भन्ने थाहा पाइसकेपछि सोध्न जरुरी थिएन नि त ! अहिले त त्यस्ता मान्छेले पनि मेरो बाबु देखेर प्राउड फिल गर्छन् । अहिले त खुसी लाग्छ ।’

मैले सरुनाकै सहयोगमा निकेशसँग पनि कुराकानी गरें । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

– यो कफी सपसम्म कसरी आइपुग्नुभयो ?

पहिला तालिम लिएँ । अनि त्यही काम गरें । बुवाआमाले यस्तो पसल खोल्ने इच्छा छ भने भन भन्नुभयो । मलाई त विदेश जाने इच्छा थियो । विदेश जानलाई यो काम सिकेको थिएँ, तर साथीहरुले पनि ‘खोल खोल’ भनेपछि मलाई पनि खोल्ने इच्छा लाग्यो ।

– विदेश चाहिँ कुन देश ?

अमेरिका वा अस्ट्रेलिया जाने इच्छा थियो ।

– मान्छेले आफ्नो कुरा राम्रोसँग नबुझिदिँदा दुःख लाग्छ कि लाग्दैन ?

अलिअलि दुःख चाहिँ लाग्छ । अरुलाई भन्दा बहिरालाई भाषाको कारण अलिकति समस्या हुन्छ । आफ्नो कुरा अरुलाई सजिलैसँग बुझाउन सकिँदैन । अरु प्रकारका अपांगहरुलाई केही समस्या भयो भने सजिलै मान्छेहरुलाई बुझाउन सक्छन्, तर हामीलाई अलिकति अप्ठेरो छ । कि लेखेर दिनुपर्‍यो कि दोभाषेको साथ लिनुपर्‍यो । सरकारले लाइसेन्स दिँदैन बहिराहरुलाई । मलाई बाइक चलाउन मन छ, तर लाइसेन्स दिँदैन ।

– जागिर गर्न र कफीसप चलाउनमा के फरक छ ?

अरुको कफी सपमा काम गर्दा जागिरमात्रै हुने भयो । आफ्नै कफी सप चलाउँदा सबै जिम्मेवारी आइपर्छ ।

– अब चाहिँ विदेश जान मन छैन ?

अहिले यसैलाई हेर्दैछु । यो ठीक हुँदै गयो भने अर्को पसल खोल्न पनि सकिन्छ, तर यो राम्रो चलेन भने विदेश जान पनि सक्छु ।

– सानोवेलाका कुरा याद छ कि छैन ?

सानोमा अप्रेसन गरेको कुरा त्यति याद छैन । मलाई भारतमा अप्रेसन गर्न जाँदाको अलिअलि याद छ । मलाई पढ्न सुरु गरेपछिका कुरामात्रै राम्रोसँग थाहा छ ।

– यहाँसम्म आउँदा बुवाआमाको योगदान छ कि छैन ?

मैले कम्प्युटर इन्जिनियर बनेर काठमाडौं आइसकेपछि ‘कफी सिक्छस्’ भनेर सोध्नुभएको थियो । मैले बारिस्टा नसिकेको भए विदेश नै जान्थें होला । जतिवेला मलाई कफी सिकाउनुभयो, व्यवसायसँगै मेरो सीपको बारेमा सोचिदिनु भयो । त्यसका लागि तपाईंहरुलाई धन्यवाद छ ।

– सबैभन्दा खुसी भएको दिन कुन हो ?

एउटा चाहिँ एसईई पास भएको र अर्को चाहिँ कम्प्युटर इन्जिनियर बनेको दिन ।

– अबको योजना के छ ?

अहिलेसम्म बुवाआमाकै सल्लाहमा अगाडि बढिरहेको छु । आफैं निर्णय गर्नसक्ने वेला अझै भइसकेको छैन ।

तस्बिरहरू : उमेश कार्की/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *