रविले डायल गरेको ‘रङ नम्बर’: गगन-आरजु कि केपी ओली ? – Nepal Press

रविले डायल गरेको ‘रङ नम्बर’: गगन-आरजु कि केपी ओली ?

विगत तीन सातादेखि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने कैफियत देखिएको भन्दै नेपाल प्रहरीले अदालतसँग माग गरेबमोजिम पक्राउ पुर्जी जारी भई लामिछाने हिरासतमा पुगेका हुन् । प्रहरीले आवश्यक देखेको खण्डमा उनलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

आफ्ना सभापति पक्राउ परेपछि रास्वपा यतिबेला सडक प्रदर्शनमा छ । उसको आरोप छ- सरकारले बद्नियत र षड्यन्त्रपूर्वक आफ्ना सभापतिलाई फसाइएको हो । ‘यो त्यस्तो विन्दु हो कि जहाँ राज्यको डरलाग्दो, निष्कृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन’, केही समय अगाडि रास्वपाको केन्द्रीय समितिद्वारा जारी विज्ञप्तिमा उसले भनेको छ । उसले पीडितको समस्यालाई राजनीतीकरण गरिएको बताउँदै आएको छ ।

रास्वपाको यो विरोधमा प्रमुख निशानामा नेकपा एमाले र यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । लोकरिझ्याइँ र ‘पपुलिस्ट’ भाषण गर्ने रास्वपा र मिडियाको क्लिक बेड हेडलाइनको प्राथमिकीकरणले जनतामा केपी ओली यस पछाडिका स्टेकहोल्डर हुन् भन्ने भाष्य स्थापित भइरहेको छ, तर सत्य यो होइन । यथार्थमा यसमा विशेषगरी दुई व्यक्ति जोडिएका छन् । तिनमा एक गगन थापा हुन् भने अर्को नाम वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणाको आउँछ । आज जुन कारणले रवि लामिछाने प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्, ती विषयको उठान नेपाली कांग्रेसका कारण भएको हो ।

दोहोरो नागरिकता प्रकरणपछि पुनः भएको निर्वाचनमा पनि जीत निकाल्दै संसद छिरेर दोस्रो पटक गृहमन्त्री बनेपछि लामिछानेले आफूलाई जबरदस्त नेता र मसिहाका रुपमा आफूलाई प्रस्तुत गर्न र बहुचर्चित ‘मिसन ८४’ पछि देश हाँक्ने नेताको रुपमा उदाउने महत्वाकांक्षालाई मलजल गर्न टीकापुरको सरकारी जग्गा हिनामिनाको विषयमा राणामाथि सीआईबीमार्फत निगरानी बढाएका थिए । रवि राणालाई पक्राउ नै गर्न चाहन्थे । जबकि राणाले सो जग्गा आफूले किनेको र घोटाला आफूले जग्गा किनेको समयभन्दा धेरै पछाडिको भएको बताउँदै आएकी थिइन् ।

रास्वपाको यो विरोधमा प्रमुख निशानामा नेकपा एमाले र यसका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । लोकरिझ्याइँ र ‘पपुलिस्ट’ भाषण गर्ने रास्वपा र मिडियाको क्लिक बेड हेडलाइनको प्राथमिकीकरणले जनतामा केपी ओली यस पछाडिका स्टेकहोल्डर हुन् भन्ने भाष्य स्थापित भइरहेको छ, तर सत्य यो होइन ।

तर रवि कुनै पनि हालतमा राणालाई पक्राउ गर्ने उत्कठ चाहनामा थिए । उनले कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियालाई पनि नागरिकताको विषयमा पर्याप्त छानबिन नगरी पक्राउ पुर्जी जारी गराउँदै पक्राउ गरेका थिए । पछि सो विषय प्रमाणित हुन सकेन । रविले आफूमाथि दुःख दिन नै पक्राउ गर्न लागेको बुझाइमा रहेकी डा.आरजु राणा लामिछानेसँग रुष्ट थिइन् । रविले गृह प्रशासनको दुरुपयोग गरेको उनको बुझाइ रह्यो । सामान्यतया प्रहरीले अदालतसमक्ष अनुसन्धान गर्नुपर्ने देखियो भनेपछि सजिलै पक्राउ पुर्जी दिने गरेको छ ।

लामिछाने यही सहजतालाई प्रयोग गर्दै आरजुलाई पक्राउ गरेर ‘यी मैले ठूलो माछा समाएं’ भनेर सन्देश दिन चाहन्थे, तर रातारात बदलिएको सत्ता समीकरणले रविको चाहनामा तुषारापात भयो । उनी तथ्य-प्रमाण नभए पनि आरजुलाई पक्रेर देउवा परिवारको राजनीति सिध्याउने र आफू हिरो बन्ने दाउमा थिए । रविको यो कच्चा खेलबारे केपी ओली र प्रचण्ड अवश्य जानकार भएकै हुनुपर्छ । सायद देउवासम्म यो सूचना पनि शीर्ष तहबाटै पुग्यो होला । त्यसपछि कांग्रेस सभापति देउवालाई प्रचण्डको धोकाको बदला लिने र रविमाथि प्रतिकारबाही गर्ने मौका मिल्यो र एमालेसँग हात मिलाउन पुगे । एमाले पनि प्रचण्डबाट पाएको धोकाको बदला लिने मौकाकै ताकमा थियो कि ?

मिसन ८४ को सम्भावित अंकगणितमा कांग्रेसलगायतका सबै दल तलबितल नपरोस् भन्नेमा सचेत छन् । यसैबिच नेपाली कांग्रेस छोडेर प्रचण्डले एमालेसँग काँध मिलाएपछि संसदको प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसका लागि मुद्दा चाहिएको थियो । यसैबेला सहकारी ठगी प्रकरण बाहिरिन थालेपछि कांग्रेसको भावी नेतृत्वका रुपमा आफूलाई पेस गरिरहेका गगन र कांग्रेसका लागि एउटा मुद्दा प्राप्त भयो । रविको जीबी राईसँगको कनेक्सनबाट ग्यालेक्सी टीभीमाथि सहकारीमा जम्मा भएको रकम चोर बाटोबाट भएको लगानीको खुलासाले संसदमा कांग्रेसको स्वर ठूलो बनाउन पर्याप्त भयो ।

त्यसपछि कांग्रेसले रवि लामिछानेका विरुद्ध संसदीय छानबिन समितिको गठनको माग गर्‍यो । सो नहुँदासम्म उसले संसद अवरोध गरेको थियो । संसदमा गगनले रविले रकम अपचलन गरेको प्रमाण आफूसँग भएको नै भने । सो कुरालाई रविले चुनौती दिँदै संसदीय समितिको छानबिनका लागि आफू तयार भएको बताए । दलहरुको सहमतिमा संसदीय समिति गठन पनि भयो । प्रतिवेदनले रविमाथि कैफियत देखायो ।

रवि पक्राउपछि एमाले र कांग्रेसको मिलन नै रविलाई सिध्याउन भएको भनेर रास्वपाका नेता कार्यकर्ताले घोक्रो फुलाउने गरेका छन् । यसमा उनीहरु प्रमुखगरी प्रम ओलीविरुद्ध धेरै खनिएका छन् । जबकि यथार्थ यस्तो होइन ।

त्यही कैफियतका आधारमा रवि पक्राउ परे । रवि पक्राउपछि एमाले र कांग्रेसको मिलन नै रविलाई सिध्याउन भएको भनेर रास्वपाका नेता कार्यकर्ताले घोक्रो फुलाउने गरेका छन् । यसमा उनीहरु प्रमुखगरी प्रम ओलीविरुद्ध धेरै खनिएका छन् । जबकि यथार्थ यस्तो होइन । जुन कुराको खुलासा प्रम ओलीले बिहीबार कान्तिपुर पब्लिकेसनले गरेको ‘कान्तिपुर कन्क्लेभ’को क्रममा गरेका छन् । उनले आफ्नो रुचि नहुँदानहुँदै संसदीय समिति छानबिन गठन भएको बताए । उनले रविका लागि आफूले सधैं हित सोचेको र उसले गर्न लागेका काममा सहयोग नै गरेको बताए ।

उनले रविले अमेरिकाबाट फर्किएपछि आफूकोमा आएको र काम नभएको बताएपछि उनका लागि ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम गर्ने तारतम्य मिलाइदिएको बताए । उनले धेरैपछिसम्म आफूले रविको सहकारीलगायतमा जोडिएको कुरा कल्पनासमेत नगरेकोसमेत खुलासा गरे । ओलीले रवि निर्दोष तथा दोषी ठहर हुने दुबै कुरामा आफू संलग्न नहुने भन्दै सो कानूनी प्रक्रियाबाट आफूलाई पर राखिदिन आग्रहसमेत गरे । सोक्रममा आफ्नो सांकेतिक शवदहन गरिएकोसम्मका कुरामा असन्तुष्टि व्यक्त गरे ।

जानकारहरु भन्छन्- रवि ओलीकै सदासयताका कारण गृहमन्त्री बन्न सकेका हुन्, तर पछिल्ला घटनाक्रमबाट आफू तारो बनाएको विषयमा प्रम ओली दुःखी छन् । रवि पक्राउको विषयमा नितान्त मन्त्री राणा र गगन थापाको चाहना हो र त्यसमा ओली उनीहरुसँग झुकेको बताइन्छ । आफ्ना सभापति पक्राउ पर्ने भएपछि केही रास्वपा नेताको गृहमन्त्री रमेश लेखक भेट्ने चाहना राणाका अनिच्छाका कारण सम्भव नभएको बताइन्छ । यो सबै प्रक्रियामा गगन थापा हावी बने । उनले मन्त्री राणालाई पनि खुसी बनाएर रविलाई देखाइदिएको चर्चा छ ।

पहिलो पटक संसद छिर्दासम्म रवि र गगनको सम्बन्ध सुमधुर रहेको थियो । तनहुँ- १ उपनिर्वाचनपछि भने यी दुबैको सम्बन्ध बिग्रिन सुरु भएको बताइन्छ । आमनिर्वाचनमा गगनकै क्षेत्रमा उम्मेदवारी दिने मुडमा रहेका रविले ‘गगन जत्तिको युवा नेता चाहिन्छ’ भन्ने आशयका साथ आफूलाई चितवन सारे । त्यहाँ पनि उनले राप्रपा नेता विक्रम पाण्डेलाई फिल्ड क्लियर गरेको चर्चा छ । लामिछानेले आफ्ना ससुरा उद्धव पौडेल (राप्रपा उपाध्यक्ष)को लबिङमा पाण्डेको क्षेत्रमा उम्मेदवारी नदिएको बताइन्छ । यो गुनको बदला पाण्डेले निर्वाचनमा अप्रत्यक्ष सहयोग गरेको आरोपसमेत लागेकै हो ।

तनहुँ- १ को उपनिर्वाचनमा स्वर्णिम वाग्लेले कांग्रेसबाट टिकटको चाहना राखेका थिए, तर उनले पाएनन् । त्यसपछि रविले वाग्लेलाई आफ्नो पार्टीबाट चुनाव लड्ने प्रस्ताव गरे । सो प्रस्तावलाई स्वीकार्दै वाग्लेले निर्वाचन लडे र विजयी भए । यो निर्वाचनका दौरान थापाले आफ्ना प्रचार भाषणहरुमा लामिछाने र वाग्लेलाई कटाक्ष गरे । जवाफमा थापामाथि पनि कटाक्षहरु भए । स्मरणीय के छ भने वाग्ले कुनै समय थापाकै कोर टीमभित्रका प्रमुख सहयोगी थिए । यो निर्वाचनमा गगनले सार्वजनिक रुपमा कटाक्ष गरे पनि भित्रभित्र वाग्लेलाई सहयोग नै पुर्‍याएको आरोप पनि खेपेकै हुन् ।

राजनीतिक आक्षेपबाट सुरु भएको मनोमालिन्य व्यक्तिगत तहका क्षुद्रतापूर्ण अभिव्यक्तिमा पुगेपछि थापा र लामिछाने एकअर्काविरुद्ध होस्टायल बने । यसैगरी बहुचर्चित ‘मिसन ८४’ मा रविले इगो साँध्न आफ्नो लोकप्रियतालाई क्यास गर्दै गगनकै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरे । यसबाट पनि थापा लामिछानेसँग सचेत भए ।

यतिबेलासम्म पनि थापा र लामिछानेको दुश्मनी सुरु भइसकेको थिएन, तर जब सहकारी ठगी प्रकरण र सोको तार जीबी राई, ग्यालेक्सी टीभी हुँदै रवि लामिछानेसम्म जोडिन थाल्यो, गगनले संसद र बाहिर निरन्तर आवाज उठाउन थाले । रवि दोस्रोपटक गृहमन्त्री बनेपछि थापा र कांग्रेसले सहकारीको विषयलाई झन चर्कायो र छानबिन समिति गठनको माग भयो । यसबिच लामिछानेले थापा पनि आरोपहरुबाट अछुतो नरहेको र आर्थिक हिनामिनामा रहेको हल्ला चलेको भन्दै गगनमाथि नै अपुष्ट आक्षेप लगाए, जुन गगनलाई स्वीकार्य थिएन ।

रवि-गगनबिच आरोपप्रत्यारोप चलिरहँदा थापाले आफूसँग लामिछानेले ऋण लिएको प्रमाण रहेको दाबी गर्दै ‘सहकारीमा आफैंले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं’ भनेका थिए । रविले पनि थापाले प्रमाण दिए राजनीति नै छाडिदिने घोषणा गरे । ‘मैले लोन माग्न निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि ! त्यो दिनुभयो भने म राजनीति छोडिदिन्छु, दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ’, उनले भनेका थिए ।

यसैगरी रविले थापाको बहुचर्चित काण्डको हवाला दिँदै छानबिन ती विषयको गर्नुपर्ने बताएका थिए । थापाले रविलाई जवाफ फर्काउँदै ‘सबै खोल्नुस्, छानबिन गर्नुस्, नधम्क्याउनुस्, नतर्साउनुस् र नअल्मलाउनुस् पनि’, भनेका थिए । राजनीतिक आक्षेपबाट सुरु भएको मनोमालिन्य व्यक्तिगत तहका क्षुद्रतापूर्ण अभिव्यक्तिमा पुगेपछि थापा र लामिछाने एकअर्काविरुद्ध होस्टायल बने । यसैगरी बहुचर्चित ‘मिसन ८४’ मा रविले इगो साँध्न आफ्नो लोकप्रियतालाई क्यास गर्दै गगनकै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरे । यसबाट पनि थापा लामिछानेसँग सचेत भए । उनी रविलाई आफूसँग चुनाव लड्न आउने चाहनालाई ८४ अगाडि नै रोक्ने मिसनमा छन् । हिरासतमा पुगे पनि उनीहरुको टकराव रोकिएको छैन ।

कास्कीबाट रुपन्देही पुर्‍याइएका रविले त्यहाँ केही दिन अगाडि ‘खोरमा राख्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिए । धेरैले यो अभिव्यक्तिको निशाना ओली भएको बुझे पनि खासमा उनको संकेत थापा थियो, तर यी सबै प्रकरणमा प्रम ओली छन् है भन्ने भाष्यले धेरै काम गरिरहेको एमालेको बुझाइ छ । यो कार्यकालमा ओली पहिलेका कार्यकाल झैं धेरै भोकल भएका छैनन् । सार्वजनिक कार्यक्रममा समेत उनी विपक्षीलगायतप्रति पहिले झैं आक्रामक छैनन्, तर रास्वपाका निम्नस्तरका टिप्पणीप्रति भने उनी खुशी छैनन् । रविले जसरी अहिले ओली र एमालेमाथि मनपरी बोलिरहेका छन्, भोलि उनका लागि त्यही बोली गलपासो बन्नसक्छ । किनकि उनी बारम्बार रङ नम्बर डायल गरिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “रविले डायल गरेको ‘रङ नम्बर’: गगन-आरजु कि केपी ओली ?

  1. ओलिले त रविलाई माया नै गरेका छन् । रविको पछि लागेको नम्बर एक गगन त्यसपछि काँग्रेस हो । रवि र रास्वपाले यो कुरा बुझुन् ।

  2. सहकारीको संचालक समितिमा नरहेको र सदस्य समेत नरहेको रबिलाई सहकारी ठग भन्दा लाज लागेन कालो काङ्ग्रेस-भ्रष्ट एमाले ठगबन्धनलाई?!!

    यो त्यस्तो विन्दु हो कि जहाँ राज्यको डरलाग्दो, निष्कृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *