यस वर्ष मनसुनजन्य विपद्‌बाट ५०० प्रतिशत बढी मानवीय क्षति – Nepal Press

यस वर्ष मनसुनजन्य विपद्‌बाट ५०० प्रतिशत बढी मानवीय क्षति

४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको नोक्सानी

काठमाडौं । यस वर्षको मनसुनजन्य विपद्‌बाट ४९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन अवधिमा यस वर्ष ६६ जना बेपत्ता भएका छन् भने ५२२ जना घाइते भएका छन् ।

गत जेठ २८ देखि असोज २६ सम्म ४ महिनाको अवधिमा मनसुनजन्य विपद्‌बाट १० हजार ८२२ परिवार प्रभावित भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको मनसुन अवधिको तुलनामा यस वर्ष ५०० प्रतिशत बढीले मृत्यु भएको छ ।

गत वर्ष ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए । अघिल्लो वर्ष विपद्‌बाट प्रत्यक्ष प्रभावित परिवार संख्या ६ हजार १२८ रहेको थियो । यस वर्ष सरकारले विपद्पछि २० जिल्लाका ७२ वटा स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

नेपालमा जलमापन शुरु भएयताको ७७ वर्षको इतिहासमा एकैदिन सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ । प्राधिकरणका अनुसार कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा यस वर्ष मापन भएको छ ।

नेपालमा ७७ वर्षकै इतिहासमा यस वर्ष भारी वर्षा

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा भएको छ । विगतको तुलनामा विपद्का घटना बढी भएको जसले मानवीय र भौतिक क्षति पनि बढाएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले अनुमान गरेअनुसार नै यस वर्ष देशका अधिकांश ठाउँमा धेरै पानी परेको छ । नेपालमा वर्षा मापन सुरु भएयता ७७ वर्षकै इतिहासमा सबैभन्दा बढी वर्षा पनि यस वर्षको मनसुन अवधिमा भएको छ ।

कञ्चनपुर जिल्लाको दोधारा मापन केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा भएको थियो । यद्यपि पूर्वतयारी र पूर्वकार्यले मानवीय क्षति हुन नपाएको प्राधिकरणको दाबी छ ।

सबैभन्दा धेरै क्षति बागमतीमा

यस वर्ष मनसुजनज्य विपद्बाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी ५५.७५ प्रतिशत अर्थात २७६ जनाको मृत्यु भएको छ । यस वर्ष सबैभन्दा कम मधेश प्रदेशमा १६ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको हो । मनसुनको अन्त्यतिर असोज १० देखि १३ गतेसम्म परेको अविरल र आरिघोप्टे पानीका कारण आएको पहिरो, बाढी तथा डुबानबाट ठूलो मानवीय तथा भौतिक क्षति हुन पुगेको छ ।

सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको र तीन दिनको भारी वर्षाले २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता भएका छन् । यस्तै १७८ जना घाइते भएका थिए ।

पहिरो, बाढी तथा डुबानबाट विद्यालय, स्वास्थ्य संस्था, सडक, जलविद्युतलगायतका पूर्वाधार एवं कृषि बाली तथा पशुधनमा अर्बौंको क्षति भएको छ । यस अवधिको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति हुन पुगेको छ ।

आँकलनअनुसार सडक, पुल, जलविद्युतलगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख, कृषि तथा पशुधनतर्फ ५ अर्ब ८८ करोड २८ लाख, शिक्षातर्फ ७ करोड २ लाख, स्वास्थ्यतर्फ २ करोड १७ लाख र सिंचाइतर्फ १ अर्ब ३५ करोडको क्षति हुन पुगेको छ ।

यसै वर्षको मनसुन अवधिमा गत असार २८ मा चितवनको सिमलतालमा सडक माथिबाट आएको लेदोसहितको भेलबाढीले ठूलो दुर्घटना भएको छ । रातिको समयमा भेलबाढीले दुई वटा बस बगाएर त्रिशुली नदीमा बेपत्ता हुँदा ५९ जना बेपत्ता भएका थिए । ३ जना हामफालेर ज्यान जोगाउन सफल भएका थिए । सिमलतालदेखि भारतीय सीमा क्षेत्र (दुर्घटनास्थलबाट १०७ किलोमिटर) सम्म गएर खोजतलास गर्दा २४ जनाको मात्र शव फेला परेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सहित छिमेकी देश भारतबाट नेशनल डिजाष्टर रेस्पोन्स फोर्सको प्राविधिक टोली समेतको सहयोगमा खोजतलास गरिएको थियो । खोजी कार्यमा अन्डरवाटर ड्रोन, सोनार क्यामेरालगायतको प्रविधिसमेत प्रयोग गरिएको थियो ।

यस वर्ष हिमताल विस्फोट पनि

यस वर्ष हिमताल विस्फोटका घटना पनि भएका छन् । साउन ३२ गते सोलुखुम्बुको थामे खोलामा आएको गेग्रान र ठूला ढुङ्गासहितको बाढीले थामे बजारमा ठूलो क्षति पुर्‍याएको थियो । विद्यालय, स्वास्थ्य चौकी र दुई होटलसहित २७ घरमा क्षति पुगेको थियो । लगत्तैको स्थलगत अनुगमनले बजारभन्दा करिब ९ किलोमिटर माथिका २ वटा हिमताल विस्फोट भएकाले आकस्मिक बाढी आएको देखिएको थियो ।

यस वर्ष मनसुनजन्य विपद्‌बाट ६३ जिल्लाले मानवीय क्षति व्यहोरेको छ । यस वर्ष बाढी र पहिरोबाट जोगाउन ओखलढुङ्गा, दोलखा, ताप्लेजुङ, संखुवासभा, जाजरकोट, गोरखा, बाग्लुङ, तनहुँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, मकवानपुर र सिन्धुपाल्चोकबाट गरी ९९४ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर