दुर्घटनामा विद्यार्थीको मृत्यु, स्थानीयले जलाए बस
विराटनगर । कोशी राजमार्गको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको ज्यान गएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले दर्जन सेल अँश्रु ग्यास प्रहार गरेको छ ।
काकडभिट्टाबाट विराटनगर आउँदै गरेको प्रदेश १ -०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएको हो । बसको ठक्करका कारण यादवको घटनास्थलमा ज्यान गएको छ ।
ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रणमा लिएर आगजनी गरेका छन् । सोही क्रममा भीड नियन्त्रण गर्ने खोज्दा एक जना प्रहरीसमेत घाइते भएका छन् ।
घटनापछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ । बस चालक इलाका प्रहरी इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।