एनपीएलको लेटरहेडमा आमीर अख्तरको विज्ञप्ति, क्यानमाथि यस्तो आरोप – Nepal Press

एनपीएलको लेटरहेडमा आमीर अख्तरको विज्ञप्ति, क्यानमाथि यस्तो आरोप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को नाममा कपिराइट दाबी गर्दै आएका जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रमुख आमीर अख्तरले आज एक विज्ञप्ति जारी गरेका छन् । आफू क्रिकेटविरोधी नभएको र आफ्नो अधिकारका लागि लडिरहेको उनको प्रस्टीकरण छ ।

उनले नेपाल प्रिमियर लिगको लेटरहेडमा अख्तरले विज्ञप्ति निकालेका हुन् । नेपाल प्रिमियर लिग नामको कम्पनी आफ्नो नाममा रहेको र क्यानले एनपीएल घोषणा गरेलगत्तै यो कम्पनी सुम्पिन पत्राचार गरेको उनले बताएका छन् ।

‘म आफैं एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी, क्रिकेट आयोजक र खेलकुद व्यवस्थापनमा संलग्न व्यक्ति भएकोले यसबाट पर्नसक्ने अप्ठेरोबारे मलाई थाहा थियो । म कुनै क्रिकेटविरोधी व्यक्ति होइन, तसर्थ एनपीएलको सफल आयोजना होस् भन्ने हेतुले मैले क्यानलाई पूर्वसूचना दिई त्यसमा सहजीकरण गर्नु आफ्नो कर्तव्य ठानें’, उनले भनेका छन् ।

‘मैले सोचेको थिएँ कि करोडौंको रकम संलग्न हुने र थुप्रै व्यक्ति जोडिएको विषयमा क्यान गम्भीर हुनेछ र समाधानको बाटोतिर अग्रसर हुनेछ, तर क्यानले पटकपटकको मेरो अनुरोधलाई बेवास्ता गर्‍यो । गम्भीर कानूनी विषयलाई पूरै नजरअन्दाज गर्‍यो ।’

कसैको नाममा रहेको कम्पनी र क्यानले जोरा स्पोर्ट्स म्यानेजमेन्टलाई एनपीएल आयोजना गर्न यसअघि नै दिएको अधिकार छिन्ने प्रयास हुनु भनेको कानूनतः गलत भएको उनको टिप्पणी छ । समाधानको पहल नगरिनु झनै गलत भएको अख्तरले बताएका छन् ।

‘तसर्थ म अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको हुँ । सम्माननीय सर्वोच्च अदालतले नेपाल क्रिकेट संघलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको अवस्था छ । म अदालतको निर्णयको प्रतीक्षामा छु’, उनी भन्छन् ।

अख्तरले एनपीएल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले क्यानसँग यस विषयमा लिखित जवाफ मागेको छ । अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *