महामन्त्री गगन थापा सिन्धु आउँदा मोहन बस्नेतको बहिष्कार, यस्तो छ कारण – Nepal Press

महामन्त्री गगन थापा सिन्धु आउँदा मोहन बस्नेतको बहिष्कार, यस्तो छ कारण

आफ्नै जिल्लाको पार्टी कार्यालय भवन उद्घाटन छाडेर लावालस्कर लिएर दोलखा हानिए बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको कार्यालय भवन कात्तिक १ गते कांग्रेस महामन्त्री गगन थापाले उद्घाटन गरे । उद्घाटन समारोहमा महामन्त्रीसहित कांग्रेसका केन्द्रीय र जिल्ला नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

तर, सिन्धुपाल्चोककै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भने उक्त कार्यक्रम बहिष्कार गरेका छन् । जिल्ला पार्टी कार्यालय उद्घाटन हुँदै गर्दा उनी दोलखा कांग्रेसको कार्यक्रममा सहभागी भए ।

बस्नेतनिकट मानिएका जिल्ला उपसभापति टंक कार्की, सचिवहरू भक्तध्वज बोहरा, रमेश भण्डारीलगायतका पदाधिकारी तथा सदस्यसमेत जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएका थिएनन् ।

केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, प्रदेश सभापतिका प्रत्याशी जगदिश्वर नरसिंह केसीलगायत कार्यक्रममा पुगेका थिए । सिन्धुपाल्चोकका बस्नेत दोलखा पार्टीको कार्यक्रममा सहभागी हुँदै गर्दा दोलखाका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भने बस्नेतको गृह जिल्ला सिन्धुपाल्चोकको कार्यक्रममा आएका थिए ।

आफ्नै जिल्लाको पार्टी कार्यालय भवन उद्घाटनमा ३ पटकसम्म जिल्ला सभापति बनेका बस्नेत नआउँदा कांग्रेसीजन खिन्न देखिन्थे । बस्नेतमात्रै होइन बस्नेत निकटका जिल्ला पदाधिकारी र अन्य नेता कार्यकर्ता पनि कार्यक्रममा आएनन् । कार्यालय परिसरमा स्थापना गरिएको संसथापक नेता बीपी कोइराला ,पूर्वसभापतिद्धय रोहिणीराज सिग्देल र विकास लामाको सालिक पनि त्यसै दिन अनावरण गरिएको थियो ।

आफ्नै जिल्ला र आफ्नै निर्वाचन क्षेत्रमा पार्टीको महामन्त्रीको उपस्थिति हुँदा बस्नेत ठूलो ‘हुल’ लिएर दोलखाको गौरीशंकर गाउँपालिकाको उपचुनावको प्रचार प्रसारमा सहभागी भइरहेका थिए ।

सिन्धुपाल्चोकको पार्टी कार्यालय भवन असोज १४ मै उद्घाटन गर्ने तयारी भएपनि असोज १२ को झरीले बाढीपहिरो र डुबान निम्त्याएपछि स्थगित भएको थियो । त्यतिबेला पनि बस्नेतले अन्यत्र नै शुभकामना आदनप्रदान कार्यक्रममा जाने तय गरेका थिए ।

‘हामीले उहाँलाई विशेष अतिथिको निमन्त्रणा गरेका थियौं, आउँछु पनि भन्नु भएको थियो अन्तिममा आउनु भएन’, कांग्रेस सिन्धुपाल्चोकका सूचना तथा सञ्चार प्रचार विभाग प्रमुख सीके चौलागाईँले भने’, ‘जिल्ला सभापतिले पनि समन्वय गरिरहनु भएको थियो, आउँछु नै भन्नु भएको रहेछ तर आउनु भएन ।’

कांग्रेस केन्द्रीय सदस्य बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले भने पार्टी केन्द्रीय कार्यालयले सुरू गरेको सय दिने अभियानमा दोलखामा खटाएकोले जिल्लाको कार्यक्रममा सहभागी हुन नसकेको बताए ।

‘कात्तिक १ गते दोलखामा अनिवार्य जानु पर्ने नै थियो, फेरि गौरीशंकरमा उपचुनाव पनि हुनु भएकोले माननीयज्यू दोलखा जानुभएको हो’, आचार्यले नेपाल प्रेससँग भने ।

सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले बस्नेतसँग कुनै पनि समन्वय नगरेकाले कार्यक्रममा सहभागी नभएको उनीनिकट एक नेताले दाबी गरे ।

ती नेताले भने, ‘पत्र त पठाएको सुनेका हौं । तर, पत्र पनि पुगोस्, कार्यक्रममा पनि उपस्थिति नहोस् भन्ने लाइनबाट निमन्त्रणा आयो त्यही भएर उहाँ नजानुभएको हो ।’

सिन्धुपाल्चोककै एक नेताका अनुसार पार्टी कार्यालय भवनको उद्घाटन बस्नेत आफैँले गर्न चाहेका थिए, तर महामन्त्रीको हातबाट हुने भएपछि उनी बहाना बनाएर दोलखातिर हानिएका हुन् ।

विवादको चुरो

२०७८ सालमा सम्पन्न कांग्रेस सिन्धुको १४औं जिल्ला अधिवेशनबाट बस्नेत समूहका जंगबहादुर लामा सभापतिमा निर्वाचित भएका थिए । त्यतिबेला सभापतिमा वंशलाल तामाङ र प्रेमध्वज लामा प्रत्यासी थिए । प्रेमध्वज तेस्रो भएपछि दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल लामाबीच प्रतिस्पर्धा हुँदा जंगबहादुर निर्वाचित भए । जिल्ला पदाधिकारी र सदस्य अधिकांश बस्नेत समूहबाटै आए ।

जिल्ला सभापतिमा निर्वाचित भएको एक वर्षपछिबाट जंगबहादुर र मोहन बस्नेतबीचको सम्बन्ध चिसिएको जानकारहरू बताउँछन् ।

‘स्थानीय चुनावको समीक्षा कार्यक्रमदेखि उहाँहरूबीच सम्बन्ध बिग्रियो’, एक नेताले भने, ‘आफू अनुकूल चलाउन खोजेपछि सभापतिज्यूले एस म्यान हुन अस्वीकार गर्नुभयो विवादको चुरो त्यही नै हो ।’

त्यसपछि बिस्तारै बस्नेत समूहबाट निर्वाचित सभापतिसहित धेरै सदस्यले ‘क्याम्प’चेन्ज गरेका थिए ।

सभापतिले गुटबन्दी गरेको भन्दै महामन्त्रीलाई ज्ञापनपत्र

पार्टी कार्यालय उद्घाटनको २ दिनअघि मात्र बस्नेतनिकटका जिल्ला पदाधिकारीले महामन्त्री गगन थापालाई केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रसमेत बुझाएका थिए ।

उपसभापति टंक कार्की, सचिव भक्तध्वज बोहरा, प्रदेश सासंदहरू मसिना भण्डारी, समिर तामाङलगायतले ‘संगठनात्मक अकर्मण्यता र गुटबन्दी अन्त्य गरेर विधान सम्मत पार्टी सञ्चालन गर्ने वातावरणको सिर्जना गर्न’ भन्दै महामन्त्रीसँग माग गरिएको कांग्रेस जिल्ला सचिव बोहराले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर