कांग्रेसले केन्द्रीय कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने – Nepal Press

कांग्रेसले केन्द्रीय कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसले भोलि केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ।

बैठकले पूर्वसभामुख ढुंगानाको निधनप्रति दुख व्यक्त गरेको छ।

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट विजयी भई २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख भएका थिए।

त्यसैगरी उनी वि.सं. २०५१ मा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको उम्मेदवार भएका थिए।

मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रिया ल्याउन सहजकर्ताको रूपमा समेत सक्रिय भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर