मंसिर ७ को जागरण सभा सफल पार्न प्रेस चौतारीले बनायो विशेष योजना – Nepal Press

मंसिर ७ को जागरण सभा सफल पार्न प्रेस चौतारीले बनायो विशेष योजना

अनिवार्य सहभागी हुन नेतादेखि सदस्यसम्मलाई निर्देशन

काठमाडौं । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताविरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ ।

अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसीर ७ को जागरण सभालाई व्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ ।

एमालेले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सदभाव, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरेको छ । सो सभामार्फत मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने लक्ष्य रहेको छ ।

सो सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरको महासचिव हिरामान लामाले बताए ।

बैठकले जागरण सभामा सहभागी हुन सवै उपत्यकावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई निर्देशन दिएको छ । यसैगरी बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सवै सदस्यको बीचमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताए । सोही अनुसार काम गर्न पनि उनले निर्देशन दिएका छन् ।

बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कहीँ कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रवृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताएका छन् । महासचिव लामाले दिएको जानकारीअनुसार अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेहरुलाई अव संगठनबाट बिदा गर्ने योजनासमेत सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिएका छन् ।

यस्तै, उनले निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने निष्कर्षसमेत सुनाएका थिए । बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमती प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर