उपनिर्वाचन : वडाध्यक्षका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी
काठमाडौं । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४०६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारी दिएका २ जना वडा अध्यक्ष एक अर्का विरुद्ध आफैले उजुरी दिएका हुन् ।
उक्त वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका जसिराम बस्नेत र नेपाली काँग्रेस विरुद्ध उम्मेदवारी दिएका मोतिराम खत्रीले एक अर्का विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपसचिव दुर्गाप्रसाद चालिसेले नेपाल प्रेसलाई जानकारी दिए ।
उक्त वडाको रिक्त रहेको वडा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यि दुई बाहेक नेकपा (एकीकृत समाजवादी)बाट हंशराज पुरी र बिरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म उम्मेदवार विरुद्ध दाबी बिरोध तथा उजुरी दिने कार्यतालिका रहेको थियो । सोमबार दिउसो ३ बजेदेखि नै मंगलबार साँझ ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसपछि बुधबार बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय र त्यसे दिन दिउसो १ बजेदेखि ३ बजेसम्म निर्वाच अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।