प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको दुष्प्रचार, नाम र हस्ताक्षर नमिल्ने फेक डकुमेन्ट भाइरल – Nepal Press

प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको दुष्प्रचार, नाम र हस्ताक्षर नमिल्ने फेक डकुमेन्ट भाइरल

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका छन् । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।

प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसलाई अहिलेसम्म २ हजार सात सयभन्दा बढीले सेयर गरिसकेका छन् । माओवादी, रास्वपा र राजावादी कार्यकर्तालाई यो भिडिओ एउटा गतिलो खुराक बनिरहेको छ । तर, नेपाल प्रेसलाई प्राप्त प्रधानमन्त्रीका आधिकारिक दस्तावेजहरू हेर्दा उक्त भिडिओ रिपोर्टमा देखाइएका कागजात कीर्ते भएको ठहर्छ ।

भिडिओ रिपोर्टमा भनिएको छ, ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’

भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाइएका छन् । १४ मे २०१९ मिति राखिएको एउटा कागजमा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता Khadka Prasad oli (KP Oli) उल्लेख छ । ओलीको नक्कली हस्ताक्षर रहेको अर्काे कागज पनि प्रमाणका रूपमा देखाइएको छ जहाँ उनकाे नाम लेखिएकाे छ Khadga Prasad oli (KP Oli) । यसरी दुईवटा कागजमै नामकाे स्पेलिङ फरक छन्, जसले गर्दा प्रथम दृष्टिमा नै याे अविश्वसनीय देखिन्छ ।

भिडिओमा प्रश्न गरिएको छ, ‘हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीसँग कम्बोडियामा यत्रो लगानी गर्ने पैसा कहाँबाट आयो पत्रकार मित्रहरु ? न हाम्रो देशका प्रधानमन्त्री न उद्योगी न व्यापारी । यिनले कहाँबाट बनाए यस्त्रो पैसा ?’

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका छन् ।

उनी भन्छन्, ‘मैले प्रमाण ल्याउन मेरो तन, मन, धन, समयको लगानी गरेको छु, यो प्रमाण ल्याएको यी भ्रष्टले थाहा पाएपछि राज्यसत्ताको दुरुपयोग गरेर मलाई सिध्याउन खोजिरहेका छन् आम नागरिक चनाखो रहनुहोला ।’

प्रसाईँले देखाएको डकुमेन्टमा उल्लेखित नाम प्रधानमन्त्रीको नागरिकताको नामसित मिल्दैन । २०४५ सालमा जारी भएको नागरिकतामा उनको नाम लेखिएको छ- के.पी. शर्मा (ओेली) अंग्रेजीमा K.P. SHARMA (OLI) । जबकि नक्कली कागजमा खड्गप्रसाद ओली (केपी ओली) उल्लेख छ । कुनै पनि दस्तावेजको आधिकारिकताका लागि व्यक्तिको नाम नागरिकताबमोजिम नै हुनुपर्छ । साथै, ओलीको भनिएको हस्ताक्षर पनि उनले गर्ने हस्ताक्षरसित मिल्दैन ।

प्रधानमन्त्री निकट स्रोतले दुर्गा प्रसाईंको यो हर्कत क्षम्य नरहेको बतायो । उनीमाथि तत्काल कानूनी कारवाही हुने स्रोतको भनाइ छ ।

‘यो नितान्त पागलपन हो । मुर्खहरूले मात्रै पत्याउँछन् यस्ता कुरा । हामीले बोलिरहनुपर्ने आवश्यकता छैन । जे गर्छ, प्रहरी प्रशासनले गर्छ,’ बालुवाटार स्रोतले भन्यो ।

सरकारी दस्तावेज कीर्ते गर्नेलाई प्रमाण पुगेमा कानूनमै सजाय तोकिएको छ । अभिवक्ता विनिता तामाङका अनुसार मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ ग अनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

यस्तै हस्ताक्षर कीर्तेको पनि बेग्लै कारवाही छ । हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजासम्म जरिवाना हुन सक्छ । यस्तै प्रसाईंविरुद्ध साइबर कानून पनि आकर्षित हुनेछ ।

दुर्गा प्रसाईंले यसअघि पनि रिस उठेका मान्छेलाई अपुष्ट आरोप लगाउँदै बदनाम गर्ने गरेका छन् । उनले प्रचण्डको ९७ करोड नगद प्रकाश दाहालको मृत्युपछि वसन्त चौधरीसँग भएको दाबी गरेका थिए । सो दाबीको भिडिओ अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ ।

प्रसाईंले भनेका छन्, ‘ल आज एउटा नयाँ खुलासा गरिदिएँ । प्रकाश दाहाल मरेर गए, प्रचण्डको ९७ करोड रूपैयाँ वसन्त चौधरीसँग छ । विनोद चौधरी कसको पैसाले हिरो भएको हो त्यो पनि मलाई थाहा छ । प्रधानमन्त्री प्रचण्ड भएको बेला उनको राखनधरान वसन्त चौधरीकहाँ थियो । त्यो खाइदिए वसन्त चौधरीले । त्यसैले प्रचण्डले चौधरी खानदानलाई छोड्दैनन् ।’

पछिल्लो समय विभिन्न मारवाडी व्यवसायीहरू विरुद्ध उनी अनर्गल प्रचारबाजीमा उत्रिएका छन् । हालैमात्र रास्वपाकी एक नेत्रीलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गर्दा उनी पक्राउसमेत परेका थिए । तर, हिरासतमुक्त भएपछि पनि उनको शैली उही नै छ ।

प्रसाईं कुनै समय प्रचण्ड र केपी ओलीसँग पालौपालो निकट थिए । तर, आफ्नो व्यवसायीक स्वार्थपूर्ति नभएपछि प्रसाईं उनीहरूविरुद्ध खनिएका छन् । अहिले उनी राजावादी अभियन्ताका रूपमा चिनिन्छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको दुष्प्रचार, नाम र हस्ताक्षर नमिल्ने फेक डकुमेन्ट भाइरल

  1. यस्तो विषयमा सम्बन्धित पक्षको छानबिन गरी दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही होस् होइन भने यस्तो भ्रमको खेती गर्ने अफाहा फिजाउने ब्यक्ति वा राज्यको मानमर्दन गर्ने समुह वा राजनीतिक नेता वा कार्याकर्ता वा दललाई हदैसम्मको कानुनी कारबाही राज्यले गर्नुपर्छदेशलाई अस्थिर र अफाहा फिजाउने जो कोहीलाई छोड्नु हुदै

  2. ‘यो नितान्त पागलपन हो । मुर्खहरूले मात्रै पत्याउँछन् यस्ता कुरा । हामीले बोलिरहनुपर्ने आवश्यकता छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *