स्नातक अन्तिम वर्षको रिजल्ट नआइ स्नातकोत्तरको भर्ना खुल्यो, त्रिवि भन्छ- १५ गतेसम्म आउँछ – Nepal Press

स्नातक अन्तिम वर्षको रिजल्ट नआइ स्नातकोत्तरको भर्ना खुल्यो, त्रिवि भन्छ- १५ गतेसम्म आउँछ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको भर्ना खुलाएको छ । स्नातक तहको अन्तिम वर्षको नतिजा प्रकाशन नभई स्नातकोत्तर तहको भर्ना खुलाएको सूचना आएपछि नतिजा कुरेर बसेका विद्यार्थी अन्यौलमा परेका छन् ।

त्रिविले एक सूचना जारी गरेर मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ्ग अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८१/०८२ का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना खुलाएको हाे ।

सूचना अनुसार भोलि (मंसिर ५ गते)देखि स्नातकोत्तरको लागि आवेदन फारम बुझाउन सकिने छ । पास फेल नै थाहा नभई कसरी फारम बुझाउने भनेर विद्यार्थीहरु अलमलमा परेका हुन् ।

फारम बुझाउने मिति पुष ५ गतेसम्म तोकिएको छ । कक्षा सञ्चालन भने माघको पहिलो हप्तादेखि हुने सूचनामा उल्लेख छ ।

प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा संचालन र परीक्षा संचालन समेत गराउन सबै संकाय, अध्ययन संस्थान र क्याम्पसहरुलाई समेत निर्देशन दिएको छ ।

झण्डै ५ महिनाअघि परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीहरुमा त्रिविको यो सूचनाले थप अन्यौलमा परेका छन् । तर त्रिविका पदाधिकारीहरुले भने अन्यौलमा नपर्न अनुरोध गरेको छ ।

शैक्षिक क्यालेण्डर अनुसार स्नातकोत्तर तहको भर्नाको लागि आवदेन खुलाएता पनि नतिजा चाँडै प्रकाशित गर्ने त्रिविका पदाधिकारीहरु बताउँछन् ।

आगामी मंसिर १० देखि १५ गतेभित्र सबै संकायको नतिजा प्रकाशन गरिसक्ने त्रिविले बताएको छ । त्रिविका रेक्टर खड्क केसीले मंसिर १५ गतेसम्म चौथो वर्ष सबैको नतिजा आउने बताए ।

नतिजाअघि नै मास्टर्सको लागि भर्ना खुलाउने अभ्यास विश्वभर नै रहेको दावी गर्दै उनले भने, ‘जसको नजिता अपेक्षित हुन्छ उनीहरुले भर्ना गर्न सक्छन् ।’

त्रिविको शैक्षिक क्यालेण्ड अनुसार नै मास्टर्सकाे  भर्नाको सूचना निकालिएको उनको भनाइ छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत जेठदेखि हालसम्म ३५ वटा परीक्षाको नतिजा प्रकाशन गरिसकेको केसीले जानकार दिए ।

उनले भने, ‘१० गतेभित्र अन्य संकायको रिजल्ट हुन्छ । बाँकी मानविकी र शिक्षा संकायको नतिजा १५ गतेसम्म नतिजा प्रकाशन गरिसक्न परीक्षा नियन्त्रण कार्यालयलाईलाई भनिसकेको छौं । सोही अनुसार १५ गतेभित्र सबैको नतिजा प्रकाशन भइसक्छ ।’

सोही कारण पुस ५ गतेसम्म फारम भर्ने म्याद दिएको उनको भनाइ छ ।

रेक्टर केसी भन्छन्,‘हजारौ विद्यार्थीहरु नतिजाको पखाईमा हुनुहुन्छ । यो बारेमा हामी सचेत छौं । पछिल्लो ४ वर्षदेखिका विद्यार्थीहरु मास्टर्स पढ्न कोही पनि छुट्दैन ।’

दुई विषयमा फेल भएकालाई १५ दिनभित्रै मौका परीक्षा

त्रिविले पहिलोपटक अघिल्ला वर्षमा परीक्षा दिएर पास हुन नसकेको र यस वर्ष पनि पास हुन नसकेका आंशिक विद्यार्थीहरुलाई भने मौका परीक्षा गराउन लागेको छ ।

अब प्रकाशन हुने नतिजामा आंशिक तर्फबाट फेल भएका र २ विषय लागेकालाई छोटो समय दिएर मौका परीक्षा गराउन लागेको त्रिविका रजिष्ट्रार केदार रिजालले बताए ।

अब आउने नतिजामा पनि फेल भए एक वर्ष कुर्न नपर्ने गरी अबदेखि मौका परीक्षा गराउन लागेको उनको भनाइ छ । त्यही अनुसार नतिजा प्रकाशन भएको केही दिनमै सुचना जारी गर्ने उनले बताए ।

नियमित तर्फका विद्यार्थी फेल भए भने तुरुन्त परीक्षा गराउन नसक्ने उनको भनाइ छ । उनीहरुले भने अर्को पटकको समय कुर्नुपर्नेछ ।

यसअघि चौथो वर्षमा पटक पटक फेल भएकाहरुलाई मात्र मौका परीक्षामा सहभागी गराउन लागिएको हो ।

आगामी वर्षहरुमा भने नियमिततर्फ फेल भएमा त्यसरी तुरुन्त मौका परीक्षा गर्न सकिनेछ ।

‘पुरानोको लागि यो वर्षदेखि सुरु गर्न खोजेको हौं । अहिले पहिलोपटक अभ्यास हुनेछ । चौथो वर्षमा नतिजा हुनेवित्तिकै मौका परीक्षा गर्न सकिँदैन ।  पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष पास छ, चौथों वर्षमा २ वटा विषयमा ब्याक लाग्नेलाई चौथो वर्षको नतिजा निकालेपछि सूचना निकाल्छौं,’ उनले भने ।

मौका परीक्षा नतिजा आएको १५ दिनमा हुन्छ । त्रिविको यो पहिलो प्रयास भएको उनको भनाइ छ । उनका अनुसार मौका परीक्षा दिएर १ वर्ष बचाउन सकिन्छ भनेर प्रयास गरिएको हाे ।

‘तीन वटै ब्याचको एक वर्ष मास्टर्स डिग्रीमा नोक्सान हुँदैन । यसपालि हामीले सुरुवात गरेका छौं । मंसिर १५ सम्ममा नतिजा प्रकाशन गरिसक्नेछौं छौं । मंसिर २५ सम्ममा ५ वटा सेन्टरमा तय गरिसकेका छौं । ५ वटा प्रदेशमा सेन्टर गर्ने । दुई विषय बाँकी रहनेहरुलाई हामीले पुन परीक्षा दिएर यसपालिको मास्टर्स डिग्री भर्ना गराउँछौं । त्यसको लागि नोटिस निकालेको हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *