आगामी निर्वाचनमा कांग्रेस-एमालेले गठबन्धन नगरेपछि माओवादी आफ्नो हैसियतमा आउँछ: प्रकाशशरण महत – Nepal Press

आगामी निर्वाचनमा कांग्रेस-एमालेले गठबन्धन नगरेपछि माओवादी आफ्नो हैसियतमा आउँछ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट आजित भएर कांग्रेस र एमाले मिलेको बताएका छन् ।

नेपाली कांग्रेस दुल्लु नगरपालिकाले दैलेखको दुल्लुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताए ।

उनले भने, ‘कहिले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री भए कहिले कांग्रेससँग मिलेर, त्यसबाट आजित भएर अहिले हामी मिलेका हौं । अहिले ओली प्रधानमन्त्री बनेका छन्, आगामी निर्वाचन हाम्रो पार्टी सभापति नेतृत्वको सरकारले गर्छ । हामीले बाध्यकारी अवस्थामा विचार नमिल्नेहरुसँग गठबन्धन गरेका हौं ।’

उनले आगामी निर्वाचनमा कांग्रेस-एमालेले कसैसँग गठबन्धन नगर्ने सहमति भएको बताए ।

प्रवक्ता महतले भने, ‘हामीले एमालेसँग पनि भन्यौं, आउने निर्वाचन एक्लाएक्लै लडौं, हामीले गठबन्धन नगर्‍यौं । एमालेले गरिदिन्छ, २०७४ मा गर्‍यो, हाम्रो एकदमै कम सीट आयो । पछि हामी मिल्यौं, एमाले पछि पर्‍यो । त्यसैले हामी कसैले नगर्ने, हामी पनि नगर्ने, एमालेले पनि नगर्ने भएपछि माओवादीलाई पनि एक्लै लड्नुपर्ने बाध्यता हुन्छ । यो परिस्थिति भयो भने माओवादी पनि आफ्नो हैसियतामा आउँछ, सबैले आआफ्नो हैसियत थाहा पाउँछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर