सामाजिक सुरक्षा दिवसका अवसरमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजार पुरस्कार
काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा दिवसका अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । कोषले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा टिकटक प्रतियोगिता गर्न लागेको हो ।
कोषले सामाजिक सुरक्षासम्बन्धी एउटा गीत बनाएर त्यसमा टिकटक प्रतियोगिता गराउन लागेको हो ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जनाएको छ ।
योगदानमा आधारित समाजिक सुरक्षा कोषले यही मंसिर ११ मा सातौं सामाजिक सुरक्षा दिवस मनाउँदैछ । कोषले योगदानका आधारमा औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा प्रदान गरिरहेको छ ।
कोषले टिकटक प्रतियोगिताको लागि विभिन्न ८ वटा नियम तथा शर्त बनाएको छ । प्रतियोगिता सबै उमेर समूहका नेपालीका लागि गरिएको, कुनै प्रवेश शुल्क नलाग्ने, समय सीमापछि अपलोड गरिएका भिडियोलाई प्रतियोगितामा समावेश नगरिने जनाइएको छ ।
यदि कुनै पनि भिडियो जुन खतरनाक, अश्लील, आपत्तिजनक, अशोभनीय, अवैध, धोखाधडी वा अरूको अधिकार वा प्रतिलिपि अधिकार उल्लघंन भएमा स्वतः अयोग्य ठहरिने कोषले जनाएको छ ।
विजेता छनोट लाइक, शेयर, नियमको पालना र सिर्जनात्मकताको आधारमा गरिने, विजेतालाई फेसबुक, टिकटक वा सीधै म्यासेज गरी प्रतियोगिता सकिएको सूचित गरिनेछ ।