लामो समयसम्म सडकमै ट्रक पार्किङले समस्या – Nepal Press

लामो समयसम्म सडकमै ट्रक पार्किङले समस्या

रुपन्देही । लामो समयसम्म सडकमै ट्रक पार्किङ गरिँदा समस्या भएको व्यवसायीले गुनासो गरेका छन् । ट्रक पार्किङले पर्यटक र स्थानीय सर्वसाधारणलाई समस्या भएको व्यवसायीको गुनासो छ ।

होटल सनस्टार प्रा.लि.लुम्बिनीरोड, भैरहवाका सञ्चालक राजेश महोत्राले कृषि सामग्री कम्पनी लिमिटेड (कार्यालय)मा आउने ट्रकहरु लामो समयसम्म सडकमै पार्किङ गरिँदा समस्या भएको बताए ।

उनले भने, ‘समस्या समाधानका लागि सम्बन्धित कार्यालयसँग पनि कुराकानी गरेका छौं, समाधान हुन्छ भन्ने जवाफ आयो, तर हालसम्म पनि समाधान हुन सकेको छैन ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित एसियन बुद्ध होटलका सञ्चालक तिलकराम घिमिरेले लामो समयसम्म सडकमै ट्रक पार्किङ गरिँदा सवारी दुर्घटनाको जोखिम बढेको बताए ।

‘यसले आवातजावतमा समस्या भएको छ, केही हप्ता अगाडि हाम्रो होटलमा आएका पाहुनाको सवारीसाधन ट्रकमा ठोक्किएको थियो । धन्न ठूलो दुर्घटना हुन पाएन । त्यसले पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’ पर्यटन प्रवद्र्धनका लागि ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख तीर्थ न्यौपानेले भने व्यवसायीहरुले भनेको जस्तो समस्या नभएको दावी गर्छन् । आफ्नो कार्यालयभित्र पनि २५÷३० वटा मालबाहक सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेका कारण समस्या नरहेको उनले दावी गरे ।
विशेष गरी मल ल्याउने समयमा धेरै संख्यामा ट्रक आउने भए पनि यो अवस्था कहिलेकाही मात्रै हुने उनले बताए ।

‘हामीकहाँ मल ल्याउने समयमा मात्रै मालबाहक सवारी (ट्रक) को संख्या धेरै हुने हो, त्यो पनि कहिलेकाही मात्रै हुन्छ’न्यौपानेले भने, ‘हाम्रो कार्यालयभित्रै पार्किङ सुविधा भएका कारण सधै समस्या हुँदैन तर, कहिलेकाही भने ८०/९० वटा मालबाहक ट्रकहरु आउछन्, त्यति बेला सडकमा पार्किङ गर्नु परेपनि ठूलो समस्या भएको जस्तो लाग्दैन ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के।सी।ले भैरहवामा पार्किङ व्यवस्थापनका लागि सबै पक्ष मिलेर पहल गर्नुको विकल्प नभएको बताइन् । विशेषगरी भैरहवा भन्सार कार्यालय अगाडि तथा कृषि सामग्री कम्पनी लिमिटेड अगाडि मालबाहक ट्रकहरु सडक छेउमा पार्किङ गर्नुपर्ने समस्या रहेको उल्लेख गरिन् ।

‘भन्सार कार्यालयको आईसीपी नबन्दासम्म सडक छेउमै पार्किङ गर्नुपर्ने समस्या छ । यो समस्यालाई ट्राफिक प्रहरीले मात्रै केही गर्न सक्ने अवस्था छैन, सर्वपक्षीय छलफलबाट मात्रै समस्याको समाधान हुन सक्ला,’केसीले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *