अराजकता फैलाउने ९ युट्युब कारबाहीमा – Nepal Press

अराजकता फैलाउने ९ युट्युब कारबाहीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारबाही गरेको छ ।

तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार समेत गरेको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ ।

प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरण समेत राखिएको छ ।

काउन्सिलले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेको अराजकता रोक्न विशेष सक्रियता देखाइरहेको छ । यसअघि विभिन्न युट्युव च्यानल, फेसबुक पेजलाई तथ्यपूर्ण र सन्तलित सामाग्री दिन विशेष अपिल जारी गरेको थियो भने अटेर गर्नेमाथि कारवाही समेत गरेको छ ।

अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिई सूचना सामाग्री दिने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताको सीमामा बस्नुपर्ने बताए ।

’कानुनभन्दा माथि कोही छैन । अन्य निकायलाई प्रश्न उठाउने कुनै पनि सञ्चारमाध्यम, मिडियाको परिचय बोकेका सामाजिक सञ्जाल गैरजिम्मेवार र अनुत्तरदायी हुनुहुँदैन । प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता हुँदै होइन’, अध्यक्ष बस्नेतको भनाई छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *