नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको छ : मुख्यमन्त्री कार्की – Nepal Press

नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको बताएका छन् । आज सांझ विराटनगरमा विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

उनले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपाल को सफलताको लागी बधाइको हिस्सेदार रहेको बताए । उनले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गरे । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘के कस्तो सहयोग गर्नु पर्छ आफ्नो क्षमता भित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्न पाउँदा मलाई हर्षको अनुभुति भएको छ । नेपालको खेलकुदमा क्रिकेट प्रति चासो बढेको भएपनि सरकारले क्रिकेटको विकासमा यथोचित सहयोग गर्न सकिरहेको छैन ।’

कीर्तिपुरको रंगाशाला समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने उनले विश्वास व्यक्त गरे। उनले क्रिकेटका संरचनाहरु बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताए ।

कोशीको सान हाम्रो पहिचान भन्ने नारासहित नेपाल प्रिमियर लीगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्ने छ । त्यसमा उत्साह थप्न आज जर्सि साबर्जनिक गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मालगायतको सहभागीता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *