हनिट्रयापसम्बन्धी मुद्दा सरकारी वकिलमा- इन्स्पेक्टर शाही र पोखरेल फरार अभियुक्त, एसपी थापा जोगाइए
काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागमा कार्यरत रहँदा इन्स्पेक्टर बिनुकुमारी शाहीको संलग्नतामा भएको ‘हनिट्रयाप’ काण्डका प्रतिवादीविरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा पेश भएको छ ।
तर, इन्स्पेक्टर बिनुकुमारी शाही र सुनसरी इटहरी निवासी दर्शन पोखरेल पक्राउ परेका छैनन् । उनीहरूलाई फरार अभियुक्तका रूपमा मुद्दा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । आपराधिक लाभ र संगठित अपराधको महलमा मुद्दा पेश भएकाे उनले बताए ।
जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानले किटान गरेका ६ जना दोषीलाई नै प्रतिवादी बनाई मङ्गलवार मुद्दा पेश भएको हो । उक्त घटनाको अनुसन्धान सुरुमा जिल्ला प्रहरी परिसरले गरेको थियो । घटनामा उच्चपदस्थ प्रहरी अधिकृतसमेतको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ व्यक्तिसहित कागजातसमेत लिएर थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानपछि प्रतिवादीमध्ये इन्स्पेक्टर शाही र घटनामा आर्थिक व्यवस्थापन गर्ने इटहरी, सुनसरीका पोखरेललाई फरार अभियुक्त बनाई मुद्दा पेश गरिएको हो । उक्त घटनामा टेलिफोन सम्पर्क र आर्थिक व्यवस्थापनका विषयमा आशंकित एसपी कमल थापामाथिको अनुसन्धान भने जारी रहेको र तत्कालका लागि प्रतिवादी नबनाइएको प्रवक्ता बोगटीले बताए । ‘दुई जना प्रतिवादी र हराइरहेका केही दसी प्रमाण फेला परेपछि अन्य व्यक्तिहरूको संलग्नता पुष्टि हुनसक्छ, त्यसपछि अनुसन्धानमा दोषी देखिने व्यक्तिविरुद्ध मुद्दा चलाउन सकिन्छ’, बोगटीले बताए ।
एसपी थापाले उक्त घटनामा आफू संलग्न नरहेको भनी सिआइबीलाई बयान दिएका थिए ।
उक्त घटनामा ललितपुरस्थित प्रहरी परिसरले प्रहरी सहायक हवल्दार महेन्द्र हमालसहित ताज स्लाम, सुष्मा विक र भीमदेवी थापालाई पक्राउ गरेको थियो । पोखरेललाई इन्स्पेक्टर शाहीले बीच बाटोबाटै भगाएकी थिइन् भने आफू निलम्बनमा पर्नुअघि नै इन्स्पेक्टर शाही फरार भएकी थिइन् ।
असोज ६ गते ललितपुरस्थित प्रहरी प्रभाग भैसेपाटीमा सुस्मा विकले दिएको कुटपिटको जाहेरीका आधारमा राई थरका जग्गा कारोबारीलाई नियन्त्रणमा लिई त्यहाँकी इन्स्पेक्टर शाहीले आर्थिक लेनदेन गरेकी थिइन् । राई र विकबीच इटहरीमै भएको शारीरिक सम्पर्क, झैझगडालगायतका विषयमा ललितपुर प्रहरीको क्षेत्राधिकारमा पर्ने कार्यालयमा अस्वाभाविक गतिविधि देखिएपछि उक्त विषयमा जिल्ला प्रहरी परिसरले हस्तक्षेप गरेको थियो ।
भैंसेपाटीबाट इन्स्पेक्टर शाहीसहित उक्त घटनामा संलग्न सबै व्यक्तिलाई झिकाउने क्रममा ताज स्लमको आइफोन र दोषीमध्येका दर्शन पोखरेललाई बीचबाटोमै गायब पारिएको थियो ।
आफूमाथि मुद्दा चल्ने संकेत पाएसँगै इन्स्पेक्टर शाही सम्पर्कबाहिर रहिन् । हालसम्म उनी फरार छिन् ।
सिआइबी प्रवक्ता बोगटीले उनीसहित फेला पर्न बाँकी रहेका सामानको खोजीका निम्ति अलग्गै टोली परिचालित भएको बताए । ‘फरार व्यक्ति पक्राउ परेपछि लिइने बयान र हराएका प्रमाण फेला परेपछि यो मुद्दामा अरू पनि तानिन सक्छन्’, उनले भने ।