रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएकाे अनुमान
काठमाडौं । एमाले युवा नेता ऐन महरकाे जाहेरीमा पक्राउ परेकी रश्मिला धामी अस्पतालमा अचेत अवस्थामा छिन् । उनले अदालत परिसरमा पिएको पदार्थ मट्टितेल रहेको अनुमान चिकित्सकहरूले गरेका छन् ।
उच्च अदालत पाटनमा सादा पोशाकका प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य देखिने बस्तु सेवन गरेकी थिइन् । उपचारका निम्ति उनलाई जावलाखेलस्थित अल्का अस्पताल लगिएको थियो । त्यहाँ बिरामीको नाम टिपाउने क्रममा उनी बझाङ, बुंगल घर भएकी रश्मिला धामी नै भएको पहिचान खुलेको थियो । त्यसपछि उनी प्रहरीको नियन्त्रणमा त आइन्, तर उनको होस खुलेको छैन ।
उनलाई अस्पतालको आकस्मिक कक्षमा राखिएको ड्युटीमा खटिएका प्रहरीले बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको फरार प्रतिवादी खोजी गर्ने टोली उच्च अदालत पुगेकै बेला रश्मिला फेला परेकी थिइन् । तर, प्रहरीले उनी रश्मिला नै हुन् कि हैनन् भनी पहिचान गर्ने प्रयास गर्दागर्दै शंकास्पद बस्तु सेवन गरिन् ।
उनका विरुद्ध एमाले नेता ऐन महरले जिल्ला प्रहरी परिसर, काठमाडौंमा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी जाहेरी दिएका थिए । अस्पतालमा उपचारपछि उनलाई प्रहरी परिसरमा बुझाइने उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।