उत्पादन, खरिद र आयात नै नगरि करोडौँका बिल जारी गर्ने गिरोह भेटाएका छौं: महानिर्देशक आचार्य – Nepal Press

उत्पादन, खरिद र आयात नै नगरि करोडौँका बिल जारी गर्ने गिरोह भेटाएका छौं: महानिर्देशक आचार्य

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले उत्पादन, खरिद र आयात नै नगरि करोडौँका बिलहरू जारी गर्ने गिरोह भेटाएको खुलासा गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय विषयको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘कुनैपनि विक्रेताका सामान बिक्री गर्नुपर्‍यो भने तीन वटा स्रोत हुनुपर्छ । कि उसको उत्पादन हुनुपर्छ, कि उसले बजारबाट सामान किनेर ल्याएको हुनुपर्छ कि त उसले भन्सारबाट पैठारी गरेर ल्याएको हुनुपर्छ । अनि मात्रै उसले सामान बिक्री गर्नुपर्ने हुन्छ’, महानिर्देशक आचार्यले भने, ‘अहिले हामीले यति ठूलो नेटवर्क भेटाएका छौँ । जसको न कुनै उत्पादन छ, न कुनै खरिद छ, न त कुनै आयात छ । तर, करोडौँका बिलहरू जारी भइरहेका छन् ।’

यो गिरोहले कानुनलाई नै चुनौती दिएकाले यसलाई चाँडै कारबाही गरिने उनको भनाई छ । महानिर्देशक आचार्यले भने, ‘नेपालमा यति ठूलो गिरोह छ, जसले कानुनलाई चुनौती दिइरहेको छ । यो गिरोहले इमानदारिताका साथ काम गर्नेहरूको मन बिगारिरहेको छ । जसले गर्दा उनीहरूलाई तत्कालै कारबाही गर्नुपर्ने आवश्यकता छ । यो गिरोहहरूलाई राज्यले टुलुटुलु हेरेर बस्दैन । चाँडै नै कारबाही गर्छ ।’

उनले करको दायराभन्दा बाहिर रहेकाहरूलाई पनि दायरामा ल्याइने बताए । उनले भने, ‘करको दायरा भन्दा बाहिर व्यवसाय गरिरहेकाहरूले सधैँ उन्मुक्ति पाउँछु भन्ने सोचिरहनु भएन । सर्ट टम गेन, लङ टर्म पेन भन्ने उनीहरूले बुझे हुन्छ । करको दायरामा नआएका करदाताहरूलाई जसरी पनि करको दायरामा ल्याउँछौँ ।’

उनका अनुसार आयकरमा विभिन्न समस्या देखा परेका छन् । विभिन्न उद्देश्य देखाएर फर्म दर्ता गरिदिने तर मानिसहरू पछि बेपत्ता भइदिने गरेका छन् । अहिले पनि ५० प्रतिशत नन फाइल एप्रोपको सङ्ख्या छ ।

करदाता शिक्षा प्रभावकारी हुनुपर्ने उनको भनाई छ । ‘कर शिक्षाकाबारेमा नेपालीहरू धेरै पछाडि रहेको छ । करदाता शिक्षा कार्यक्रममा आइदिनुनभन्दा समेत आइदिनु हुन्न । देशभर कर शिक्षाका कार्यक्रमहरू गर्दा समेत सहभागिता अत्यन्तै कम रहेको छ । करदाता शिक्षा प्रभावकारी हुनुपर्छ’, उनले भने ।


प्रतिक्रिया

One thought on “उत्पादन, खरिद र आयात नै नगरि करोडौँका बिल जारी गर्ने गिरोह भेटाएका छौं: महानिर्देशक आचार्य

  1. नक्कली बील बनाउने गिरोहलाई हदैसम्मको कारवाही होस् । कारवाही सुरू गरेपछि उद्योग बाणिज्यका संघहरूले विरोधको विज्ञप्ति निकाल्छन् । अनि तिनलाई पनि नाङ्गेझार पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *