प्राविधिक शिक्षाको मापदण्ड संशोधन कि पूरै सुधार ?
प्राविधिक कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीको संख्या अनवरत ओरालो लाग्न थालेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले भर्नासम्बन्धी मापदण्डलाई संशोधन गर्दै लगेको छ । विगत केही वर्षयता भर्ना मापदण्ड र प्रवेश परीक्षालाई सहज बनाइएको छ, तर भर्ना मापदण्डलाई जतिसुकै संशोधन गरे पनि विद्यार्थीहरुको संख्या भने उकालो नलागेर द्रुततर गतिमा ओरालो लागिरहेको छ । अर्थात मापदण्ड संशोधन प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउने अस्त्र रहेनछ भन्ने कुराको गतिलोसँग पुष्टि भइसकेको छ ।
तर पनि सीटीईभीटीको नेतृत्व एकोहोरो रुपमा मापदण्डलाई नै मूल समस्या देखेर संशोधनमा मात्रै केन्द्रित देखिन्छ । विद्यार्थी संख्या ओरालो लाग्नुमा एसईईका लागि तोकिएको मापदण्ड नै बाधक हो भन्ने सतही सोचका कारण समग्र प्राविधिक शिक्षाको अवस्था नाजुक बन्दै गएको छ । शिक्षाको क्षेत्रमा अहिले नेपालका लागि केही जटिल काम छ भने त्यो प्राविधिक शिक्षालय सञ्चालन गर्ने काम नै भएको छ । तलाउको पानी धमिलो हुन तलाउमा फालिएको ढुँगाभन्दा पनि त्यहाँ वर्षाैंदेखि रहेको हिलोको भूमिका हुन्छ भन्ने कुरा सीटीईभीटीको नेतृत्वलाई बुझाउन बाँकी देखिन्छ ।
नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको संख्यालाई विश्लेषण गर्ने हो भने अत्यन्त नाजुक देखिन्छ । प्रवेश परीक्षामा विद्यार्थीहरुको निराशाजनक सहभागिताका कारण सीटीईभीटीले आफ्ना आंगिक शिक्षालयमा सञ्चालन भएका केही कार्यक्रम बन्द गर्ने नीतिसमेत बनाइसकेको छ । यो समय भनेको सीटीईभीटीका लागि संकटपूर्ण समय हो, तर विडम्बना राज्य यतिसम्म निरीह छ कि कोमामा जान लागेको एउटा संस्थाको नेतृत्वकर्ता छनोटका लागि विलम्ब गरिरहेको छ । सीटीईभीटीको उपाध्यक्षका लागि प्रक्रिया सुरु भएको लामो समय भइसक्दा पनि अझै टुंगो लाग्न सकेको छैन । एउटा संस्थाको नेतृत्वकर्ता नै टुंगो लगाउन भइरहेको विलम्बले संस्थाको भविष्यका लागि निकै गम्भीर असर पर्ने देखिन्छ ।
प्रवेश परीक्षामा विद्यार्थीहरुको निराशाजनक सहभागिताका कारण सीटीईभीटीले आफ्ना आंगिक शिक्षालयमा सञ्चालन भएका केही कार्यक्रम बन्द गर्ने नीतिसमेत बनाइसकेको छ ।
विद्यार्थी भर्ना मापदण्डलाई पछिल्लो पटक एसईई परीक्षामा सहभागी भएमात्रै पनि प्रि-डिप्लोमा तहमा अध्ययन गर्न पाउने गरी संशोधन गरिएको छ । एसईई पास हुन नसकेर के गर्ने भन्ने अन्योलमा पुगेका विद्यार्थीका लागि यो केही राहतपूर्ण नीति जस्तो देखिए पनि एसईई दुई पटकसम्म पनि उत्तीर्ण गर्न नसक्ने शैक्षिक अवस्था भएको विद्यार्थीले अध्ययन गर्नसक्ने पाठ्यक्रम छ कि छैन ? त्यो मुख्य कुरा हो ।
यस्ता अनेकौं कुरालाई विश्लेषण गर्न छाडेर भर्ना मापदण्डलाई मात्रै कारक देख्ने सीटीईभीटीको यो ढिपीपूर्ण नीति देख्दा अझै पनि भित्री अवयवहरुलाई सुधार गर्नु आवश्यक छ भन्ने चेतको विकास हुन नसकेको देखिन्छ । यसो भनौं, सीटीईभीटीका आन्तरिक कुराहरुको सुधारका लागि नेतृत्त अझै पनि तयार रहेको छैन । हेर्दा सीटीईभीटीतर्फ विद्यार्थीको आकर्षणको कुरा देखिए पनि यो समग्र प्राविधिक शिक्षासँग जोडिएको विषय हो । संसारैभरका शिक्षालयहरु प्राविधिक शिक्षातर्फ अगाडि बढिरहेको अवस्थामा हामी किन ओरालोमा छौं भन्ने कुरा नै गम्भीर विषय हो । कमजोर विद्यार्थी अर्थात कम अंक ल्याएको विद्यार्थीलाई भर्ना गर्न उत्प्रेरित गर्नुभन्दा राम्रा विद्यार्थीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने कुरा सीटीईभीटीले सोच्नुपर्ने हो कि होइन ? किन यसबारेमा समग्र नेतृत्वको ध्यान जान सकेको छैन ?
प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या विस्तारै ओरालो लाग्न थालेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १.६ जीपीए अर्थात् केवल पासमात्रै भए पनि डिप्लोमा तहको प्राविधिक शिक्षा अध्ययन गर्न पाउने गरी भर्ना मापदण्डलाई संशोधन गरेको छ । यसले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने सबै विद्यार्थीहरुका लागि ढोका खोलेको भए पनि वैज्ञानिक र वस्तुपरक मान्न सकिँदैन । अहिले पनि सीटीईभीटीको पास प्रतिशत १० बाट माथि बढ्न सकेको छैन ।
कुन क्षमताको विद्यार्थी सीटीईभीटी कार्यक्रममा भर्ना भएको छ भन्ने कुराको हेक्का पाठ्यक्रम बनाउँदा राख्नैपर्दछ । मूल कुरा विद्यार्थीले पढ्न पाउनेभन्दा पनि विद्यार्थीको हैसियत र आवश्यकता मापन गरेर पाठ्यक्रम बनाउनु हो ।
एक साता अगाडि आएको पहिलो सेमेस्टरको नतिजा हेर्ने हो भने करिब ५० प्रतिशत विद्यालयले शून्य नतिजा ल्याएका छन् । अन्य शिक्षालयहरुको नतिजा पनि खासै उत्साहजनक देखिँदैन । यस्तो नतिजा आउनुको कारण स्पष्ट नै के देखिन्छ भने कमजोर विद्यार्थीलाई भर्नाका लागि योग्य बनाएर पाठ्यक्रमलाई सुधार नगर्नु नै हो । कुन क्षमताको विद्यार्थी सीटीईभीटी कार्यक्रममा भर्ना भएको छ भन्ने कुराको हेक्का पाठ्यक्रम बनाउँदा राख्नैपर्दछ । मूल कुरा विद्यार्थीले पढ्न पाउनेभन्दा पनि विद्यार्थीको हैसियत र आवश्यकता मापन गरेर पाठ्यक्रम बनाउनु हो ।
प्राविधिक शिक्षाको दुरवस्थाबाट छुटकारा पाउन आवश्यक थियो, पाठ्यक्रम परिवर्तनको, तर संशोधन भएको छ भर्ना मापदण्ड । हामीले परिस्थितिको वस्तुपरक विश्लेषण गर्न सकेनौं भने एउटा गतिलो गरिरहेको संस्था नै धराशायी अवस्थामा पुग्नसक्छ । सीटीईभीटीको विगतको साखलाई पुनर्जीवन दिने हो भने केही कुराहरुको संशोधन होइन, परिवर्तन आवश्यक रहेको देखिन्छ । यी कुरामा केही परिवर्तन गर्ने जाँगर चलाउन सकेको खण्डमा केही न केही सकारात्मक परिणाम अवश्य पनि देखिनेछ ।
उद्योगमुखी अध्यापन
डिप्लोमा तहको कार्यक्रममा विद्यार्थीले उद्योगमा पाइलै नटेकेर पनि पास गर्न सकिने खालको पाठ्यक्रम रहेको छ । विद्यालयहरुले ल्याबमा गराउने अभ्यासमा मात्रै हाम्रो प्राविधिक शिक्षाको सीप निर्भर रहेको देखिन्छ । पहिलो कुरा सातामा आधा समय विद्यालय र आधा समय कार्यस्थल अनिवार्य गरिनुपर्दछ । वर्कशप र ल्याबमा गरिने नमुना अभ्यासलाई मात्रै सीप सिकाइको मुख्य आधार मान्नुहुँदैन । अहिले पनि स्वास्थ्यबाहेकका कार्यक्रममा खासै कार्यस्थल अभ्यासलाई जोड दिइएको छैन । केवल कर्मकाण्डीका रुपमा मात्रै राखिएको छ ।
अहिलेको तीन वर्षलाई कायमै राखेर विद्यार्थीले २ वर्ष शिक्षालयमा केवल प्राविधिक कुरामात्रै अध्ययन गर्ने र एक वर्ष कार्यक्रमगत कम्पनी या सम्बन्धित उद्योगमा काम गर्ने गरी पाठ्यक्रम परिवर्तन गर्नु अहिले अत्यावश्यक छ ।
त्यसकारण पहिलो कुरा भनेको प्राविधिक शिक्षाको अध्ययन केवल शिक्षालयमा मात्रै हुनुहुँदैन, अनिवार्य रुपमा उद्योगमा गर्नुपर्दछ । यसले गर्दा बजारमा के कस्ता उद्योगहरु स्थापना भएका छन्, के कस्तो सीपको माग छ भन्ने कुराको मापन भई बजार मागअनुसारका कार्यक्रम सञ्चालन हुने अवस्था रहन्छ । बाली विज्ञान अध्ययन गरेको विद्यार्थीले अहिले पनि खेतबारीमा पुगेर बालीनालीका बारेमा खुलेर कुरा गर्न सक्दैन भने त्यसले पासमात्रै गरेको अर्थ के रह्यो र ?
पाठ्यक्रम परिमार्जन
अहिले जोडदार रुपमा उठिरहेको कुरा भनेको पाठ्यक्रमगत त्रुटि नै हो । विद्यार्थीको क्षमता र अपेक्षा अनि जनशक्तिको आवश्यकतालाई पाठ्यक्रमले गतिलोसँग सम्बोधन गर्न सकेको छैन । अहिले भइरहेको पाठ्यक्रमले विद्यार्थीहरुलाई दक्ष बनाउन नसकेपछि यसको केही परिमार्जन गर्नमा ध्यान दिनुपर्दछ । अहिले अधिकांश शिक्षालयमा पहिलो सेमेस्टर या पहिलो वर्षमै ५० प्रतिशतभन्दा बढी विद्यार्थीले विद्यालय छाड्नुपर्ने अवस्था सृजना भएको छ । यसमा अधिकांश विद्यार्थीहरुले कक्षा छाड्नुको कारण जटिल विज्ञानका विषयहरु नै रहेका छन् ।
सीटीईभीटीका अधिकांश कार्यक्रमहरुमा यो विषय निकै जोडदार रुपमा उठ्ने गरेको छ, तर पनि सम्बोधन गर्नमा भने सीटीईभीटीले तदारुकता देखाउन सकेको छैन । अहिलेको तीन वर्षलाई कायमै राखेर विद्यार्थीले २ वर्ष शिक्षालयमा केवल प्राविधिक कुरामात्रै अध्ययन गर्ने र एक वर्ष कार्यक्रमगत कम्पनी या सम्बन्धित उद्योगमा काम गर्ने गरी पाठ्यक्रम परिवर्तन गर्नु अहिले अत्यावश्यक छ ।
प्रविधि भन्ने कुरा दिनानुदिन अपडेटेड भइरहेको अवस्थामा दसौं वर्षसम्म पनि पाठ्यक्रम परिमार्जन गर्न सकिएन भने त्यसले कसरी विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक बजारमा अब्बल बनाउन सकिन्छ ?
यसका साथै कतिपय पासै गर्न नसक्ने विद्यार्थीहरुलाई बिचमै अलमल पार्नुभन्दा उसले सिकेको सीपलाई आधार मानेर त्यसको सीप परीक्षण गरी तहगत रुपमा प्रमाणपत्र दिने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ । यसरी एउटा कुरामा असफल भए अर्को वैकल्पिक मार्ग पनि हुनसक्छ भन्ने कुराका बारेमा विद्यार्थीलाई विश्वास दिलाउनुपर्दछ ।
पाठ्यक्रमको अर्को त्रुटि भनेको यसलाई नियमित रुपमा अपडेट नगर्नु पनि हो । केही कार्यक्रमको कुरा गर्ने हो भने दसौं वर्ष अगाडि बनाइएका पाठ्यक्रमहरु अहिले पनि अध्यापन हुने गरेका छन् । प्रविधि भन्ने कुरा दिनानुदिन अपडेटेड भइरहेको अवस्थामा दसौं वर्षसम्म पनि पाठ्यक्रम परिमार्जन गर्न सकिएन भने त्यसले कसरी विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक बजारमा अब्बल बनाउन सकिन्छ ? यसको सामान्य उदाहरण हेर्ने हो भने एआईको अध्ययनविना सूचना प्रविधि क्षेत्रको विद्यार्थीले आफूलाई कसरी बजारमा बिकाउन सक्छ ? तर हाम्रो सूचना प्रविधि विषयको अहिले पनि वर्षाैं पुरानो पाठ्यक्रम अध्यापन भइरहेको छ ।
सीटीईभीटीलाई पुरानै लयमा हिँडाउन अब केही नयाँ ढंगले सोच्नैपर्ने अवस्था आएको छ । यो संकटपूर्ण अवस्थामा पनि हामीले केही नयाँ ढंगले काम गरेनौं भने इतिहासको पानामा मात्रै सीमित हुने अवस्था नआउला भन्न पनि सकिँदैन ।