स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण उल्झनमा, क्यानमाथि बोर्डले एक्सन लिने
विज्ञापन बोर्डका अध्यक्ष हुमागाईँ भन्छन्- स्टार स्पोर्ट्सले नेपालमा विज्ञापन बजाउन पाउँदैन, प्रसारण रोक्न चिठी काट्छौं
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर गम्भीर विवादको सिर्जना भएको छ ।
क्लीन फिड सम्बन्धी कानून उल्लंघन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गराउन लागिएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।
क्यानले गत शुक्रवार पत्रकार सम्मेलन गर्दै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको जानकारी दिएको थियो । त्यस लगत्तै सञ्चार र विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा प्रेस विज्ञप्ति जारी गरेर उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् । सम्झौता अवैधानिक रहेको उनीहरूको ठहर छ । साथै, विज्ञापन क्षेत्रको नियमनकारी निकाय विज्ञापन बोर्डले पनि यसप्रति ध्यानाकर्षण व्यक्त गरेको छ ।
क्यानले स्टार स्पोर्ट्ससँग भएको सम्झौता पारदर्शीरुपमा सार्वजनिक गरेको छैन । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा तिरेर प्रशारण अधिकार दिइएको स्वीकारोक्ति गरे पनि कति रकम भन्ने खुलाएका छैनन् । सम्झौताका सर्तहरू पनि गोप्य राखिएको छ ।
बुझिए अनुसार स्टार स्पोर्ट्समा नेपाली विज्ञापन बजाउने गरी सम्झौता भएको हो । क्यानले स्टार स्पोर्टसमा विज्ञापन बज्ने आश्वासन दिएर एनपीएलका लागि ठूला प्रायोजकहरू खोजेको थियो । एनपीएलको टाइटल प्रायोजन पाँच वर्षको लागि सिद्धार्थ बैंकले गरेको छ । यो कति रकमको प्रायोजन हो भन्ने क्यानले बताएको छैन । यद्यपि, चर्चामा आएअनुसार सिद्धार्थ बैंकले प्रत्येक वर्ष पाँच करोड रुपैयाँ क्यानलाई दिने सम्झौता छ । यसैगरी, एनसेलसँग पनि महँगो सम्झौता भएको छ ।
स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भनिएपछि विज्ञापनदाताहरू आकर्षित भएका हुन् । तर, स्मरणीय के छ भने नेपालमा स्टार स्पोर्ट्स विज्ञापनसहित प्रशारण हुन सक्दैन । विदेशी टिभी च्यानलहरू विज्ञापनरहित मात्रै प्रशारण हुनुपर्ने प्रावधानसहित २०७७ देखि क्लीन फिडसम्बन्धी कानून कार्यान्वयनमा आएको थियो । जस अनुसार अहिले नेपालमा विदेशी च्यानलहरू क्लीन फिडमा प्रशारण हुँदै आएका छन् । तर, यो कानूनविपरित स्टार स्पोर्ट्समा विज्ञापन बजाउने लोभ क्यानले विज्ञापनदाताहरूलाई देखाएको हो ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले मिडियामा आएका समाचार र तीन संस्थाहरुको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा सकेसम्म आजै क्यान र प्रशारण विभागलाई पत्र लेख्ने जानकारी पनि गराए ।
उनको प्रतिक्रिया यस्तो छः
‘हामीलाई औपचारिकरुपमा जानकारी नआए पनि क्यान र स्टार स्पोर्ट्सबीच सम्झौता भएको कुरा मिडियाबाट थाहा पायौं । साथै, तीनवना संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्ति पनि हाम्रो नोटिसमा आएको छ । उहाँहरुले उजुरी दर्ता गराउने पनि भनिरहनु भएको छ । सम्झौताभित्रका शर्तहरु के–के छन् भन्ने हामीलाई थाहा भएन । तर, नेपालमा कुनै पनि विदेशी टेलिभिजन च्यानल विज्ञापनसहित प्रशारण हुन सक्दैनन् । स्टार स्पोर्ट्समा विज्ञापनसहित प्रत्यक्षप्रशारण गराउने तयारी गरिएको भन्ने पनि सुन्नमा आएको छ । त्यसो गरियो भने पूर्णरुपमा अवैध हुन्छ । हामी कारबाही प्रक्रियामा जान्छौँ । संस्थाहरुबाट उजुरी आयो भने त्यसमै टेकेर वा नआएमा पनि हामी आफ्नो तरिकाले एक्सन लिनेछौं सम्भवतः आजै क्यान र सूचना प्रशारण विभागलाई पत्र जान्छ ।’
यसैबीच, मिडिया सोसाइटी र विज्ञापन सम्वन्धी संघसंस्थाहरुले नेपाल खेलकुद परिषद, विज्ञापन बोर्ड, क्यान लगायत निकायमा सम्झौताविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।
सम्झौतामाथि कानूनी चुनौती दिन अदालतसम्म जाने उनीहरूको योजना रहेको छ ।