प्रदेश सडक सन्जाल गुरूयोजना अन्तिम चरणमा
देउखुरी । लुम्बिनी प्रदेशको सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन भएका योजना कार्यान्वयनलाई तीब्रता दिएको छ ।
चालु आर्थिक वर्षमा विनियोजन भएका सबै आयोजनाको काम जेठ महिनाभित्र सम्पन्न गर्नेगरी कार्यसम्पादनको काम अघि बढेको हो । असारे विकासलाई निरुत्साहित गर्न जेठ महिनाभित्र सबै निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
मन्त्रालयमा चौमासिक समीक्षा कार्यक्रमको आयोजना गर्दै मन्त्री ढकालले योजना कार्यान्वयनलाई तीब्रता दिन निर्देशन दिए ।‘असारे विकासको प्रवृत्ति रोक्नका लागि यसपालि कडाईकासाथ कार्यसम्पादनको कामलाई अघि बढाइएको छ’मन्त्री ढकालले भने,‘कार्ययोजना निर्माण गरेर कामलाई गति दिइएको छ भने गुणस्तरीयताको बारेमा आयोजनाको अनुगमनलाई पनि तिब्र पारेका छौं ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्ने चालु आर्थिक वर्षमा दुई हजार एक सय २० योजना छन् । जस मध्य बहुवर्षीय आयोजनाको रुपमा ८४ वटा आयोजना प्रस्तावित छन् ।
यो चार महिनाको अवधिमा ३८ वटा आयोजना सम्पन्न भइसकेका छन् भने कार्यान्वयनको चरणमा सात सय ७९ वटा आयोजना रहेको मन्त्रालयलका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए ।‘यो चार महिनाको अवधिमा योजनाहरु ठेक्का लगाउन चाहिने कार्यविधिहरु निर्माण गर्यौं । ठेक्का पनि लगायौं । कार्यान्वयनको गति बढेको छ’सचिव पाण्डेले भने,‘सबै हिसावले कार्यसम्पादनलाई उत्कृष्ट बनाउनेगरी काम अघि बढेको छ ।’
नौं सय २ आयोजना खरिद पक्रियामा रहेका छन् । जम्मा आयोजनामध्ये दुई सय ८९ वटा आयोजना अव कार्यान्वयनमा लैजाने अन्तिम तयारी छ । कार्यान्वयनको चरणमा रहेका आयोजनामध्ये महिनाको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
दश किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । ६ किलोमिटर सडक नयाँ ट्याक खोलिएको छ । २४ किलोमिटर सडक विस्तार गरिएको छ । ६ किलोमिटर सडक ग्राभेल गरिएको छ । ढलान गरेको चार सय मिटर पक्कि सडक निर्माण भएको छ ।
कल्भर्ट तथा साना पुल पुलेसा ३० वटा सम्पन्न भएको बार्षिक समीक्षामा उल्लेख गरिएको छ । पक्की नाला १३ किलोमिटर निर्माण गरिएको छ । एक हजार नौं सय घनमिटर तारजाली सहितको टेवा पर्खाल निर्माण गरिएको छ ।
पक्की मेसिनरी टेवा पर्खाल दुई हजार चार सय घन मिटर निर्माण गरिएको छ । यो अवधिमा ८ वटा सडक पुल र दुई वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च ६ दशमलव ८ प्रतिशत पु¥याएको जनाएको छ । अव पुँजीगत खर्चको दर ह्वात्तै बढ्ने मन्त्रालयको भनाई छ ।
‘असार होइन, जेठभित्रै काम सक्छौं’
भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन चरणमा रहेका मध्य ८ वटा पक्कि पुल, २० किलोमिटर सडक कालोपत्रे, दुई वटा झोलुंगे पुल यो चार महिनाको अवधमिा सम्पन्न गर्दै योजना कार्यान्वयनलाई तिरीब्र पारेको छ ।
असारे विकास प्रवृत्तिलाई निरुत्साहित गर्न जेठ महिनाभित्र निर्माणको काम सक्नेगरी मन्त्रालयले बनाएको योजना कार्यान्वनयमा लगिएको हो ।
प्रादेशिक सडक गुरुयोजना अन्तिम चरणमा
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । अब मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लग्न बाँकी रहेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको मन्त्री ढकाललको भनाई छ ।
लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।