कम्बोडिया पुग्यो पाँच दलको टोली, सभामुख पनि आज उड्दै
काठमाडौं । नेपालमा तीन दिनदेखि बहसको विषय बनिरहेको छ ‘कम्बोडिया’ । व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दावी सहित एउटा भिडिओ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा तरंग उब्जिएको थियो । अहिले प्रसाईं आफैँ फेक डकुमेन्ट बनाएर दुष्प्रचार गरेको आरोपमा पक्राउ परेका छन् ।
ठीक यही बेला सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । यद्यपि, दुर्गा प्रसाईं प्रकरणसँग यो भ्रमणको लेनादेना छैन । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुविर महासेठ छन् ।
यस्तै, कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।
५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औं अधिवेसनमा भाग लिन उनीहरु त्यहाँ गएका हुन् ।
भट्टराई उक्त संस्थाको स्थाई समिति सदस्य समेत छन् । एमालेले भोलि काठमाडौंमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो । तर, उनी आफैँ विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको छ ।
एमालेका एक नेताले पार्टीको यति गहन जिम्मेवारी छोडेर भट्टराई सामान्य कार्यक्रममा विदेश उडेको भन्दै असन्तुष्टि प्रकट गरे ।
उनले भने, ‘उहाँ विदेश विभाग प्रमुख हुनुभएको बेलामा त्यस संस्थाको स्थाइ समिति सदस्य हुनुहुन्थ्यो । तर, अहिले उहाँ विदेश विभागमा हुनुहुन्न । नेपालमा पार्टीले दिएको महत्वपूर्ण जिम्मेवारी छोडेर त्यहाँ जानुको कुनै औचित्य थिएन ।’
आजै सभामुख देवराज घिमिरे पनि कम्बोडिया उड्दैछन् । दलहरुको टोलीभन्दा सभामुखको भ्रमणको प्रयोजन फरक छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको होस्ट कम्बोडियाले गर्दैछ ।
त्यसमा सभामुखलाई निमन्त्रणा आएको थियो । कम्बोडियाको चर्चा र सभामुखको भ्रमणको कुनै सम्वन्ध नरहेको अधिकारीले नेपाल प्रेसलाई बताए ।