नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौंमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ ।
राजधानी काठमाडौंको संवाद डबलीमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको हो ।
पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने बताए ।
उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तिय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत बास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधिन संयुक्त सरकार विकल्प भएको बताए । उनले अहिले देश पराधिन अवस्थामा पुगेको समेत बताए ।
उनले भने, ‘देश अहिले पराधिन अवस्थामा गुज्रिरहेको छ । अहिलेको व्यवस्था असफल भइसकेको छ । संविधानले पनि जनताको अधिकारको रक्षा गर्न नसक्ने ठाउँमा पुगेकोले यसलाई भंग गरेर देशलाई स्वाधिन बनाउन सबै राजनीतिक दलको सहभागितामा स्वाधिन संयुक्त सरकार गठन गरिनुपर्छ । संयुक्त सरकार जनताको अधिकारको रक्षा गर्दै समाजवादी बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।’
यही मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सन् २०१५ मे मा चीन र भारतबीच भएको समझदारीको २८ औं बुँदाबारे कुरा उठाउन पनि बास्तोलाले सुझाव दिए । उक्त बुँदामा चीन र भारतले नेपालीभूमि लिपुलेकलाई आफ्नो भूमिझैं गरी भएकोले उक्त समझदारीलाई खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए ।
त्यस्तै, कालापानी, लिम्पियाधुरा–लिपुलेक लगायत नेपाली भूमि तत्काल छोड्न समेत नेकपा बहुमतले पार्टीले माग गरेको छ । उसले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खाजेर गर्न समेत माग गरेको छ । सरकारी कार्यालयमा राखिएको निजी बैंकका एटिएमलगायत वित्तिय कारोबार बन्द गरी सरकारी बैंकको सेवा सञ्चालन गर्न समेत बहुमतले माग राखेको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति जोइ बाइडनले रुसी भूमिमाथि लामो दुरीका हतियार प्रहार गर्न अनुमति दिएर रुस–युक्रेन युद्धलाई थप भड्काउन लागेको भन्दै बास्तोलाले युद्ध रोक्नुपर्ने बताए । उनले इजरायलले मध्य पूर्वमा नरसंहार मच्चाएको भन्दै तत्काल बन्द गर्नुपर्ने समेत बताए ।