राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे चीन भ्रमणबाट स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छन् ।
जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फर्किएकी हुन् ।
चीन भ्रमणका क्रममा राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरसँग बेइजिङमा भेटवार्ता गरेकी थिइन् ।
भेटवार्ताका क्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको तथा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याइन् ।
कार्तिक २८ देखि ३० गते सम्म भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गरेकी थिइन् । भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण पनि गरिन् ।