पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ – Nepal Press

पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ

चितवन । यहाँको होटल सञ्चालकले १५ वर्षका दुई बालिका र एक महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको अभियोगमा दर्ता भएको मानव बेचबिखन र बलात्कार मुद्दाका तीन अभियुक्तलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ ।

चितवनको भरतपुर ७ मा रहेको न्यू फेमिली रेष्टुरेन्ट एण्ड लजका सञ्चालक अप्सरा ढकाल, अप्साराका श्रीमान भक्ति बिलास घिमिरे र दुई बालिकालाई कपडा पसलमा काम लगाइदिने आश्वासन दिएर होटलमा पुर्याउने शान्ति भन्ने कुमारी गुरुङलाई जिल्ला अदालत चितवनले सफाइ दिएको हो ।

दुई बालिकालाई कपडा पसलमा काम लगाइदिन्छु त्यस बापत महिनाको ७/८ हजार रुपियाँ दिन्छु भन्ने आश्वासन दिएर गत बैशाख १७ गते आफूसँग लगेकी शान्तिले १५ वर्षकी छोरी र १५ वर्षकी नातीनीलाई लगेको जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको जाहेरीमा उल्लेख गरेकी थिइन् ।

जिल्ला अदालत चितवनमा दायर अभियोगपत्रमा उल्लेख गरिएअनुसार जाहेरवाला मैगुम (क) (प्रहरीले दिएको नाम) की महिलाले पहिलो श्रीमानको मृत्युपछि विवाह गरेको दोस्रो श्रीमानबाट जन्मिएकी छोरी र उनको दिदीको नातिनीलाई शान्तिले उनकै कोठामा पुर्याएर लुगा पसलमा काम लगाइदिने भनेकी थिइन् ।

शान्तिको विश्वासमा परि लुगा पसलमा काम गर्न लैजाने भनेर पठाएका दुबै बालिकालाई बैशाखको १७ गतेदेखि जेठको १२ गतेसम्म होटलमा राखेका थिए । बिहानदेखि राती १० बजेसम्म यौन व्यवसाय गर्न लगाउने, अप्राकृतिक तरिकाबाट पनि नचिनेका पुरुषसँग सम्पर्क राख्न लगाउने भएपछि बालिकाहरुले उनलाई खबर गरेका थिए ।

त्यसपछि उनीहरु नै प्रहरीमा आएर जाहेरी दिएका हुन् । जाहेरी पछि डाक्टरको जाँच प्रतिवेदनमा दुबै बालिकाको यौनाङ्गमा घाउ रहेको प्रतिवेदन दिएका थिए । बालिकाहरुलाई यौन व्यवसायमा लगाएको थाहा पाएपछि चितवन प्रहरीले उक्त होटलमा अनुसन्धानका क्रममा ४ सय ४६ थान प्रयोग नगरिएका कण्डम समेत बरामद गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी, प्रहरीले अनुसन्धानमा भाँडा माझ्ने काममा राखेकी महिलालाई समेत यौन व्यवसायमा लगाउने पत्ता लागेपछि उद्दार गरि ल्याएको थियो । ति महिलाले पनि होटल सञ्चालक दुबै जना विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । शारीरिक परीक्षणमा ति महिलालाई भिरिङ्गी रोग लागेको, शरीरमा घाउ भएको समेत देखिएको जनाइएको थियो ।

त्यति मात्रै नभएर बालिकालाई होटल सञ्चालक भक्ति विलास घिमिरले समेत बलात्कार गरेको बयानपछि घिमिरे विरुद्ध बलात्कारको अभियोग समेत लगाइएको थियो । तीन जनाको जाहेरी पछि होटल सञ्चालक पवित्रा र शान्ति भन्ने कुमारीलाई नियन्त्रणमा लिएको थियो । भक्ति विलास घिमिरे चाहिँ फरार रहेका थिए ।

आफैं प्रहरीकहाँ पुगेर जाहेरी दिएका बालिकाहरुले अदालतको बकपत्रका क्रममा भने बयान परिवर्तन गरेका थिए । सोही परिवर्तित बकपत्र र अभियुक्तको इन्कारी बयानलाई आधार मानेर जिल्ला न्यायाधीवक्ता केदारनाथ पौडेलले बुधबार अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए ।

जिल्ला अदालत चितवनले यसअघि पनि क्यान्सरगेट नजिकै एक होटलमा उमेर नपुगेका दुई बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको र प्रहरीले घटनास्थलबाट नै बालिकाको उद्धार गरेको मुद्धामा पनि आरोपीलाई फैसला दिएको छ ।

अहिले पनि यहि प्रकृतिका चार वटा मुद्धा जिल्ला अदालत चितवनमा चलिरहेको छ । तर, पटक पटक मानवबेचविखन तथा ओसारपसार अभियोगका अभियुक्तले अदालतबाट सफाइ पाउँदा यस क्षेत्रमा काम गर्नेहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलले उक्त मुद्धामा आफूहरुले पुनरावेदन गर्ने जानकारी दिए । माइती नेपाल चितवनका इश्वर गिरी अदालतमा पुग्दा विभिन्न प्रभावमा परेर बालिकाहरु होस्टायल हुने अवस्था रहेपनि अन्य प्रमाणको समेत प्रहरी अनुसन्धानबाट आएका आधारहरु हेर्नुपर्ने बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर