हवाई भाडामा अनियमितता रोक्न सहसचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन
काठमाडौं । नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारी रोक्न सहसचिवको नेतृत्वमा कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव एवम नागरिक उड्डयन महाशाखा प्रमुख इन्दु घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रीस्तरीय निर्णय गर्दै जतिसक्दो चाडै प्रतिवेदन पेश गर्नेगरी ७ सदस्यीय कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव एवम प्रवक्ता रामकृष्ण लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए । उक्त कार्यलदमा नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान)का उपप्रबन्धक ज्ञानेन्द्र भुल सहित २ जना, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागका निर्देशक नेपाल प्रहरीका २ जना अधिकृत र मन्त्रालयकै एक जना अधिकृत सदस्य रहेका छन् ।
प्रवक्ता लामिछानेका अनुसार कार्यदलले बिहीबारदेखि नै काम सुरु गरेको र बेला बेलामा हुने गरेको चर्को भाडा नियन्त्रणका लागि कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । कार्यदलले कोभिड महामारीको समयमा गरिएको अध्ययन प्रतिवेदनले सिफारिस गरेका कदमको समेत विश्लेषण गर्ने जनाइएको छ ।
बुधबार पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक वायुसेवासँग टिकटको मूल्य र उपलब्धताबारे विस्तृत जानकारी मागेकोमा अधिकांश वायुसेवाले बिहीबार नै आवश्यक विवरण बुझाइसकेको र बाँकी विवरण यो साताभित्र प्राप्त भई सक्ने प्रवक्ता लामिछानेले जानकारी दिए ।