‘हिजो काठमाडौँबाट सुदूरपश्चिम हेपियो, आज सुदूरपश्चिमबाट बाजुरा हेपिएको छ’
बाजुरा विकट होइन सम्भावनाले भरिएको क्षेत्र हो
बाजुरा । मानव विकास सूचकाङ्कमा पुछारमा पर्छ बाजुरा । बाजुराका पनि विकट क्षेत्रमा अझै जनजीवन कष्टकर छ । बर्सभरि खान पुग्ने अवस्था छैन । नुन र चामलका लागि महिना दिन कुर्नुपर्ने र घण्टौँ लाइन बस्नु पर्ने बाध्यता अझै अन्य भएको छैन ।
समस्यामा मात्रै छैन बाजुरामा सम्भावना पनि त्यति कै छ । तर, अझै पनि सम्भावनाहरू उजागर हुन सकेको छैन । नागरिकहरूको सबै भन्दा नजिकका सरकार स्थानीय तह हो ।
पछिल्लो २ वर्षमा बाजुराको बुढिनन्दामा कस्ता समस्याहरू देखिएन , समस्या समाधान गर्न स्थानीय तहको सरकारले के गरिरहेको छ, सामाजिक आर्थिक र भौतिक विकाससँगै जनजीवनका कुराका विषयमा आज हामीले बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहरासँगे कुरा गरेका छौँ । प्रस्तुत छ नेपाल टकका मेयर बोहरासँग गरिएको संवाद:
निर्वाचनमा होमिँदा जनतालाई थुप्रै आश्वासन दिनु भएको थियो । ती मध्ये केही अझै पुरा भएका छैनन् । आफूले आश्वासन दिएर चासो नदिनु भएको हो कि चुनौतीहरू आइपरे ?
काम गर्न नखोजेको होइन । जिल्लामा मेरो कार्यालयमा मैले सुरु गरेका जस्ता नमुना कामहरू सायदै प्रदेशभरिकै अन्य स्थानीय तहमा छैनन् होला तर, हामीलाई काम गर्दा धेरै चुनौतीहरू छन् । सबैभन्दा ठूलो चुनौती भनेकै बजेटको चुनौती हो ।
हामीसँग आन्तरिक राजश्व संकलन गर्ने अवस्था छैन । केन्द्रबाट र प्रदेशबाट आएको बजेटले मात्रै यहाँको आवश्यकताहरु परिपूर्ति गर्न सक्ने अवस्था छैन। अरू केही कामहरू गर्न खोज्दा पनि कानुनी जटिलताले हामीलाई समस्या पारिरहेको देखिएको छ। त्यति हुँदा पनि मैले शिक्षा र स्वास्थ्यमा लगानी बढाएर सुधारका केही प्रयास गरिरहेको छु ।
स्वास्थ्य प्राथमिकतामा परेको भए किन अझै पनि यहाँका नागरिकहरू उपचार नपाएर मृत्युवरण गर्नु पर्ने बाध्यता अन्य भएको छैन त ?
सबै भन्दा ठूलो समस्या भनेकै यही हो । यहाँको एउटा बच्चा जन्मिदा उसले आफ्नो आमा बुवालाई २ लाख बढी ऋण बोकाएर जन्मिन्छ । यहाँ उपचार हुन सक्दैन । जानुपर्छ विमान चढेर धनगढी नेपालगन्ज । त्यहाँ बढी खर्च हुन्छ । यसरी जन्मिने बच्चाले अभिभावकलाई ऋण बोकाइरहेको छ ।
महँगो भएर पनि उपचार पाएर निको हुनेहरू भन्दा ठूलो समस्यामा त उपचार नै नपाएर ज्यान गुमाएको परिवारमा छ नि ?
हो । मेरो पालिका १७ वटा पालिकाको केन्द्र हो । बाजुरासहित मुगु हुम्ला कालिकोटका मान्छेहरू उपचारको लागि मेरो पालिकामा आउने गर्छन् । यत्तिको सेवा सुविधा भएका अन्य अस्पतालहरू यो सेरोफेरोमा छैनन् । मैले यो कुरालाई बुझेर २ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाएको छु। अहिले १५ शय्याको अस्पताल सुरु भएको छ ।
अर्को ठूलो कुरो विदेशी एउटा संस्थाले २५ शय्याको अस्पताल बनाउने गरी सम्झौता भइसकेको छ । २० रुपैयाँको सिटामोल किन्न नसक्ने अवस्थामा नागरिक पनि छन् यहाँ । हामीले सुरु गरेको अस्पताल २५ शय्याको हुँदा यहाँ स्वास्थ्यको ठूलो क्रान्तिहरू हुने छ ।
२५ शय्याको अस्पताल सुरु भएपछि त नागरिकलाई सहज होला । त्यो त सुरु हुन अझै कुर्नु पर्छ । तर, तपाईँको कार्यकालमा स्वास्थ्य क्षेत्रमा के गर्नु भयो भन्ने मेरो प्रश्न हो ?
हामीले धेरै गरेका छौँ । हामी आउनु भन्दा पहिले त यहाँ केही थिएन । एक्सरे मेसिन २०७२ सालमा आएको थियो । सरकारको एक्सले धुलो लागेर राखेको, बाहिर मेडिकलमा एक्सले चलिरहेको , सामान्य एक्सरेको ८ सय, ९ सय लिइरहेको अवस्था थियो मेडिकलमा ।
मेडिकल फस्टाइरहेको सरकारको प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै सुविधा नहुने अवस्था । म आएपछि एक्सले सुरु गरे । काठमाडौँको डाक्टरहरूको संस्थासँग ५ वर्षसम्मको सम्झौता गरियो । विशेषज्ञ सेवा सहितको शल्यक्रियासम्म निःशुल्क हुनेगरी शिविर सुरु गर्यौँ ।
पहिलो वर्ष ४ हजार ५ सय जनाले निःशुल्क उपचार पाए । त्यसपछि नाक कान घाँटी र आँखाको शिविरका १ हजार ७ सयले निःशुल्क उपचार पाउनु भयो । बाजुरासहितका ४ जिल्लाका बिरामी यहाँ आउनु भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गाइनको चिकित्सक ल्याएर पनि सेवा दियौँ ।
२ बेडको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाएर अहिले मासिक ४ लाख तिरेर वरिष्ठ फिजिसियन चिकित्सकको व्यवस्था गरेका छौँ । अहिले आँखाको उपचारको लागि गेटा जानु पर्दैन । यही हुन्छ । सामान्य शल्यक्रिया यही हुन्छ । हामीले आफ्नै फर्मेसी पनि चलाएका छौँ ।
फार्मेसीमा दलित जनजाति एकल महिला ज्येष्ठ नागरिक विद्यार्थी अपाङ्ग स्वयम सेविकालाई १० प्रतिशत औषधिमा र २० प्रतिशत अन्य सेवामा छुट गरेका छौँ ।
हामीले बेहोस गराउने चिकित्सकको पनि व्यवस्था गरेका छौँ । सुरुको बर्ष हामीले ७० प्रतिशत भन्दा धेरै बजेट शिक्षा र स्वास्थ्यमा खर्च गरेका थियौँ अहिले ६० प्रतिशत बजेट खर्च गरेका छौँ ।
शिक्षामा पनि बजेट खर्च गरेको भन्नुहुन्छ । शैक्षिक गुणस्तर त उस्तै छ नि ?
अहिले धेरै सुधार भएको भन्छु म त पहिले यो भन्दै धेरै कमजोर अवस्था हो शिक्षामा । सुरुबाटै लागे शिक्षामा । शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिको तर्फबाट एक जना र शिक्षक महासङ्घको एक जना प्रतिनिधि रहने गरी एउटा मैले कार्यदल तयार गरेको थिए । त्यो कार्यदलले ३१ वटा यहाँको सामुदायिक विद्यालय जान लगाए । त्यहाँको भौतिक अवस्था, शैक्षिक अवस्था र जनशक्तिको विवरणसहितको प्रतिवेदन मागेँ। त्यो प्रतिवेदन आएपछि मैले त्यही अनुसार काम गरिरहेको छु अहिलेसम्म पनि ।
पहिलो चरणमा भौतिक संरचनामा ध्यान दिए । १० वटै वाडमा भौतिक संरचना बनाउन नगर प्रमुख युवा रोजगार कार्यक्रम सुरु गरे । अहिलेसम्म १३ सय युवाहरूले काम पाउनु भयो । त्यसपछि प्रविधि मैत्री वातावरण बनायौँ । शिक्षाको गुणस्तर नाजुक देखेर मैले जुन विद्यार्थी जुन विषयमा कमजोर छ त्यही विषयमा उपचारात्मक कक्षा सुरु गर्यौँ , भनेको नगरपालिकाले लगानी गरेर कक्षा ३, ५, ८ र १० टिउसन सुरु गर्यौँ । त्यसले शिक्षामा ठुलो फड्को मारेको छ । जिल्लाभरि एसइइको नतिजा नाजुक हुँदा हाम्रो पालिकामा ४५ प्रतिशत उर्तिण भए । ११ र १२ मा विपन्न वर्गको लागि शिक्षा निःशुल्क गरे ।
विद्यार्थीलाई घोकन्ते शिक्षा भन्दा बढी अतिरिक्त क्रियाकलाप सृजनशील सिकाइमा चासो दिएका छौँ । सङ्गीत शिक्षक, खेलकुद प्रशिक्षक, नृत्य प्रशिक्षक राख्यौँ । त्यसको परिणाम १३ वर्षसम्म सदरमुकामको मालिका माविले जित्दै आएको राष्ट्रपति रनिङ सिल्ड यसपटक हामीले जित्यौँ ।
टोल टोलमा अभिभावक शिक्षा, सृजनात्मक शुक्रवार हाम्रो नीति छ ।
शिक्षा र स्वास्थ्यमा मात्रै चासा दिएर पुग्छ त ? यहाँ त कृषिको पनि ठूलो सम्भावना छ , सडक नहुँदा उत्पादनले बजार पाइरहेको छैन । स्याउ बोटमै कुहिएका छन् । यता किन चासो दिनुभएन ?
कृषिमा चासो नदिएको होइन । हामीले धेरै गरेका छौँ । कृषिको लागि यो अनौठा ठाउँ हो । यो कोल्टी तराइ जस्तै हो । यहाँ आँप फल्छ, यहाँ लिची हुन्छ । ३० मिनेट माथि जाँदा पाण्डुशैन पुगिन्छ । त्यहाँ स्याउ फल्छ । यहाँ नफल्ने केही छैन । आलु पकेट क्षेत्र, स्याउ पकेट क्षेत्र छ । यति सम्भावना हुँदा पनि संवृद्ध हुन नसक्नुमा धेरै कारणहरू छन् ।
मान्छेहरू पहिले व्यवसायी भएका थिएनन् । अहिले हामीले उहाँहरूलाई व्यवसायिक बनाउन खोजिरहेका छौँ । किसान छनोट गरेर हामीले उपकरणसम्म उपलब्ध गराएका थियौँ । बजारको समस्या हल सबै भन्दा ठुलो हो । यहाँ ३० रुपैयाँ किलो टमाटर बिक्दैन सदरमुकाममा त्यही टमाटर ९० रुपैयाँ पर्छ । त्यो हल गर्न हामी सुरक्षित राख्न हामीले कोल्ड स्टोर बनाएका छौँ ।
किसानको उत्पादन बजारसम्म पुराउन कृषि एम्बुलेन्सको पनि व्यवस्था गरिसकेका छौँ । अब बजारमा त्यही एम्बुलेन्सले कृषि उत्पादन ल्याउँछ । बिक्री भए हुन्छ नभएर किसानहरूले कोल्ड स्टोरमा राख्नुहुन्छ । यसरी उहाँहरूको उत्पादन सुरक्षित हुन्छ ।
निकट भविष्यमा किसानका उत्पादन हामी नै खरिद गरेर हामी नै बिक्री गर्ने र निर्यात गर्ने योजना पनि बनाएका छौँ ।
पर्यटन प्रवर्द्धनका लागि के गरिरहनु भएको छ ?
पर्यटनको लागि पनि हाम्रो पालिका सेन्टर हो । यहाँ विमानको सहज पहुँच छ । यहाँबाट अढाई घण्टामा गाडीमा र त्यति नै हिँडेर रारा पुग्न सकिन्छ । यहाँ रानीसैन छ । ५ हजार मिटरमा तालहरूसहितको बुढिनन्दा छ । बडिमालिका पनि एकदमै नजिक पर्छ । यहीबाट खप्तड जान सकिन्छ । र्याप्टिङको लागि कर्णाली छ । यसरी भन्दा वरिपरि पर्यटकीय गन्तव्यहरू छन् । हामीले सबै क्षेत्रमा पर्यटक पुराउने गरी गतिविधि गरिरहेका छौँ ।
प्रदेश र सङ्घसँग पर्याप्त समन्वय भइरहेको छैन भन्ने गुनासाहरू प्रशस्तै हुन्न पाइन्छ । यहाँ कस्तो छ ?
यहाँ झन् समस्या छ । हिजो काठमाडौँबाट सुदूरपश्चिम हेपिएको भन्दै आइरहेका थियौँ । अहिले सुदूरपश्चिमबाट बाजुरा हेपिएको छ । यो जिल्लामा बजेट र विकासमा प्रदेश र सङ्घ दुवैले न्याय गरिरहेको छैन । यहाँ २.५५ प्रतिशत मात्रै बजेट आएको छ । यति हेपिएको छ । आएका बजेट पनि कमिसनमा आएका छन् ।
मेरै पालिकामा १०/१२ लाख भन्दा धेरै अग्रिम पैसा दिएर योजना आएका छन् । मसँग प्रमाण छ । पालिकाले प्राथमिकता छुट्टाएका योजनाहरूमा पैसा हालिएको छैन । परेका योजना पनि काटिएका छन् । यसरी कसरी समन्वय हुन्छ । पैसा दिएर समन्वय हुने हो र ?
बाजुरामा सधैँ चामलको अभाव हुन्छ । नुनको लागि लाइन बस्नु पर्छ । अझै पनि ती समस्या किन हल भएनन् ?
नेपाल सरकारले यहाँका गरिब जनतालाई निःशुल्क चामल दिँदैन । तपाइले भन्नुभएको जस्तै चामल किन्नकै लागि पनि पाण्डुसैन, कुरूँ लगायका क्षेत्रबाट ७ सय भन्दा धेरै भाडा तिरेर चामल किन्नु पर्ने अवस्था थियो । अहिले धेरै मात्रामा यो समस्या हल भएको छ।
पाण्डुसैनका खाद्य वितरणको निर्णय भएर चामलको ठेक्का भइसकेको छ । त्यस्तै त्यहाँ भेटनरी, कृषि र आयुर्वेदिक शाखा पनि विस्तार गरेका छौँ । त्यहाँको स्वास्थ्य चौकीको स्तर वृद्धि गरेर हामीले स्मार्ट हेल्थ सुरु गरेका छौँ । अझै विकट रहेको ३ नम्बरको भुलेना र ४ पुनियामा १ हजार क्विन्टल चामलको ठेक्का भइसकेको छ । नुन पनि त्यहीबाट वितरण हुन्छ ।
यसरी जनतालाई घरमै आधारभूत आवश्यकता पाउने व्यवस्था हामीले मिलाइरहेका छौँ ।
यहाँ सडक बनेका छैनन्, पुलहरू छैनन् , गतिलो विद्यालयका संरचना छैनन् । स्वास्थ्य कार्यालय छैनन् । तर, तपाइहरू बस्ने भवनहरू दरबार भन्दा कम छैन , वडा कार्यालयहरू महल भन्दा कम छैन । गाउँ गाउँमा सिंहदरबार आयो भनेको त सिंह र दरबार दुबै आए तर, विकार र सुशासन आएन भन्ने गुनासा छन् नि ?
यो बेठिक कुरा हो । मान्छेको दृष्टिकोणमा भर पर्ने कुरा हो । हिजो सिंहदरबारले जस्तै गर्ने यो शासन होइन । यो शासन होइन यो सेवा हो ।स्थानीय तह भनेको नजिकको सरकार हो ।
सानो बाटो बिग्रँदा पनि ठोक्किने स्थानीय तहमा हो । खानेपानी, सञ्चार, सडक सबैका विषमा प्रत्यक्ष जनता हामीसँग ठोक्किनु हुन्छ । हामी सेवा गर्छौ ।
सेवा तल दिनुपर्ने त्यही सेवाको लागि खाली झेला लिएर प्रदेशमा माग्नु पर्ने, केन्द्रलाई माग्नु पर्ने ? त्यही हुँदा पनि बजेट नदिने । बजेट आउँदा कमिसनको आउने ?
हामीसँग पर्याप्त बजेट छैन । भएको बजेट पनि हामीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेका छौँ त्यही भएर केही काम देखिएको छ । तर, म सन्तुष्ट भने छैन ।
सेवा गर्दा पनि जनतालाई पूर्ण खुसी पार्न सकिएको छैन । त्यसैमाथि शासन गरेको भन्ने कुराले नराम्रो लाग्छ । हामीले सेवा गरिरहेका छौँ ।
कस्ता समस्या छ त यहाँ ?
सामान्य कुरा गाडी चढ्ने विषय नै हेर्नुहोस् न, पैसा त जनताले तिरिरहेका छन् नि ।तर, पैसा तिरेर यात्रा गर्नलाई गतिलो रोड छैन । पुल छैन । यहाँको नागरिकले मार्तडी नागरिकता बनाउन जाँदा बर्खाको समयमा १० हजार खर्च गर्नुपर्छ । फोन गर्दा नेटवर्क हुँदैन ।
पैसा तिरेर चामल किन्न आउँदा चामल हुँदैन । चामल त सरकारले निःशुल्क दिने होइन नि । पैसा तिरेर किन्न पनि पाउँदैनन् जनता । गरिब जनताको लागि सरकारले गरेको छ । यो आक्रोश म प्रति पनि होला ? तर, हामीले त्यो व्यवस्था गर्न सक्दैनौँ ।
अहिले संघीय सरकारमा बाजुराबाट निर्वाचित बद्री पाण्डे मन्त्री हुनुहुन्छ । केही समय अघिसम्म सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्रीमा पनि बाजुराबाटै निर्वाचित नरेश शाही हुनुहुन्थ्यो । सरकारको नेतृत्व गर्दा पनि किन यो क्षेत्रले विकासको काँचुली फेर्न सकिरहेको छैन त?
नेतृत्व फेरिँदैमा केही हुनेवाला छैन । लोकेन्द्र बहादुर चन्द शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो त, खै विकास भएको ? खुल्ला सीमा हुन्थेन भने उहाँका नागरिक खान नपाएर मर्नु पर्ने बाध्यता आइलाग्थ्यो । सारा मान्छेहरू भारत छन् । राज्यको नेतृत्वमा त हुनुहुन्छ । तर, उहाँले प्रदेशको आर्थिक संवृद्धि बढाउने के काम गर्नु भयो म प्रश्न गर्न चाहन्छु ।
अर्को कुरा केन्द्रमा नीति बनाउने मान्छेले बाजुराको भूगोल टेकेको छैन। पैसा तिर्न खोज्दा पनि मान्छेले उपचार नपाउनु यहाँको जनताको कमजोरी हो ? बाजुरालाई त्यसै विकट भन्ने ? सङ्घ र प्रदेशमा बसेका मान्छेहरूको दिमागमा छ विकट । बाजुरा विकट होइन सम्भावना नै सम्भावनाले भरिएको क्षेत्र हो ।