विराटनगर किङ्स : बलिङमा सन्दीप र ब्याटिङमा गप्टिलको भर – Nepal Press
एनपीएल टिम रिभ्यू १:

विराटनगर किङ्स : बलिङमा सन्दीप र ब्याटिङमा गप्टिलको भर

काठमाडौं । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) आएको टिम हो, विराटनगर किंग्स । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले यसपालि विराटनगरको नेतृत्व गर्दैछन् ।

अक्सनमार्फत औसत खेलाडी खरिद गरेको विराटनगरले ५ विदेशी खेलाडी भित्र्याउँदै टिमलाई सन्तुलित बनाउन खोजेको छ । बलिङमा सन्दीप आफैँले कमान्ड सम्हाल्नेछन् भने ब्याटिङतर्फ विदेशी खेलाडीको भर पर्नुपर्ने छ ।

विराटनगरले विदेशी खेलाडीको रूपमा ५ खेलाडीलाई भित्राइसकेको छ । न्यूजिल्यान्डका मार्टिन गप्टिल सबैभन्दा ठूला नाम हुन् । न्यूजिल्यान्डका पूर्वओपनिङ ब्याटर गप्टिल टी-२० मा खतरनाक मानिन्छन् । सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन् । विराटनगरको ब्याटिङ धेरै हदसम्म गप्टिलमा निर्भर हुनेछ ।

यस्तै अफगानिस्तानका इस्मात आलमसहित ओमनका टप अर्डर ब्याटर अकिब इल्यास, क्यानडाको ब्याटिङ अलराउन्डर निकोलस किर्तोन र स्कटल्यान्डका बलर क्रिस सोल पनि विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

अफगानिस्तानका इस्मात आलम घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी ब्याटिङ अलराउन्डर हुन् । ओमनका टप अर्डरका ब्याटर इल्यासले टी-२०आईमा ब्याटिङसँगै त्यत्तिकै राम्रो बलिङसमेत गर्दै आएका छन् । किर्तोनले पछिल्लो समय क्यानडाको कप्तानीसमेत गरिरहेका छन् । बलिङमा खासै जम्न नसकेका किर्तोनले ब्याटिङ भने उत्कृष्ट छ । उनले मिडलअर्डरमा ब्याटिङ गर्दै आएका छन् । स्कटल्यान्डका क्रिस तीव्र गतिका बलर हुन् । उनले स्कटल्यान्डका लागि १७ टी-२० आईमा १५ विकेट लिएका छन् ।

विराटनगरमा स्वदेशी खेलाडीको रूपमा कमै अवसर पाएका प्रतिश जिसी, बसिर अहमददेखि राष्ट्रिय टोलीमा जम्न नसकेका लोकेश बम पनि समावेश छन् । युवा क्रिकेटर प्रतिश र बसिरले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । सन् २०१४ मा टी-२० विश्वकप खेल्दा नेपालको महत्त्वपूर्ण सदस्य रहेका जितेन्द्र मुखिया, उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुवास भण्डारी र घरेलु क्रिकेटमा जमेका राजेश पुलामी मगर पनि विराटनगरमा छन् । युवा स्पिनर अनिल खरेल, दीपक बोहरा, नरेन भट्ट र मिर्नाल गुरुङलाई पनि विराटनगरले अनुबन्ध गरेको छ ।

कस्तो रहला प्रदर्शन ?

कप्तान सन्दीपसँग इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ । सन्दीपसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका केभिन ओ’ब्रायनले विराटनगरलाई प्रशिक्षण गराउने छन् । प्रशिक्षणमा लामो अनुभव नभए पनि टिमको प्रदर्शन उकास्न केभिनले महत्त्वपूर्ण भूमिका खेल्ने टिमको विश्वास छ ।

सन्दीपले टिममा लोकेश बमबाहेक नाम चलेका स्वदेशी ब्याटर छैनन् । टिमले ब्याटिङलाई प्राथमिकतामा राख्दै विदेशी खेलाडी भित्राएको छ ।

टिमको फर्मेसन हेर्ने हो भने विराटनगरको टपअर्डर ब्याटिङ मजबुत छ । विराटनगरको ओपनिङमा नेपालका लोकेश बम र न्यूजिल्यान्डका मार्टिन गप्टिल रहनेछन् । उनीहरूलाई टप अर्डरमा ओमनका अकिब इल्यासले पनि साथ दिनेछन् । मिडरअर्डर क्यानडाका निकोलस किर्तोनसहित अफगानिस्तानका इस्मात आलम र नेपालका राजेश पुलामी मगर जस्ता खेलाडीले सम्हाल्नेछन् । लोअर्डरमा बसिर अहमदसहित दीपक बोहरा, मिर्नाल गुरुङ र नरेन भट्ट जस्ता खेलाडी रहनेछन् ।

स्पिन बलिङको डिपार्ट सन्दीप आफैले सम्हाल्नेछन् । उनलाई बसिर अहमद, सुवाश भण्डारी, अनिल खरेलले साथ दिनेछन् । फाष्ट बलिङ स्कटल्यान्डका क्रिससहित प्रतिश र जितेन्द्र मुखिया सम्हाल्ने देखिन्छ ।

विराटनगरको टोली

लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, दीपक बोहरा, सुवास भण्डारी, मृनाल गुरुङ, अनिल खरेल, नरेन भट्ट ।

विदेशी खेलाडी: मार्टिन गप्टिल (न्युजिल्याण्ड), क्रिस सोल (स्कटल्याण्ड), निकोलस किर्तोन (क्यानडा), अकिव इल्यास (ओमान), इस्मात आलम (अफगानिस्तान) ।

मार्की खेलाडी: सन्दीप लामिछाने

मुख्य प्रशिक्षक: केभिन ओ’ब्रायन

विराटनगरको खेल तालिका:

एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त खेल मंसिर १५ गते हुनेछ ।

विराटनगरले दोस्रो खेल मंसिर १८ गते सुदूरपश्चिम रोयल्स, तेस्रो खेल मंसिर १९ गते लुम्बिनी लायन्स र चौथो खेल मंसिर २२ गते कर्णाली याक्ससँग खेल्नेछ ।

यस्तै पाँचौँ खेल मंसिर २७ गते पोखरा एभेन्जर्स, छैटौं खेल मंसिर २८ गते चितवन राइनोज र सातौं खेल मंसिर ३० गते काठमाडौं गुर्खाजसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर