सत्तारुढ दल नै सडकमा, काठमाडौंको ट्राफिक अस्तव्यस्त (तस्बिरहरु)
काठमाडौंका १२३ ठाउँमा चेक प्वाइन्ट, ६४४ ट्राफिक प्रहरी परिचालन
काठमाडौं । सत्तारुढ दल एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । कार्यालय समयमा घरबाट निस्किएका काठमाडौंवासी जामको सास्तीमा परेका छन् ।
एमालेले आज दरबारमार्गमा जनप्रदर्शन गर्दैछ । पार्टीले विरोधीहरुलाई आफ्नो तागत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई आलाेचकहरूले भने अनावश्यक भनेर टिप्पणी गरेका छन् । सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरूको तर्क छ ।
एमालेको सभालाई मध्यनजर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरबारमार्गमा यातायात आवागमन बन्द गराएको थियो । जसले गर्दा आसपासका सडकहरूमा सवारीको चाप बढेको छ । केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरू डाइभर्सन गरिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएपपी) उमाप्रसाद चतुर्वेदीले बताए ।
चतुर्वेदीका अनुसार आज काठमाडौंका १२३ वटा ठाउँमा चेक प्वाइन्ट राखिएको छ । ती चेक प्वाइन्टमा ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । ट्राफिक प्रहरी सहित कार्यक्रम स्थल र मुख्य–मुख्य ठाउँमा ३ वटै जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्तबाट प्रहरी परिचालन भएका छन् ।
प्रदर्शन दिउसो भए पनि बिहानैदेखि सवारी साधन र मानिसहरूको चहलपहल तथा चाप बढिसकेको प्रवक्ता चर्तुबेदीले नेपाल प्रेससँग बताए ।
उनका अनुसार विशेषगरी काठमाडौं उपत्यकाको रिङरोडमा सवारी साधन र प्रदर्शनकारीको चाप बढिसकेको छ । माइतीघरदेखि दरबारमार्ग प्रस्थान गर्ने मुख्य मुख्य ठाउँमा अहिले सवारी साधनको चाप बढिरहेको एसएसपी चर्तुवेदीले जानकारी गराए ।
एमालेको र्याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईँको अभियानले पनि प्रदर्शन गर्दै छ ।