‘श्री’ शब्द, शब्दोच्चारण र प्रयोग किन र कता हरायो ? – Nepal Press

‘श्री’ शब्द, शब्दोच्चारण र प्रयोग किन र कता हरायो ?

तीव्र भूमण्डलीकरणको प्रभाव सँगसँगै दुनियाँ एउटा गाउँ अर्थात् ग्लोबल भिलेज झैं भएको छ । यसबाट अछुतो रहन नसकेको हाम्रो समाजलाई अन्तर्राष्ट्रिय भाषागत माध्यम, विकसित प्रविधि र प्रविधिमार्फत सूचनाको प्रवाहले एकसाथ गाँजेको छ । समाजमा बढ्दो विश्वव्यापी चेतना, प्रविधिको विकासक्रम र हाम्रो पहुँच विकास, जीवनशैलीगत पक्षको उत्खनन, रुपान्तरण र व्यवस्थापन, हाम्रा राम्रा सांस्कृतिक पक्षमाथि मौलिक र पश्चिमीकरणको अन्तरघुलन, यस निम्ति भाषागत सहजताका लागि अंग्रेजीकरण, यसको बजारीकरण र बजारमा उपलब्ध आयातित संस्कार र संस्कृति आधारित भाषागत अभिव्यक्ति र यससँग अन्तरनिहित मूल्य-मान्यताले आफ्नोपन र मनलाई साँघुरो बनाएको छ, खुम्चाएको छ ।

कुनै पनि उपभोगयोग्य वस्तु, सेवा, सूचना, प्रविधि, विचार र मानिसको सम्पर्क-सम्बन्ध विस्तारले मौलिक समाजको पुरातन संस्कृति, राजनीतिक चेतना, आर्थिक विकासदर र प्राविधिक सम्बन्धको अन्तरनिर्भरता बढ्दै जाँदा हामी यहाँ पुगेका हौं । यस क्रमअन्तर्गत भाषा र संस्कृतिका क्षेत्रमा हामीले केहीमात्र पाएका छौं, विडम्बना ! थुप्रै अनमोल पक्ष गुमाएका छौं ।

क्रम विकास

‘श्री’ शब्द, शब्दोच्चारण, प्रयोग र प्रचलन पनि न्यून प्रायः हुँदै आएको छ । सामान्यतः हेर्दा लाग्छ- शान्त ‘श’ वर्णको मधुर ध्वनि र ‘र’ वर्णमा आउने दीर्घ ईकार मिश्रित ‘श्री’ शब्दमाथिको प्रहार भाषिक र सांस्कृतिक हमलाको शिकार भएको छ । शब्दार्थमा पसेर र प्रयोगको मनोविज्ञानभित्र बसेर हेर्दा साधारणतया ‘श्री’ शब्दलाई सकारात्मक र शुभ अर्थमा लिएको पाइन्छ । ‘श्री’ शब्दको प्रयोगले सकारात्मक भाव जगाउँछ, तरंग ल्याउँछ र शुभभावको संकेत गर्ने गरेको अर्थमा प्रयोगसँगै प्रचलनमा आएको पाइन्छ ।

आज सबै कुरा राज्य हो, राज्यको दायित्व हो र राज्यले गरिदिन्छ भन्नेमा हामी पुगिसकेका छौं । फलतः व्यवहार र यससँगको अन्तरसम्बन्धका दृष्टिकोणले ‘श्री’ शब्दसँग लुकेको र परस्पर सम्मोहित तुल्याउन प्रकट हुन चाहेको पक्ष पनि खण्डित हुँदै गएको छ ।

पौराणिक ग्रन्थको विकासक्रमदेखि लिएर पछिल्ला ऐतिहासिक कालखण्डलाई दस्तावेजीकरण गर्दा वा लिपिबद्ध गर्दा उपयुक्त व्यक्ति, प्रकृति, वस्तु, साधन, विचार आदिको अघिल्तिर ‘श्री’ शब्द प्रयोगमा आएको सयौं दृष्टान्तले सत्य सावित गर्नसक्छ । व्यक्ति, प्रकृति, वस्तु, साधन, विचार आदिको अघिल्तिर ‘श्री’ शब्द प्रयोग भएसँगै सामान्यतः प्रयोगमा ल्याइएको ‘श्री’ शब्दले यसको धर्म, कर्म र मर्मसँगै अन्तरनिहित धन, वैभव, सम्पन्नता, समुन्नत अवस्था, समृद्धि, आन्तरिक वा बाह्य सुन्दरता, सम्मान, आदर आदिका लागि सम्बोधन भएको बुझिन्छ । नेपाली मौलिक भाषा, संस्कृति र संस्कारको अंग्रेजीकरण नहुँदासम्म यो नै एकमात्र सत्य हो ।

प्रयोग विकासक्रम

सम्मान सूचक शब्दका रूपमा ‘श्री’ शब्दको प्रयोगले अमुक व्यक्तिको नामको अघिल्तिर राखेर यसमार्फत सम्मान जनाउन प्रयोग गरिएको हुन्छ । श्रीराम, श्रीकृष्ण, श्रीमान, श्रीमती आदि यसैका उदाहरणहरू हुन् । पौराणिक र धार्मिक महत्त्वका कालखण्ड र दस्तावेज संग्रहलाई सम्मानपूर्वक जनाउन, चिनाउन ‘श्री’ प्रयोग भएको पाइन्छ । श्री लक्ष्मी, श्री भगवती, श्रीमद्भागवत गीता, श्री रामचरित्र मानस, श्री हनुमान चालिसा आदि यसैका पूरक दृष्टान्तहरू हुन् ।

व्यक्तिले प्राप्त गरेको पदवी वा उपाधिलाई ‘श्री’ शब्दको प्रयोगमार्फत सुशोभित गर्न प्रयोगमा ल्याइयो । श्रीमान प्रधानन्यायाधीश, सम्माननीय, श्री आदि आदि यसर्थमा प्रयोगमा आएका वा ल्याइएका उदाहरणहरू हुन् । कुनै पनि कार्यारम्भ गर्दा ‘श्री’ प्रयोगमा आयो, ल्याइयो । यसप्रकारको कार्यारम्भका अघिल्तिर ‘श्री गणेशाय नमः’को अर्थोच्चारण यसकारण पनि पर्याप्त छ । व्यापारिक र व्यवसायिक प्रयोग र प्रयोजनमा पनि यसको शुभसूचकको रूपमा ‘श्री’ प्रचलित रहेको पाइन्छ । ‘श्री टे«डर्स’ जस्ता विषयवस्तुले ‘श्री’ शब्दलाई ओजपूर्ण बनाएको अर्थमा अध्ययन गर्न सकिन्छ ।

पौराणिक र धार्मिक ग्रन्थहरूमा ‘श्री’ शब्दको प्रयोगले प्रस्तुत विषयवस्तुको शुद्धता, शुभ र पवित्रको अर्थमा लिन सकिन्छ भने हिमवत खण्डकालीन सभ्यता विकासक्रममा ‘श्री’ शब्दको प्रयोगले व्यक्ति, वस्तु, पदार्थ, चेतना, विचार, साधन र स्रोतको आदर, सम्मान, प्रशंसा, शुभकामना आदि व्यक्त गर्न चाहेको बुझिन्छ ।

‘श्री’ शब्द चयन र हरण

व्यक्ति, वस्तु, पदार्थ, चेतना, विचार, साधन, स्रोत आदि जतिबेलासम्म समुदायको अधिनमा थियो, समुदायको सहअस्तित्वमाझ सामूहिक भाव झल्कन्थ्यो, असाधारण महत्त्वका साथ अहोरात्र क्रियाशील रहन्थ्यो । सामूहिकतामा मानव श्रम प्रकट हुने, मानव श्रमद्वारा समाजको सम्पदा निर्माण हुने, निर्मित वस्तुको स्याहारसंहार र जगेर्नामै सामूहिकताको भाव व्यवहारको पहिलो फड्को सँगसँगै उद्गार हुने, प्रकट हुने र अग्रसर रहने गर्दथ्यो । आज सबै कुरा राज्य हो, राज्यको दायित्व हो र राज्यले गरिदिन्छ भन्नेमा हामी पुगिसकेका छौं । फलतः व्यवहार र यससँगको अन्तरसम्बन्धका दृष्टिकोणले ‘श्री’ शब्दसँग लुकेको र परस्पर सम्मोहित तुल्याउन प्रकट हुन चाहेको पक्ष पनि खण्डित हुँदै गएको छ । प्रयोग र प्रचलनका ठाउँबाट हेर्दा ‘श्री’ शब्दसँग टाढिएको र अंग्रेजीमा साटिएको पुस्तामा प्रतिक्रियात्मक स्वभाव, नकार्न उद्यत जीवनशैली र नकारात्मक अभिव्यक्ति हावी भएको पाइन्छ ।

च्याँदेखि म्याँ गर्दै हुर्कंदा, बढ्दा र जीवन विकासक्रमलाई पढ्दा प्राप्त वस्तुको अंग्रेजीकरण भएन, देश बाहिरका बजारमा ‘श्री’ बिकेन, नेपाली भाषा टिकेन भनेर शिक्षा जस्तो मानव संवेदनशीलताको विषयलाई बजारको वस्तु बनाउन चाहने तत्वले ‘श्री’ शब्दको प्रयोगलाई खिल्ली उडाउने र गिल्ला गर्ने तहमा हामी आइपुगेका छौं ।

इतिहासकाललाई धेरै परसम्म केलाउनुपर्दैन, म आफैं दोस्रो पुस्तामात्र हो, बुबाआमा समकालीन पहिलो पुस्ताको अजय शक्तिले समाजमा सामूहिक भावका साथ बग्रेल्ती काम गर्नुभएको दृश्यसँग उमेरले ३० वर्ष काटेको पुस्ता सचेत छ र जानकार पनि । हिमाल झैं अग्लो निष्ठा र हिउँ झैं कञ्चन इमानको अग्निपरीक्षामा पटकपटक बेदाग उत्तीर्ण हुन कठोर श्रमसँगै समाजप्रति समर्पित रहनसक्ने बुबाआमा समकालीन पहिलो पुस्ताको अजय शक्तिले समाजमा सामूहिक भावका साथ कैयौं गोरेटोदेखि लिएर एक गाउँले अर्को गाउँसम्म जोड्ने बाटाघाटा बनाउनुभयो, कैयौं बिघासम्म सहजै सिँचाइ हुनसक्ने कुलोपैनी निर्माण गर्नुभयो, विभेदरहित पठनपाठन हुने कैयौं पाठशाला सञ्चालनमा ल्याउनुभयो ।

राज्यले शिक्षा र शिक्षकको दायित्व नलिएको बेला पनि गुरुजनका रूपमा शिक्षकहरूको आहत र राहतलाई सम्बोधन र व्यवस्थापन गर्ने काम गर्नुभयो, कुनाकन्दरामा समेत आआफ्ना आर्थिक आस्था र विश्वासअनुसार पूजापाठ र तीर्थस्थलहरू मठमन्दिर, गुम्बा, चर्च आदि बनाउनुभयो, बाटबाटै विभिन्न नाउँ, निहुँ र शीर्षकमा पाटीपैवा खडा गर्नुभयो, चौतारादेखि लिएर बस बिसौनीसम्म तयार गर्नुभयो । निर्मित यी विरासतका अघिल्तिर ‘श्री’ शब्दोच्चारण सामान्यमात्र थिएन, सुशोभित थियो । समाज व्यवस्थापन, आचरण र शैलीमा आइरहेको फेरबदललाई सूक्ष्म अध्ययन गर्दा यो असाधारण र अतुल्य महत्त्वको पक्ष थियो, एउटा गर्विलो कालखण्ड थियो । यहाँनेर समुदायको यो अग्रसरता, परोपकारी भाव, सामूहिकता, सामूहिक श्रम, सीप र श्रमसिञ्चन वस्तुलाई ‘श्री’ शब्दले सम्बोधन गर्न चाहेको, सुशोभित गर्नुभएको र यसमार्फत समाजमा एकपछि अर्को पुस्तासम्म सकारात्मक सन्देश दिन चाहेको, उत्सर्जित ऊर्जा प्रवाह गर्दै यसमा उर्बरता ल्याउन खोजेको देखिन्छ ।

विडम्बना ! समाजमा बढ्दो यो विश्वव्यापी चेतना, प्रविधिको विकासक्रम र हाम्रो पहुँच विकास, जीवनशैलीगत पक्षको उत्खनन, रुपान्तरण र व्यवस्थापन, हाम्रा राम्रा सांस्कृतिक पक्षमाथि मौलिक र पश्चिमीकरणको अन्तरघुलन, यस निम्ति भाषागत सहजताका लागि हामीलाई सम्मोहित तुल्याउने भाषाको अंग्रेजीकरण, यसको बजारीकरणका कारण ‘श्री’ शब्दको प्रयोग कतिपयलाई पिरोलोको विषय बनेको छ भने कतिपयलाई बिरानो बन्दै गएको छ ।

च्याँदेखि म्याँ गर्दै हुर्कंदा, बढ्दा र जीवन विकासक्रमलाई पढ्दा प्राप्त वस्तुको अंग्रेजीकरण भएन, देश बाहिरका बजारमा ‘श्री’ बिकेन, नेपाली भाषा टिकेन भनेर शिक्षा जस्तो मानव संवेदनशीलताको विषयलाई बजारको वस्तु बनाउन चाहने तत्वले ‘श्री’ शब्दको प्रयोगलाई खिल्ली उडाउने र गिल्ला गर्ने तहमा हामी आइपुगेका छौं । बजारमा उपलब्ध आयतित सबै वस्तुहरू मेड इन नेपाल हुँदैनन् । हामीले सावा अक्षरमा ज्ञानआर्जन गरेको भाषामा समेत हुँदैन । तथापि तिनीहरू हाम्रो प्रयोगमा आउँछन्, हाम्रा दैनन्दिन कर्मका साथी र सहयोगी हुन्छन् भने हाम्रो मौलिक प्रस्थान र अन्तर्य बोकेको ‘श्री’ शब्दलाई किन विनाकुनै मलामी चितातुल्य शय्यामा उतार्ने ? पश्चिमा प्रभावको सिकोले हाम्रो संस्कार र संस्कृति आधारित भाषागत अभिव्यक्ति र यससँग अन्तरनिहित मूल्य-मान्यताको आफ्नोपन र मनलाई चिमेटेको छ, चोइट्याएको छ र एकदमै साँघुरो बनाएको छ ।

पश्चिमा प्रभावको सिकोले हाम्रो संस्कार र संस्कृति आधारित भाषागत अभिव्यक्ति र यससँग अन्तरनिहित मूल्य–मान्यताको आफ्नोपन र मनलाई चिमेटेको छ, चोइट्याएको छ र एकदमै साँघुरो बनाएको छ ।

अनुचित बहस-विमर्श

यदाकदा विश्वविद्यालयीय ज्ञानआर्जनका दृष्टिकोणले अनुसन्धानमा आधारित उपाधि प्राप्त केही विद्वान वर्गको मत रहने गर्दछ- ‘श्री’ शब्दको पर्याय अर्थात् समानार्थी अंग्रेजी शब्द छैन । यसको अंग्रेजीकरण हुँदैन । अंग्रेजले यो भाषा बुझेन । हिज्जे, उच्चारण, लेखन र अनुवाद पनि भएन । यसकारण यहाँ उत्पादित विद्यार्थीलाई देश बाहिरको श्रम बजारमा उभ्याउन सकिएन, साट्न सकिएन आदि आदि ।

शिक्षालाई व्यापार व्यवसाय बनाउनेका ठाउँमा उभिएर हेर्दा यो पनि एक हदसम्म ठीकै तर्क होला ! के समाजको जसकसैले पनि पढ्नु भनेको आफूले आफैंलाई चिन्नु, जान्नु र ग्रहण गर्नु होइन ? एक तहको अंग्रेजीकरण भएको उपाधि उपलब्ध गराएर हामीले विद्यार्थीमाझ ‘पढो पढो पाठ, सोह्र दुने आठ’ गर्न चाहेको हो त ? जीवन निर्वाहमुखी शिक्षाको कुरा गरेका छौं अहिले हामीले यतिबेला । यो भनेको आफूले आफैंलाई चिन्ने, आफ्नो परिवेशलाई अँगाल्ने, समाजको अनुत्तरित प्रश्नको उत्तर निरुपण गर्ने, परिवेश सुहाउँदो वातावरण निर्माणमा तल्लीन रहनसक्ने जनशक्ति निर्माण गर्ने भनेको होइन र ?

अध्ययनले भन्छ- एसियन देशहरूमा कार्यरत नेपाली श्रमिकबाट हामीलाई जेजति अंकगत मात्रामा रेमिट्यान्स प्राप्त हुन्छ, यसको अढाई गुणा बढी त नेपालमा कार्यरत भारतीय कामदारमार्फत नेपाली पैसा भारत जान्छ । हामीले चाहेको अध्ययन यसको सूक्ष्म अध्ययन होइन र ? भारत, जहाँ ‘श्री’ शब्दको अर्थपूर्ण प्रयोग हुन्छ । सर्टिफिकेटमा व्यक्तिको नामको अघिल्तिर लेखिनुपर्ने वा लेखाउनुपर्ने ‘श्री’ शब्दले कसैलाई अपाच्य हुँदैन, घृणाबोध हुँदैन र अंग्रेजीकरण भएन भनेर भन्नु पनि पर्दैन । हाम्रो अध्ययन यसतर्फ जोडिनुपर्ने होइन र ? कतिपयले भारतीय कागजातमा पनि ‘श्री’ शब्द लेखन नभएको टिप्पणी गर्नुहुन्छ । अल्पज्ञानका हिसाबले यो पनि ठीकै हो । भारतीय नागरिक २०० वर्षभन्दा बढी अंग्रेज, अंग्रेजी भाषा र संस्कार-संस्कृतिका दास भए । यसकारण पनि यो भाषा स्वीकार्य भयो । इतिहासकालदेखि अहिलेसम्म हाम्रो वस्तुगत अवस्था यो होइन । होइन भने किन अंग्रेजीकरण अनुशरण गर्ने ?

विभिन्न कर्मसामु शुभ संकेतस्वरुप अर्थसूचक शब्द हो ‘श्री’ । अर्थात ‘श्री’ यो हाम्रो मौलिक सीप हो, श्रम सिञ्चनको अवस्था हो, पदावली हो, पहिचान हो, गौरव हो, सांस्कृतिक महत्त्वको पृथकपन र मन हो । नेपालीपन र नेपाली मन मिश्रित ओजस्वी अस्त्र हो ‘श्री’ ।

‘श्री’ पृथक शब्दावली हो । यसकारण ‘श्री’ शब्दको पर्याय अंग्रेजीमा भएन, शब्दकोषमा शब्दार्थ पाइएन, कहीँकतै पनि भेटाइएन । यसमा किन टाउको दुखाउने ? विभिन्न कर्मसामु शुभ संकेतस्वरुप अर्थसूचक शब्द हो ‘श्री’ । अर्थात ‘श्री’ यो हाम्रो मौलिक सीप हो, श्रम सिञ्चनको अवस्था हो, पदावली हो, पहिचान हो, गौरव हो, सांस्कृतिक महत्त्वको पृथकपन र मन हो । नेपालीपन र नेपाली मन मिश्रित ओजस्वी अस्त्र हो ‘श्री’ । यसरी बुझ्ने हो भने ‘श्री’ शब्दोच्चारणबाट हामी टाढा रहन सक्दैनौं, तर अंग्रेजी शब्दोच्चारण, अंग्रेजीकरण र यसको बजारीकरण अभावको छटपटीले हामीलाई आफ्नोपन र मनबाट अनुदार बनाएको छ । यसलाई उदांगो पार्ने तहको अध्ययन र अध्ययनअनुरुपको बहस-विमर्श आजको टड्कारो खाँचो पक्ष हो ।

प्रयोगको अन्तर्य

काला र गोरा जातिबीचको लडाइँका नायक नेल्सन मण्डेला भन्नुहुन्छ- कुनै पनि समाजलाई बिगार्नु छ भने त्यहाँ करोडौं खर्चिलो गोला, बारुद, तोप र मिसाइल होइन, चलिआएको भाषागत माध्यम, सांस्कृतिक पक्ष र प्रचलित शिक्षामा आफूअनुकूल रंग घोलिदिए पुग्छ । दशकमै यसको ओरिजिनल र रैथानेपनमा आफ्नो मनको अन्तरघुलन हुन्छ । अनि राज गर्न सकिन्छ ।

हामीले चाहेको यो नै हो त ? अंग्रेजी भाषाले र यसको अंग्रेजीकरणले मेरो मुधुन्म बुझ्दैन, मेरो संस्कार बुझ्दैन, मेरो वेदको रिचा बुझ्दैन, मेरो प्रकृति बुझ्दैन, मेरो जन्मदेखि मृत्युपर्यन्तका कुनै संस्कार बुझ्दैन, मेरो कन्दनी बुझ्दैन, बुबाआमालाई निहुरिएर ढोग्नुपर्छ भन्ने मेरो कर्तव्यबोध गर्ने गराउने मान्यता बुझ्दैन, मेरो टुप्पी बुझ्दैन, मेरो नामको अर्थ बुझ्दैन, मेरो साकेला बुझ्दैन, मेरो ल्होसार बुझ्दैन, मेरो छठ बुझ्दैन आदि आदि । बुझ्दैन भने हामीले नमान्ने त ? अंग्रेजीले यी कतिपय विषयवस्तुलाई बुझ्दैन भने नबुझाउने त ? कि दशैँलाई विजया दशमी र तिहारलाई दीवाली भनेर खुम्च्याए झैं खुम्च्याउने ? आर्थिक दृष्टिकोणले कमजोर हुनुको अर्थ मानवीय मूल्य र अस्तित्वमा समेत कमजोर हुनु होइन ।

यसर्थ, जसोतसो आर्जन भएको आफ्नोपन नगुमाऔं !
वीरत्व प्राप्त विरासतकालीन आफ्नो मन नडुलाऔं !

सामुदायिक विद्यालय समुदायको श्रमसिञ्चन कठोर कर्मको प्रतिफल हो । समुदायको यो उपस्थितिको सम्मानस्वरुप विद्यालयको नामको अघिल्तिर ‘श्री’ शब्दको प्रयोग अनिवार्य गरौं !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *