बढुवा भएका एआईजी गुरुङ र ढकालको दुई विभागमा पदस्थापन, दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सरकारले नेपाल प्रहरीको जनपदतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी आतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको २ जनाको पदस्थापन गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डीआईजीबाट एआईजीमा बढुवा गर्दै बुद्धिराज गुरुङलाई कार्य विभागमा र केदार ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरेको हो ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रदेश समन्य विभागमा कार्यरत थिए । गुरुङको पदस्थापन भएको कार्य विभागका प्रमुख एआईजीपी रामदत्त जोशीको अनिवार्य अवकाश भएसँगै उक्त विभागको प्रमुखको पद रिक्त रहेको थियो भने प्रदेश समन्वय विभागमा पनि एआईजीपी श्यामलाल ज्ञवालीको अनिवार्य अवकाश भएसँगै ढकालले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यसैविच डीआईजीबाट एआईजीमा बढुवा भएका गुरूङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक समारोहबीच दुबै जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
राष्ट्र, जनता र संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त गरेको पद र जिम्मेवारी अनुरूप नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढिकरण र संगठनको वृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्ने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउदैँ आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
नागरिकको सुरक्षा एवम् भरोसालाई कायम राख्दै समाजमा कानूनी शासनको प्रयात्भूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारी इमानदारी र पारदर्शीताका साथ सम्पादन गरी नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउँदै जानुपर्नेमा उनले जोड दिए ।
समारोहमा बढुवा भएका एआईजीको तर्फबाट मन्तव्य व्यक्त गर्दै बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमानदारीता एवम् लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाए । दर्ज्यानी चिन्ह प्रदान गर्ने समारोहमा वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानको सहभागिता रहेको थियो ।