मुख्यसचिव अर्यालको राजीनामा स्वीकृत – Nepal Press

मुख्यसचिव अर्यालको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले मुख्यसचिव डा.बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ । भ्रष्टाचार प्रकरणमा मुछिएपछि मुख्यसचिवबाट राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतको दरबन्दीमा कार्यरत अर्यालले ५ दिन अघि बुझाएको राजिनामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

अर्यालले गत आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका थिए ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

उनी निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारीविना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिएका थिए । डा.अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दर्ता भएको पछिल्लो दिन असार १० मा मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *