प्रदेशको पर्यटन हव बन्दै बर्दियाः कोरोनापछि यसरी फर्कियो लयमा (भिडिओ) – Nepal Press

प्रदेशको पर्यटन हव बन्दै बर्दियाः कोरोनापछि यसरी फर्कियो लयमा (भिडिओ)

ठाकुराद्वारा (बर्दिया) । लुम्बिनी प्रदेशको पश्चिम तराईमा रहेको बर्दिया पर्यट आकर्षकको केन्द्र हो । यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बर्दियामा अहिले बढ्दै गएको पर्यटकको संख्याले यहाँका ठूला व्यवसायी मात्रै होइन साना व्यवसायीमा पनि उस्तै खुसी देखिएको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा मात्रै होइन यो क्षेत्रमा रहेका ठूला तथा साना होटलमा पर्यटकको संख्या दिनहुँ बढेको छ ।

बर्दियामा आउने पर्यटकहरू बाघ हेर्न र स्थानीय थारु संस्कृतिसँगै परिकारहरू खान रुचाउँछन् । यहाँ बाघलगायत जैविक विविधता हेर्न आन्तरिक मात्रै होइन बाह्य पर्यटकको केन्द्र हो । यहाँ हप्तौ बसेर अध्ययन गर्ने विदेशीको संख्या अहिले बढेको छ ।

यो क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै कोभिडपछि निराश बनेको पर्यटन क्षेत्रमा आशा पलाएको हो । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनमार्फत राजस्वमा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ ।

पर्यटकहरुको बर्दियामा प्रमुख आकर्षण भनेको यहाँ पाइने बाघ भएकाले बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरु बढ्ने गरेका छन् । जंगल सफारी गरेर बाघ लगाएतका जंगली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुन्ज मानिन्छ । यसैगरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकहरुका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ ।

यो घाटमा डल्फिन देखिने गरेको छ । यसैगरी बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरु पर्यटकहरुलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन् । यी होम स्टेहरुमा स्थानीय परिकारको स्वाद लिन पाइन्छ ।

यसैगरी व्यवसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाएका विभिन्न स्थलहरु अवलोकन तथा कृषि अध्ययनका लागि प्रर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को आकर्षणको केन्द्र हो ।

अहिले गर्मी कम भएको र जाडो पनि धेरै शुरु नभएकाले पर्यटक बढी आउने समय हो । आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ । २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार ३ सय २४ पर्यटकले निकुञ्ज अवलोकन गरेकोमा गत वर्ष स्वदेशी, सार्क र विदेशी गरी २६ हजार १ सय ३१ पर्यटक निकुञ्ज भित्रिएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांकमा छ ।

पछिल्लो तीन महिनामा त्यो संख्या अझै बढेको छ । पर्यटकको संख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवालगायत पर्यटकीय पूर्वाधारहरू निर्माणलाई जोड दिएको छ । निकुन्ज क्षेत्रमा जंगल वाक, जंगल ड्राइभका लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापनका कार्यहरू भएका छन् ।

के भन्छन् व्यवसायी ?
निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायतका आवासहरू व्यवस्थापन गर्न जरुरी रहेको स्थानीय व्यवसायीको भनाइ छ । अहिले पर्यटकको चहलपहल उत्साहजनक भएको सो क्षेत्रमा व्यवसाय गरेका होम खड्का बताउँछन् ।

वरिपरी ठूला होटल रिसोर्ट भएपनि उनले नजिकै स्थानीय शैलीको पूजा होटल चलाएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लो देखिन्छ ।

बबई रिसोर्टका संचालक धर्म घिमिरेका अनुसार पर्यटक बढेसँगै पर्यटकीय होटलहरूमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ । बर्दियाको अनुपम जैविक विविधता देखेपछि विदेशी पर्यटकहरू आश्चर्य मान्ने गरेको गैंडा क्याम्पका सञ्चालक रामजी थापा बताउँछन् ।

निकुञ्ज क्षेत्रमा पर्यटकीय होटलहरूलगायत धेरै होमस्टेहरू भएकाले पर्यटकलाई आवासीय समस्या नभएको र अहिले स्वदेशीसँगै विदेशी पर्यटकको संख्या बढ्दै गएको उनको भनाइ छ ।

‘बर्दियामा मुख्यगरी बाघ हेर्न पाइन्छ, बाघलगाएत अरु जनावर जंगल सफारी गरेर हेर्न पाइन्छ’, उनले भने,‘जंगल सफारी बर्दियाको प्रमुख आकर्षण हो, यससंगै कृष्णसार, डल्फिनको अवलोकनसंगै यहाँका होम स्टेहरुमा पाइने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरुको प्रवद्र्र्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ ।’ यसैगरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्विक धार्मिक धामहरु समेत बर्दियाका थप आकर्षण हुन् ।

निकुञ्ज बाहिर यातायातलगायत सडक पूर्वाधारहरू पर्याप्त नहुँदा पर्यटकहरू महँगो यात्रा गर्न बाध्य हुने गरेको राइनो लजका पर्यटन व्यवसायी गोविन्द अधिकारीको भनाइ छ । पर्यटकीय चाप राम्रो हुँदा होटलका प्याकेजहरू पनि पर्यटक मैत्री छन्। तर सडक पूर्वाधारको अवस्थाले समस्या पारेको उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम तराईकै प्राकृतिकले भरिपूर्ण अनुपम पर्यटकीय गन्तव्य रहेको पर्यापर्यटन मन्च बर्दियाका अध्यक्ष कृष्ण भट्टराई बताउँछन् । दुर्लभ वन्यजन्तुसँगै यहाँको थारू कला, संस्कृति, भेषभूषा एवं परिकार पर्यापर्यटनको महत्वपूर्ण आधार हो । अधिकांश विदेशी पर्यटकहरू जंगलमा हिँडेरै अवलोकन गर्न रुचाउँछन् ।

अन्य देशका पर्यटकहरू सफारी रोज्छन् । जंगलमा डँढेलो लागेको अवस्थाबाहेक अन्य समयमा पर्यटकहरू जंगलभित्र रमाइलो मान्छन् । विशेषगरी भाले लाग्ने बेला, गर्मी र शीत पर्ने बेलामा निकुञ्जमा बाघ हेर्न पाइने गर्दछ ।

‘सिजनल व्यापार राम्रो भएको छ, अफसिजनमा अझै सुधार भएको छैन, विदेशी पर्यटकको नेटवर्क भएका व्यवसायीहरु कोरोनाअघिजस्तै अवस्थामा पुग्न थालेका छन् सिजनको समयमा’ उनले भने । उनी आवद्ध संस्थाले एकीकृत पर्यटन विकासका लागि सबैलाई अगाडि बढाएको छ । ‘पर्यटन क्षेत्रमा होटल मात्रै पर्दैनन् यससँगै जोडिएका सिकान, मजदुर,व्यवसायी सबैलाई जोडेर जानुपर्ने भएकाले हामीले समग्र विकासलाई अघि सारेका हौं’ उनले भने ।

बर्दियामा पर्यटन क्षेत्रमा करिब ५ अरब निजी क्षेत्रको लगानी रहेको भट्टराईले बताए । ‘५ अरब लगानी भएको छ, १२ सय जनालाई राख्न सकिने क्षमता छ, करिब ३ सय जनालाई रोजगारी दिएका छौं’ उनले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जले गतवर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ । वनपैदावार, काठदाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कुल राजस्व असुलीको आधाभन्दा बढी राजस्व पर्यापर्यटनबाट संकलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी पर्यापर्यटनबाट राजस्व असुली गरेको छ ।

होटल एशोसियन बर्दियाका अध्यक्ष मोहन चौधरीले अहिलेको सिजनमा गतवर्षभन्दा राम्रो संख्यामा पर्यटक आएको बताए । ‘सकारात्मक सन्देश आइरहेको छ, तर व्यवसायीले सोचेजस्तो त भएको छैन, उत्साहित भएर लगानी भइरहेको क्षेत्र पर्यटन नै हो, यहाँ अरु संभावना नै छैन, यसैलाई आधार बनाएर नीति बनाई कार्यान्वयन गरिनुपर्दछ’ चौधरीले भने ।

भारतीय पर्यटकलाई सहज बनाउन माग

पर्यटन व्यवसायीहरुले नेपाल आउने भारतीय पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गरेका छन् । अहिले पनि भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी लिएर आउन नपाइने, एकपटक चेकजाँच गरेको गाडीलाई ठाउँठाउँमा चेकिङका नाममा दुःख दिने गर्दा उनीहरु दोहोरिएर नआएको र उनीहरुले राम्रो सन्देश नदिएको गुनासो व्यवसायीको छ ।

थारु होम रिसोर्टका संचालक मोहन चौधरीले भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने कानुन, उताबाट आएका गाडीलाई प्रहरीको हैरानीले ठूलो समस्या पारेको बताउँछन् । ‘यहाँका मान्छे धमाधम बाहिर गइरहेका छन्, यहाँ आउने र सिधा सम्पर्क भएका भारतीय पर्यटकलाई ल्याउनका लागि यस्ता कानुन हटाउनुपर्दछ’ उनले भने–‘एकै कागजबाट अन्य ठाउँमा दुःख दिन हुँदैन, यो विषयमा ध्यान दिनुपर्यो ।’

‘घुम्न जाउँ बर्दिया’ अभियानले थपियो नयाँ रौनकता

पर्यटन प्रवद्र्र्धनका लागि प्रदेश सरकारले यसबर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान थालेको छ । सरकारले यो कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेर अहिले अगाडि बढाएको हो ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुरु गर्न थालेको हो । यो अभियान २९ गतेदेखि प्रारम्भ गर्ने गरी अगाडि सारिएको हो । बर्दियाको ठाकुरद्धारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरुको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको बताए । ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्यको एक बर्दिया जिल्ला हो, यहाँ पर्यटकहरुलाई आकिर्षित गर्ने धेरै इभेन्टहरु छन्’, मन्त्री न्यौपानेले भने,‘यो बर्ष बर्दियामा धेरै भन्दा धेरै पर्यटकहरुलाई भित्र्याएर समग्र प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हामीले लिएका छौँ ।’

एक वर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरुका बारेमा पर्यटकहरुलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । बाह्य पर्यटकहरुलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरुको सहजताका लागि सम्बन्धित पक्षसंग समन्वय गरिने मन्त्री न्यौपानेले जानकारी दिए ।

‘बर्दिया जिल्लामा बाह्य पर्यटकहरु ल्याउनका लागि बर्दिया जिल्लाका पर्यटकीय स्थलहरुका बारेमा सूचना प्रदान गरिनु पर्यो, यसका लागि प्रचारात्मक कार्यक्रमलाई बढावा दिइने छ’, मन्त्री न्यौपानेले भने,‘यसका लागि बर्दियामा रहेका पर्यटकीय स्थलका बारेमा विभिन्न माध्यमबाट पर्यटकहरुलाई जानकारी गराउने काम हुनेछ ।’

बर्दियामा पर्यटकहरु भित्र्याउनका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपूर प्रयोग गर्नुपर्ने व्यवसायीको सुझाव छ । सामाजिक सञ्जालमार्फत यहाँका पर्यटकीय थलोहरुका बारेमा जानकारी दिन, यहाँको पर्यटकीय क्षेत्रहरुका बारेमा विदेशी पाहुना पर्यटकहरुलाई सहज हुने उनीहरुको भनाइ छ ।

यसैगरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रचारात्मक अभियान थाल्न पनि व्यवसायीको सुझाव छ । मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने भएको छ । स्थानीय तहहरुले पर्यटकीय स्थलको प्रचार प्रसारसंगै पर्यटकहरुको उचित बसोबासको व्यवस्थापनका लागि तथा पर्यटकीय स्थलहरुको अनुगमनका लागि समन्वय गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर