क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी
काठमाडौं । रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको चेतावनीलाई वासिङ्टनले बुझेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले क्रेमलिनले शुक्रबार जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन ।”
युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमाथि आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गरेका छन् ।
पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दावी गरेका छन् ।
हालैका दिनहरूमा युक्रेनले पहिलो पटक रुसी भूमिमा अमेरिका र बेलायतले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको सङ्केत मान्न सकिन्छ ।
युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ ।
पेस्कोभले भने, “मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रूसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्यहरू रूसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्।”