गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे
रूपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धतासमेत जनाए ।
नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा २ पटक आउने बताए ।
‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’, उनले भने । उनले संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔं भन्नेमा लागेकोसमेत सुनाए ।
‘मेची-महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं’, मन्त्री पाण्डेले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टर बन्नेछ ।’
उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनीलगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको र अब काठमाडौं फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसेर कार्यान्वयन गरिने बताए ।
‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईंहरूले बधाई दिँदा म झस्किन्छु । किनभने ५ महिनापछि त्यो बधाई बधाईमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु’, मन्त्री पाण्डेले भने ।
उनले भैरहवाको विमानस्थल सञ्चालन हुनेवितिकै पोखरा पनि चल्ने विश्वास दिलाए ।
लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले कोषले द्रुतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए ।
उनले होटल, गुम्बा र स्थानीयका बीचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउँदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले विश्वका डेढ अर्बभन्दा बढी बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्नसके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए ।
उनले आफूले बुद्धिस्ट राष्ट्रका उच्चपदस्थहरुसँग भेटघाटमा विमान चलाउन आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद् र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषमा आफू आएदेखि २१ वटा विभिन्न बौद्ध पूजा भएकाले अब लुम्बिनीमा यस्ता गतिविधि बढाउन स्थानीय, होटल व्यवसायी र सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवर्द्धन हुने बताए ।
उनले सरकारलाई श्रम समस्या, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायतका संस्थाहरू तुरून्त भैरहवामा स्थापना गर्न आग्रह गरे ।
‘त्रिभुवन विमानस्थलको मर्मतको समयसम्म मात्रै चल्छ भन्ने मानसिकता त्यागौं, सबैले सकारात्मक रूपमा चलाउने वातावरण बनाऔं’, अध्यक्ष ढकालले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, सिद्वार्थनगर नगरपालिका मेयर ईस्तियाक मोहम्द खानलगायतले विश्वका बौद्वमार्गीहरूलाई लुम्बिनी ल्याउने गरी वातावरण बनाउन सके नियमित उडान गर्न सकिने बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले ५ वटा विमान कम्पनीले नियमित उडान गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म २ हजार ५९३ जना यात्रुले आवतजावत गरेको र ३ हजार २५ यात्रुले ट्राजिन्ट गरेका छन् ।
अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर उद्योग बावज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नाटा लुम्बिनीका अध्यक्ष जनक थापा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, ट्राभल व्यवसायी सञ्जय बजिमय, लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरूषोत्तम अर्याल सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले विमानस्थलका अत्यावश्यक कार्यालयहरु स्थापना नभएकाले दिगो सञ्चालनमा आशंका गर्दै मन्त्रीको ध्यानार्कषण गराएका थिए ।
गौतमबुद्ध विमानस्थलबाट कार्तिक २३ देखि अन्तर्राष्ट्रिय उडान शुरु भएको हो ।