धनुषामा नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा किशोरीको शव फेला
जनकपुरधाम । धनुषाको कमला नगरपालिका- २ र जनकनन्दनी गाउँपालिका- ४ को बीचमा पर्ने नहरमा एक किशोरीको शव फेला परेको छ ।
नहरमा बोरामा बाँधेर फालिएको अवस्थामा अन्दाजी १८ वर्षीया किशोरीको शव फेला परेको हो । प्रहरीले किशोरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै खुट्टा बाँधिएको अवस्थामा किशोरीको शव फेला परेको जनाएको छ ।
धान काट्न गएका किसानले नहरमा शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर शव बाहिर निकालेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । किशोरीको पहिचान भने हुन सकेको छैन ।