विप्लवको चुनौती- तीन बुँदे सहमति कार्यान्वयन भए सबै दलसँग २०८४ मा लड्न तयार छौं (भिडिओ)
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले तीन बुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गरे आफूहरु २०८४ को निर्वाचनमा लड्न तयार रहेको बताए ।
उनले भने, ‘हामी यो ८४ मा सबै पार्टीसँग प्रतिस्पर्धा गर्न तयार भएका छौं, हामी लड्छौं । हामी ६ हजार ७४३ वडामा चुनाव लड्नेछौं । ७५३ पालिका र १६५ क्षेत्रमा निर्वाचन लड्नेछौं । नयाँ वर्गलाई साथमा लिएर एकीकृत जनक्रान्तिलाई २०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेका छौं ।’
महासचिव विप्लवले तीन बुँदे सहमति कार्यान्वयन नगरेर नेकपालाई हेप्ने प्रयास भइरहेको बताए । उनले कांग्रेस, एमाले, माओवादीसहित नयाँ भन्ने पार्टीसँग पनि लड्न तयार रहेको बताए ।