कम्बोडियामा सभामुख घिमिरे उच्चस्तरीय भेटवार्तामा व्यस्त – Nepal Press

कम्बोडियामा सभामुख घिमिरे उच्चस्तरीय भेटवार्तामा व्यस्त

नोम पेन्ह (कम्बोडिया) । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाटमा व्यस्त छन् ।

उनले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो ।

सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिए ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए ।

‘नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयता सहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ,’ सभामुखले भने ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको छ ।

सभामुखले प्रधानमन्त्री मानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद र नेपाली जनताले प्रशंसा गर्दछन् ।’

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गरेका छन् । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेट पछि हुनेछ ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मंसिर ११ गते मंगलबार स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर