फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौं : उपप्रधानमन्त्री सिंह (भिडिओ)
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताएका हुन् ।
फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उनको भनाइ छ । देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै सिंहले प्रश्न गरे ।
उहाँले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहसमात्र गर्ने प्रवृति गलत भएको पनि उनको भनाइ थियो । संघीयताको मर्मअनुसार तीन तहको सरकारले आ-आफ्नो कार्यक्षेत्रमा फाहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनले औंल्याए ।
मन्त्री सिंहले भने, ‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नको लागि धेरै समय गइसकेको छ । संघीयताको स्पिरिटअनुसार तीन तहको जुन सरकार छ । कुनैपनि सरकारले मिनिमाइज नगरिकन निर्णय गरेर फोहोर व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनैपर्छ । फोहोरमैलामा राजनीति गरेर त भएन नि त ! कुरा गर्दाखेरि आदर्शको कुरा गर्ने काम चाहीँ ठिक विपरीतको गर्ने ? त्यो त ठिक भएन नि ! देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थापन गर्न सकौंला त ? यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् ।’
फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको सिंहले बताए ।
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा आज बिहान बसेको थियो । अहिलेसम्मका निर्णयको कार्यान्वय, बञ्चरेडाँडा ल्याण्डफिल साइटको वर्तमान अवस्था, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापनबारे बैठकमा छलफल भएको थियो ।
बैठकमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, ल्यान्डफिल साइटका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए । काठमाडौंका मेयर बालेन भने गएनन् ।
बालेन त राजा किन जान्थ्यो ?